नेपालबन्द आव्हान गरेर शक्ति छ भन्नु भ्रमपूर्ण त्राश !!!

नेपालबन्द आव्हान गरेर शक्ति छ भन्नु भ्रमपूर्ण त्राश !!!

Youcam2

 

कपन अनलाइन, जेठ २७, २०७३

सम्पादकीय

नेपालबन्द राजनीतिक रुपमा शक्ति प्रदर्शनको भाँडो बनेको छ हाम्रो देशमा । त्यही पृष्ठभूमिमा आज पनि नेपालबन्दको आव्हान गरिएको छ । कुनै देखिने स्वरुपको काम गर्न नसक्ने पार्टीहरुले आफू पनि शक्तिमा छु है भन्नका लागि यस्ता बन्द, हड्ताल तथा चक्काजाम गर्ने गरेका छन् । यद्यपि यस्ता कृयाकलापले न बन्द आयोजनाकर्ताका माग पुरा भएको इतिहास छ न जनताले उनीहरुलाई सहयोग गरेका नै छन् । बन्द आयोजना गर्ने भनिएको दिन बिहानै देशभरीका कतिपय महत्वपूर्ण ठाउँमा दुईचारवटा रोकेर राखेका भए पनि गाडि फुटाउने वा जलाउने गरिन्छ र एककिसिमको डरत्राशको वातावरण बनाएर बन्दको भावना फैलाइन्छ ।

राजनीतिक रुपमा नेपालमा आजसम्म १०० औँ पटक बन्द आयोजना भएका छन् । तर एकाध पटकमात्र जनसामान्यले साथ दिएको पाइन्छ । नत्र डरत्राशको वातावरणले नै बन्द हुने गरेका छन् । यद्यपि आयोजकले यही बन्दको नाममा पैशा कमाउनेसम्म काम गरेका छन् । बन्दका लागि भनेर उद्योगधन्दा, विद्यालय वा संघसंस्थालाई सहयोगको पत्र पठाउने र पैसा उठाउने काम हुँदै आएका छन् । बन्द आव्हान भएको दिन कुनै स्कूल खुल्यो भने पनि स्कूल खुलेको कारण पैसा सहयोग गर्नु पर्यो भन्ने अर्काे पत्र जान्छ र पैसा असुलिने गरेको पाइन्छ ।

आवश्यक परेको बेला ५० जना मानिस समेट्न नसक्ने पार्टी नामका गुटहरुले कहिले भुमिगत कहिले अर्धभूमिगत छु भनेर गरिने यस्ता त्राशयूक्त कार्यले उनीहरुलाई दिनदिनै नंग्याइरहेको छ । जनमतमा रसातलमा भास्सिँदै गएका यस्ता पार्टीहरुले राम्रा र जनताको आवाजहरुलाई जनतालाई दुःख नदिने बाटोबाट अगाडि नबढाए उनीहरु बन्द आव्हान गर्नसमेत नसक्ने अबस्थामा पुग्नेछन् । बन्द गरेर आफू शक्तिमा छु भन्ने भ्रमपूर्ण मानसिकता अब छाड्नुपर्छ । सकारात्मक शैलीबाट जनताको आवाज सत्तासम्म पुर्याउने र आफ्ना सही आवाजलाई कार्यान्वयन गराउन सक्नु अबको आवश्यक्ता हो ।

तपाइँको प्रतिक्रिया ।