कोरोना त आउछ जान्छ तर मानवता सधै चाहिन्छ

कपन अनलाइन

काठमाडौं ,कार्तिक १३/जानुका गजमेर
पछिल्लो समय कोरोना भाइरस संक्रमण फैलने दरमा उच्च वृद्धि भएसँगै आम नागारिकमा त्रास त छदैछ साथै एक किसिमको अन्योल्ता पनि बढेको छ । भाइरस संक्रमणले गर्दा कतिपय श्रमिकहरुको रोजीरोटी खोसीएको छ । व्यपार व्यवसाय तङरीन सकेका छैनन । विद्यालय क्याम्पसहरु खुल्न सकेका छैनन रोकीएका परिक्षाहरु सन्चालन हुने भनिएता पनि संक्रमण उच्च वृद्धिले झन त्रास कायमै गरिरहेको छ । संक्रमण रोक्ने कार्यमा सरकारले जनविश्वास अनुसार कामहरु गरेको छैन । भाइरसलाई पराजित गर्दैै नियमित दैनिकी कसरी सहज बनाउदै लाने भन्ने चिन्ता र चासोका विषय आममानिसमा परिरहेको छ । धनी गरिब सानो ठूलो मन्त्री कामदार स्वास्थ्यकर्मी सुरक्षाकर्मी सबै सबैलाई कोरोना भाइरसले संक्रमण बनाइरहेको छ । भलै कोरोना पोजेटिभहरुको निको हुने दर भने आशाजनक नै छ ।
कोरोना संक्रमितहरुलाई संक्रमणले भन्दापनि समाज तथा अन्य व्यक्तीबाट हुने सामाजिक विभेदले सताउने गरेका थुप्रै समाचारहरु बाहिर आए र अहिलेपनि संक्रमितहरुलाई दुर्व्यवहार  गरेका सामाजिक विभेद गरेका घटनाहरु बाहिर आइनै रहेका छन । संक्रमण आफैमा रोग होइन र कुनै योजनावद्ध रुपमा संक्रमण आउने पनि होइन भन्ने बुझेर पनि मानिसहरुले संक्रमितहरुलाई विभेद गर्नु आफैमा मुर्खता सिवाय केही हैन ।

संक्रमितहरुलाई विभेद गर्नु भन्दा पहिला म पनि यो संक्रमणबाट टाढा छैन मलाइ पनि यसले कुनै दिन सिकार बनाउन सक्छ भन्ने हेक्का सबैमा हुनु त्यत्तिकै आवश्यक छ । भाइरस संक्रमण भएकाहरुमा आत्मबल चाहिने र मनलाई दरिलो बनाएर रोगसँग लडने क्षमताको विकास गर्ने भनिन्छ तर संक्रमितहरुलाई छिछि र दुरदुर गर्दा उनीहरुको मनोविज्ञानमा असर गरी कमजोर अनुभवहुने हुनाले कसैले पनि कोरोना भाइरस संक्रमितहरुलाई सामाजिक विभेद गर्नु अमानवीय कार्य हो भन्ने कुरा बुझ्न जरुरी छ ।

कोरोना संक्रमण भएको समयमा यस आलेखका पङक्तीकारले पनि दुर्व्यवहार  भोग्नु परेको थियो । नेपालमा कोरोना संक्रमण सुरुवात हुदाको समयमा त झन कोरोना भएको मानिसलाई देखियो भने पनि सरिहाल्छ भनेर तर्किनेहरु थुप्रै थिए । संक्रमणको जोखिम मोलेर दिनरात नभनी संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई घरबेटीहरुले घरबाटै निकाल्ने गरेका स्वास्थ्यकर्मी बसेको घरमा गाउँ नै उल्टीएर कोठा छोड्न दबावदिने जस्ता घटनाहरु त समाचारका हेड लाइनै बने ।

यसले मान्छेमा भएको मानवता हराउदै गएको जस्तो पनि देखियो । कतिपय संक्रमितहरुलाई घरपरिवारबाट नै विभेदको व्यवहार भएको पनि सुन्नमा आयो । कोरोना भाइरस संक्रमण सधै रहन्छ भन्ने पनि छैन यो त आउछ जान्छ तर मानवता भन्ने कुरा सधै आवश्यक छ । केही समयको लागि आएको भाइरसले गर्दा हामीले हामीमा भएको मानवीयता गुमाउन पुग्यो भने भोली संक्रमण सकिएपछि पछुताउनु पर्ने पनि हुन सक्छ । किनभने मानवीयता गुमाइसकेपछि हामीले सत्रुता कमाउदै जान्छौ ।

कोरोना भाइरस संक्रमण भएकाहरुलाई तथानाम गालीगलोज गर्ने अपराधी भनेर ऊ प्रतिको मानवीय सम्बेदनालाई ख्याल नगर्ने कार्यबाट एक अर्का प्रति सम्मान गर्ने बाताबरण नै नहुने कुरामा दुविधा छैन । जसले मानवीयतालाई विर्सेर संक्रमित प्रति रुष्ट व्यवहार देखाउछ ऊ नै कोरोनाको सिकार भएका पनि छन । मानवीय सम्बन्ध भनेको एक पटकका लागि मात्र नभएर धर्तीमा जिउदो रहेसम्मका लागि त्यत्तिकै आवश्यक हुने कुरामा दुईमत छैन । कोरोना संक्रमण सुरुवातका दिनहरुमा फैलिरहदा सरकारले नै डरमर्दो वातावरण बनाइदियो । कसैका घरमा संक्रमण देखियो भने पूरै गाउलाई नै कोरोना संक्रमित क्षेत्र होसियार लेखिएका ठूला ठूला व्यानरहरु राखिएका पनि भेटिए । कुनै घरका सदस्यलाई कोरोना संक्रमण देखिएर होम आइसोलेसनमा बस्दा स्थानीयतहले संक्रमितको घरमा नै रातो व्यानर राखेर संक्रमित घर होसयार लेखेको पनि पाइयो ।

स्थानीय तहले गरेका यस्ता कार्यले कोरोना संक्रमण भएका मानिसलाई निको भएर समाजमा घुलमिल हुन निकै सकस परयो र अझैपनि परिरहेको छ । कोरोना निको भएका मानिस हिडेको बाटै नहिडने उनीहरु बसेको नजिक नै नपर्ने आदि व्यवहार देखाउने गरेका घटनाहरु पनि देखिए । जबकी अहिलेसम्मको अध्ययनले संक्रमण निको भइ नेकेटिभ आएपछि उक्त भाइरसले अन्य व्यक्तीमा सार्ने क्षमता राख्दैन भन्ने छ । त्यसै भएर १४ दिन पछि परिक्षण नगरी संक्रमितलाई घर पठाउने निती सरकारले लियो । तर परिक्षण नगरी घर फर्केकाहरुलाई समाजमा बस्न निकै समस्या हुने गरेको पनि नसुनिएको हैन ।

केही समयका लागि त्रास फैलाउन आएको भाइरसका कारण हामीले आफ्नै आफन्तको मन चिडाएका हौला हरेक समस्यामा साथ दिने मित्रको मन दुखाएका हौलाआफनो मानवीयतालाई गुमाएका हौला भन्ने कुराको ख्याल हामीमा नभए विवेकशिल प्राणी मान्छे कसरी हुन सक्छ र ? त्यसको मतलब संक्रमितहरुसँगै बस्ने उनीहरुको नजिक बसेर कुरा गर्ने भन्न खोजेको हैन । प्रिकसन अपनाएर उनीहरुलाई मानवको व्यवहार गर्नुपर्दछ भन्ने हो । यसरी हामी सबैले संक्रमितलाई मानवताको व्यवहार देखाउन सकियो भने उनीहरुको मनोबल उच्च भएर कोरोना जित्न ठूलो सहयोग पुग्छ ।

पछिल्लो समय कोरोना संक्रमितहरुलाई विभेद र दुर्व्यवहार  गर्नेहरु माथी कानुनी कारवाही गरिने सरकारको निर्णयले केही हदसम्म विभेदजन्य व्यवहार कम हुनथालेका छन । सरकारले पहिला नै गर्नुपर्ने निर्णय निकै ढिला गरेको पक्कै हो । यसले पनि कोरोना संक्रमण रोकथाममा सरकारका काम सबै भद्रगोल भइनै राखेको हामी समान्य मान्छेले अनुभव गरिनै राखेका छौ । आफूसँग निकट भएकाहरुलाई संक्रमण भएपनि भौतिक दुरीको ख्यालै नगरी नजिकहुने तर अलि परको नातोगोतो नपर्नेलाई कोरोना संक्रमण भयो भने छिछि र दुरदुर गर्ने तपाइ हामी नै हौ । जसले गर्दा नजिकको बाट आफै संक्रमित भइयो भने टाडाकाहरुलाई छिछि र दुरदुर गरेर मनोबल गिराउने कार्य गरियो । त्यसैले यी दुबै व्यवहार हामीले त्याग्न जरुरी छ है भन्न खोजिएको हो ।

नजिकका बाट चाही नसर्ने र टाढाको भए चाही देख्न साथ सर्ने यो भाइरस हैन भन्ने विभिन्न अध्ययनबाट देखिएकै छन । प्रिकसनको ख्याल गरिएन भने हामी सबैजना ढिलो चाडो यो भाइरसको सिकार हुने पक्का नै भएको हुनाले भाइरस संक्रमितहरु प्रति मानबीय व्यवहार देखाउन कहिलै विर्सन हुदैन । आफूप्रति कसैले नराम्रो व्यवहार गरेको मन पर्दैन भने आफुले पनि अरुलाई नराम्रो व्यवहार गर्नुहुदैन भन्ने हेक्का सबैमाहुनु पर्दछ । भाइरस सधै हुदैन तर मानवता सधै हुने हुनाले कसैले पनि मानवता नगुमाउ ।

तपाइँको प्रतिक्रिया ।