के.सी.को नेतृत्वमा लय तथा उचाई प्राप्त गर्दै कपन सङ्गीत सरोवर

के.सी.को नेतृत्वमा लय तथा उचाई प्राप्त गर्दै कपन सङ्गीत सरोवर

Desktop16

कपन अनलाइन/बैशाख १६, २०७३

तत्कालिन गाविसका पदाधिकारीको कमजोरीले अत्यन्त अव्यस्थित बनेको कपन मान्छे नै मान्छेको भीडमात्र हैन, घरैघरको भीड पनि हो । साँघुरा र वर्षामा हिलो हिँउदमा धुलोले ढाकेको बाटा, छन्द नमिलेका घर, कतै हरियो नदेखिने उजाड स्वरुप ! यस्तै यस्तै मात्र देखिन सक्छ कपनमा । समग्रमा सहर नामको रुपहिन बस्तिमात्र हो कपन । तथापि कपनको यही स्वरुपलाई जापानसँग तुलना गर्दै विकासको चुलीमा पुर्याएको भ्रम छर्ने अल्पबुद्धि भएका स्थानीय नेताको कमि भने छैन कपनमा ।

यही कहालीलाग्दो भीडमा पनि कपनका केही पात्रहरुले कपनका केही पक्षलाई सिँगार्ने प्रयासमा छन् । कपनको मोहमा मग्न भएर कपनलाई कसरी उँचो बनाउने भन्ने बारेमा सोचमग्न बन्ने एकपात्र हुन् विसुकुमार के.सी. । खेतीयोग्य हराभरा फाँट र रहरलाग्दो डाँडापाखा भएको कपनमा हुर्किएर ५ दशक जीवन बाँचिसकेका के.सी. अहिलेको स्वरुपको कपन देखेर बिचलित हुने थोरै व्यक्तिमध्ये पर्दछन् । कपनको यो स्वरुपलाई उनी विकास मान्दैनन्, विनाश नै हो भन्ने ठम्याई राख्छन् र पनि डाँडो भासेर खोला मासेर धनी बन्नेहरुको भीडमा के.सी.को विचार उनका रचनाहरुमा नै सिमित बने । राम्रा कवि तथा गीतकार विसुकुमार के.सी. नेपाल सरकारअन्तर्गत माथिल्लो श्रेणीका कर्मचारी हुन् । सरल, स्वच्छ र बौद्धिक छविका के.सीले लेखेको कपन गीत कपनको राष्ट्रिय गीत बनेर रहेको छ ।

कपनमा धेरै संघसंस्थाहरु छन् । कसले के गर्दैछ पत्तो हुँदैन । तर विसु कुमार के.सी कपनको एउटा यस्तो संस्थालाई नेतृत्व दिइरहेका छन् जो संस्था कपनमा सबैभन्दा बढि क्रियाशिल छ । कपन सङ्गीत सरोवर नामको यस संस्थाले हरेक महिनाको अन्तिम शनिवार कपनमा शास्त्रीय तथा भक्ति संगीतको विशेष कार्यक्रम आयोजना गर्ने गरेको छ । १ दशकको यात्रामा रहेको कपन सङ्गीत सरोवरले आउँदो बैशाख २५ गते नवौँ वार्षिकोत्सव मनाउँदै छ । त्यसो त यस संस्थाको नवौं वार्षिकोत्सव कात्तिक महिनामा हुनुपर्ने थियो तर भुकम्प र नाकाबन्दिका कारण हुन सकेको थिएन । एकदशकको यात्रामा तल्लिन कपन सङ्गीत सरोवरले स्थापनकालदेखि हालसम्म विसुकुमार के.सी.को नेतृत्व पाएको छ । संस्थाका सदस्यहरु संस्था रहेसम्म के.सी. कै नेतृत्व रहोस् भन्ने चाहन्छन् । के.सी.स्वयम्लाई यति लामो समयसम्म एउटा संस्थाको नियमित अध्यक्ष बन्दा अप्ठेरो लाग्छ तर उनीका सहकर्मीहरु पटक्कै मान्दैनन् र के.सी.लाई अध्यक्ष बनाई हाल्छन् । सङ्गीतको विद्यार्थी नभए पनि सङ्गीत पारखी हुन् उनी । राम्रा गीत लेख्छन् । नेपाल सरकारअन्तर्गत प्रतिलिपि अधिकारको प्रमुखसमेत बनेकाले यस क्षेत्रका धेरैभन्दा धेरै व्यक्तिसँग उनको नजिकको संबन्ध रहेको छ ।

संस्कृति मन्त्रालयबाट आफ्नाजस्ता संस्थाले प्राप्त गर्ने वार्षिक बजेट नियमितरुपमा उनकै कारणले कपन सङ्गीत सरोवरले प्राप्त गर्ने गरेको छ भने तत्कालिन गाविस र हाल नगरपालिकाबाट पनि कपन सङ्गीत सरोवरको लागि बजेट पारेर उनले संस्थालाई अगाडि बढाइरहेका छन् । कपनको प्रशिद्ध बगलामुखी मन्दिर परिसरमा निर्माण सम्पन्न भएको संस्थाको कार्यक्रम स्थल डबलीलाई यही बैशाख २५ गते हुने कार्यक्रमका दिन उद्घाटन गरिनेछ । करिब १० लाख लगानीमा बनेको यो डबली(मञ्च) कपनमात्र हैन काठमाडौंको उत्कृष्ट मञ्च बनेको मानिएको छ । यो मञ्च बनाउने सपना पनि के.सी. ले देखेका हुन् भने यसलाई सम्पन्न पनि उनले नै पारेका छन् । उनको यो जीवन्त प्रयासका लागि उनका टिमका साथीहरुले साथ दिएका छन् । उनलाई संगीतकार विनय वर्मा, परशुराम पौडेल, शशिविक्रम थापा, ज्ञानकुमार खड्का, रामसुन्दर अधिकारीलगायतका साथीहरुले साथ दिएका छन् ।

कपन सङ्गीत सरोवरलाई नेपाली संगीत क्षेत्रको उत्कृष्ट संस्था बनाउनु पर्छ भन्ने सोच छ विसुकुमार के.सी.को । संस्थाले हरेक वर्ष देशका शास्त्रीय संगीत क्षेत्रका उत्कृष्ट सांङ्गीतिक श्रष्टाहरुलाई नगद रु. १०,००० सहित ताम्रपत्र र दोसल्ला ओडाएर सम्मान गर्ने क्रममा अहिलेसम्म ७ जनालाई सम्मानित गरिसेकेको छ । यसरी वार्षिकरुपमा एकजनालाई नगदसहित सम्मान गर्ने क्रममा हरेक वर्ष समितिमा रहेका सदस्यहरु आफै पैसा उठाएर भने पनि कार्यक्रमलाई सफल बनाउन प्रेरणाको श्रोत बनेका छन् विसुकुमार के.सी. । उनको सत्प्रयासलाई सबैले सम्मान गरेका मात्र हैन यस क्षेत्रका राजनीतिक दलहरु तथा अन्य सामाजिक अबयबहरुले पनि साथ दिएका छन् । कपन अनलाइन विसुकुमार के.सी.को कपन सङ्गीत सरोवरले अझै प्रगतिको रेखा कोर्न सकोस् भन्ने कामना गर्न चाहन्छ ।

-केशव पाठक

कपन सङ्गीत सरोवरका कार्यक्रमहरू तस्वीरमा

383979_303851676313650_433050268_n 388082_302656849766466_1455787196_n

537593_418744818157668_856909309_n 423673_363024110396406_462941540_n 419978_363024147063069_619036283_n 403585_324363230929161_556539816_n 392330_288758394489645_1405974834_n 392260_303852029646948_702019375_n 304039_286721368026681_389459855_n 305110_288758177823000_421813334_n 376406_303850629647088_142612796_n 377470_288758734489611_701831516_n 29862_122707187761434_2426582_n 29862_122707194428100_7963302_n

578827_383538141678336_1976311434_n29862_122707161094770_3893992_n

तपाइँको प्रतिक्रिया ।