गन्तब्य मागिनिगोठ (यात्रा संस्मरण)

गन्तब्य मागिनिगोठ (यात्रा संस्मरण)
कपन अनलाइन 
काठमाडौं, कार्तिक २५ / यश राज गौतम 
सतहमा सिमलका भुवा जस्ता सेता समथर बादल, सामुन्ने रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बुका उच्च चुचुराहरु किनारामा लाङटाङ देखि सगरमाथा सर्बोच्च सम्मका हिमाल, बिहानिको स्पस्ट दृश्य ,अनि चिसो मौसममा निधारमा टल्किएको सुर्यको प्रकाश, यस्तो वातावरणले प्रकृति सगँ रमाउन चाहने कसको मन नरमाउला ? काठमाडौ जिल्लाको नजिकै रहेको नुवाकोट जिल्ला र सिन्धुपाल्चोक जिल्लाको सिमानामा रहेको मागिनि गोठको यस्तो मनमोहक दृश्यले हामिलाई स्वर्गिय आनन्दको अनुभुत गरायो ।
पछिल्लो समयमा दशै तिहार जस्ता ठुला चाडबाडको समयमा काठमाडौ बाट छोटा तथा लामा दुरिका पर्यटकीय क्षेत्र भ्रमण गर्ने ब्यक्तिहरु बढ्दो दरमा देखिन्छन । यसै कुरालाई मध्यनजर गरी सिन्धुपाल्चोकको मागिनिगोठ संभावित छोटो दुरिको भ्रमणको उपयुक्त गन्तब्य बन्न सक्नेछ भन्ने अभिप्रायले हाम्रो यात्रा अनुभवलाई यहाँहरु सामु राखेको  छु ।
लाङ्टाङ, गोसाइकुण्ड ट्रेकमा पर्ने मांगिनि (मगिनि गोठ) को यात्राको लागि सबै भन्दा छोटो बाटो सुन्दरिजल, चिसापानी, पाटिभन्ज्याङ्ग, गोल्फु भन्ज्याङ हुदै कुटुमसाङ सम्म करिब ४-५ घण्टामा मोटरसाईकलमा सजिलै पुग्न सकिन्छ । कुटुमसाङदेखि माङ्गिनिगोठ सम्म करिब ३ घण्टाको पैदल यात्रामा करिब ३२२० मि. उचाईमा रहेको ग्रीन भ्यु होटेल सम्म पुग्न सकिन्छ । उक्त होटेल त्यस ठाउँको एकमात्र होटेल हो । त्यसैले त्यहा सम्पर्क गरेर मात्र जादाँ राम्रो हुन्छ । त्यस होटेलमा बास बसेर बिहान भ्यु करिब ४५ मिनेटको चढाई पछि करिब ३३५० मि. उचाईमा रहेको उक्त मनोरम भ्यु पईन्टमा पुग्न सकिन्छ ।
त्यस ठाउ सम्म पुग्नको लागि अर्को सहज रुट भनेको साखुँ, जहर्सिङपौवा, मेलम्चि हुदै गोल्फुभन्ज्याङ्गको जाने रुट हो । सुन्दरिजल हुदै जाने बाटोको अवस्थाको बारेमा यकिन गर्न नसकिएको कारण हाम्रो ५ जनाको टोलि यहि मेलम्चिको रुट हुदै गोल्फु भन्ज्याङ निस्कने निधो गर्यौ । तर अहिले उक्त रुटमा पनि सजिलै मोटरसाईकलमा जान सकिने अवस्था रहेको छ ।यात्राको लागि हामि बिहान आठ बजे गोकर्ण बाट साखु तर्फ लाग्यौ ।
जहर्सिङ पौवा हुदै मेलम्चि बजारमा पुगेर खाना खाने र त्यसपछि ग्याल्थुम हुदै गोल्फुभन्ज्याङ जाने सोचमा थियौ । तर मेलम्चि खोलाको ग्याल्थुम दोभान पुगेपछि हाम्रो मन मेलम्चि खोलाले खिच्यो । ग्याल्थुम दोभानमा ग्याल्थुम हुदै बगेको खोला र मेलम्चि खोलाको दोभानमा खोलाको कन्चन पानी, नदिको छङ्छङ आवाज, र बगरका गोला ढुङ्गा सँंग भरपुर रमाइलो गर्यौ ।हेलम्बु सडकलाई छोडेर हामि ग्याल्थुम तर्फ लाग्यौ, बाटैमा रहेका पानीघट्ट, झोलुङ्गे पुल आदि सगँ रमाउदै हामी  मेलम्चि सुरुङमा पुग्यौ। ग्याल्थ्युममा रहेको मेलम्चिको सुरुङ्गको दृश्यलाई पछाडि राख्दै सम्झनाका केहि छबिहरु मोबाईलमा कैद गर्यौ । सायद कोरोनाको कारणले गर्दा होला हामिलाई सुरुङ भित्र जाने अनुमति दिईएन ।
ग्याल्थुममा मकैको ढिडो र कुखुराको मासुको स्वाद लिएर हामि गोल्फु भन्ज्याङ्ग तर्फ उकालो लाग्यौ । करिब आधा घन्टाको यात्रा पस्चात हामि गोल्फु भन्ज्याङको चिसो बतासको अनुभुत गर्यौ । सुन्दरिजल हुदै आउने सडक तथा पैदल बाटो पनि यसै ठाउमा आएर जोडिन्छ । साथै नुवाकोटवाट आउने सडक बाटो पनि यसै ठाउँमा आएर जोडिन्छ ।
गोल्फु भन्ज्याङको उत्तर सिरानमा कुटुमसाङ गाउँ रहेको छ । यहावाट कुटुमसाङ्ग सम्म पुग्नको लागि मोटर साईकलमा करिब बिस मिनेट मात्र लाग्दछ । लाङ्टाङ पैदल यात्राको रुट भएकोले यि स्थानहरुमा खान र बस्नको लागि प्रसस्त होटेल तथा पसलहरु रहेका छन । एकैछिनको गोल्फुभन्ज्याङको बसाइ पछि हामि कुटुमसाङ तर्फ चड्न थाल्यौ । कुटुमसाङ्ग सडक बाटोको अन्तिम पईन्ट हो । कुटुमसाङ्गमा रहेको सैनिक ब्यारेक सम्म मात्र सडक बाटो पुगेको छ ।
यहाँवाट मागनिगोठको लागि पैदल यात्रा सुरु हुन्छ । आफुले चडेर गएको सबारी साधन यतै राखेर जानु पर्ने हुन्छ । सो को लागि स्थानिय होटेल, सैनिक ब्यारेक वा निकुञ्जको कार्यलय परिसर सबारीसाधन राख्ने बिकल्प हुन सक्छ ।कुटुमसाङ देखि मागिनिगोठ सम्मको यात्रा यो गन्तब्यको सबै भन्दा कठिन र रोमान्चक यात्रा हो । टोपि नै खस्ला जस्तो ठाडो उकालो, शरीर बाट उडेको पसिनाको बाफ पनि टाउकामा पुग्दा शीतमा परिणत हुने चिसो, बाटोमा कुनै बासस्थानको बिकल्प समेत नभएको सुनसान निकुञ्ज क्षेत्र, मौशम सफा नभएको बेलामा अत्यन्त बाक्लो हुस्सु लाग्ने आदि विशेषताले गर्दा यो पैदल यात्रा यात्रा भरिको कठिन यात्रा हो । तर बाटो कठिन भएपनि करिब तिन घण्टामा पुग्न सकिने भएकोले दुरिको हिसाबमा छोटो दुरिको यात्रा हो ।
हुन त जुनसुकै स्थानको पनि प्राकृतिक बिशेषतालाई अनुभुत गर्न तत्कालिन समयको मौसमी वातावरण अनुसार फरक फरक अनुभुत हुन्छ । विशेषगरी कार्तिक मंसिरको सिजनमा मौसम सफा भएको दिनमा जाने हो भने उच्च हिमालको आकर्षक दृश्यको साथमा वरिपरि फैलिएको सेता बादलका सागर अनि त्यो सागरको किनारमा रहेको टापुमा बसेको जस्तो रोमान्चक दृश्यानुभुत प्राप्तिको लागि यो मागिनि गोठ भ्यु पईन्टको यात्रा रोचक, छोटो र कम खर्चको बैकल्पिक भ्रमण गन्त्ब्य बन्न सक्छ ।( लेखक बुढानिलकण्ठ नगरपालिका ११ जगडोलका स्थायी बासिन्दा एबम सामाजिक अभियन्ता हुन )
तपाइँको प्रतिक्रिया ।