टिरिरी मूरली बज्यो

टिरिरी मूरली बज्यो

कपन अनलाइन

काठमाडौं ,कार्तिक ७ /प्रशुराम अधिकारी

‘ऊ सुन त टिरिरि मुरली बज्यो …।’ ऊ झटपट उठी र दौडेर बाहिर गई । रातको एक बजेको थियो । जुनेली रात, आकाशमा टहटह जुन थियो । ऊ कौशीमा चढी । म पनि पछि पछि कौशीमै उक्ले । रात सुनसान र चकमन्न थियो र म सुन्थे बेला बेलामा कुकुरहरु भुकिरहेका थिए तर ऊ भने मुरलीको धुनमा मस्त थिई ।
‘खै मुरली बजेको ?’ म सोध्थे उसलाई बारम्बार र अन्त्यमा ऊ मलाई चुपलाग्ने ईसारा गर्थी, म चुप लाग्थे । उसकै छेउमा उभीरहन्थे म । ऊ आफ्नै सुरमा टोलाईरहन्थी । मध्ये रातको चिसो वातावरणमा म आफुलाई निकै चिसो महशुस गर्थे । उसलाई न चिसोको ख्याल थियो न रातको नै ।
‘कल्पना हिड तिमी निकै चिसी भईसक्यौ ।’ म उसलाई सम्झाउथे । ऊ जुनतिर एकोहोरीरहन्थी र बारम्बार क्षितिज तिर नियाली रहन्थी ।
‘जाउँ अब हिड, सुत्न …. ।’ बल्ल मेरो हात समाउँथी ऊ ।
बेडमा आएर पल्टन्थी ऊ र लामो स्वास तान्थी । निकैबेर छटपटिन्थी र धेरैपछि निदाउथी ऊ । बिहान सात बजेसम्म निदाईरहन्थी ऊ ।
अधिकांश मध्येरात मुरलीको धुन सुन्न बाहिर निस्किन्थी ऊ । कहिले हावा चल्थ्यो र कहिले पानी पर्थ्यो , कहिले जुन लाग्थ्यो र कहिले निस्पट्ट अध्यारो, केहीको पनि पर्वाह थिएन उसलाई । निकै पटक बिरामी परेकी थिई । उसलाई बारम्बार चिसो लागिरहन्थ्यो । बाह्रै महिना दिनभर तातोपानी खान्थी । तर मध्ये रातमा मुरलीको धुन सुन्न कौशीमा सधैँ निस्कन्थी ।
खोकी उसको स्थायी थियो । ज्वरो आईरहन्थ्यो र पखाला पनि लागिरहन्थ्यो । जोर्नीहरु सुन्नीरहेका हुन्थे । मुखफुलेर डम्म हुन्थ्यो । पेन किलर, एन्टीवाईटिक र भिटामिनहरु कहिल्यै टुट्दैनन्थे उसका लागि । तर मैले कहिल्यै रोक्न सकिन मध्येरातमा बाहिर निस्कन उसलाई ।

हाम्रो बिहे भएको पनि होईन । हामीसँगै बस्न थालेको तिनबर्ष बितीसकेको थियो । म परिवारकै एकमात्र सन्तानबाँकी म मात्रै । ऊ किन परिवारबाट छुट्टिएर एक्लै बस्न चाहेकी थिई मलाई थाहा छैन ?
ऊ प्रायः क्यानभासमा रङ पोतिरहन्थी एबस्ट्क्याक्ट्र । अक्वरियममा माछाहरु सित भुल्थी र पियानोको संगतिमा हराउथी तर उसले कहिल्यै मुरलीबजाउनजानीन र सिकिनपनि । म प्रायः पुस्तकहरुमा हराउँथे र लेख्थे पनि । हाम्रो समय यसरी नै बितिरहन्थ्यो निरन्तर ।

साँझ खाना खाईवरी हामी सुत्थ्यौ अनि ऊ मेरो छातीमा टास्सिन आउथी र सोध्थी – ‘प्रमोद तिमी मलाई प्रेम गर्छौ ?’
‘हो ।’
‘कहिले सम्म ?’
‘जब सम्म तिमी रहन्छौ, म रहन्छु र यो पृथ्वी रहन्छ तबसम्म ।’ अनि ऊ बेस्सरी हास्थी, मेरो छाती पिटीपिटी ।
म उसलाई प्रेम गर्थे । उसले गर्थी गर्दिनथी मैले कहिल्यै बुझिन । जति समय बित्दै जान्थ्यो त्यति नै ऊ मलाई जटिल लाग्थ्यो । एकदम अमूर्त ।

‘कल्पना ऊ सुन त फेरी मुरलीबज्यो ।’ म उसलाई निस्काउथे ।
‘तिमी सुन्न सक्छौ ?’ ऊ सोध्थी मलाई ।
‘अह’ म टाउको हल्लाउथे । ऊ टोलाउन थाल्थी । म उसको काखमा आफ्नो टाउको राख्थे र ऊ मेरो टाउको सुमसुम्यादै सुनाउथी काले कृष्णको कथा बारम्बार त्यही  कथा । ‘कृष्ण कति चतुर थिए, असाध्यै बाठा उनी मुरलीको धुनमा सारा गोपीहरू भुलाउथे, सारा वृन्द्रावनवासीलाई भुलाउथे र मख्खन चोरेर खान्थे । विचरा ति गोपीहरुलाई के थाहा उनको चलाखी? एक दिन गोपेनीहरू नुहाईरहेका बेला सारा गोपीनीहरूका लुगा कृष्णले रुखमा पुर्याए  अनि मुरली बजाउँदै सबलाई भुलाए ।
ऊ पनि कृष्ण जस्तै थियो, काले । कति मिठो मुरली बजाउँथ्यो । म उसकै मुरलीको धुन सुन्न घाँस काट्ने बाहानामा वन जान्थे । ऊ कृष्ण जस्तै रुखमा चढेर मुरली बजाउँथ्यो । सबै साथीहरू ऊ प्रति मोहित थिए । सबै मिलेर उसलाई घाँस काटीदिन्थे । उसले म सँग वाचा गरेको थियो –‘कल्पना तिमी मेरी राधा हौ र म तिम्रो कृष्ण, तिमी सधैँ मेरो मुरलीको धुन सुन्छ्यौ हैन । म मख्खपर्थे र आफु रहुञ्जेल उसकै मुरलीको धुन सुन्ने अठोट गर्थे । म सुन्थे उसले विवाह गर्यो। ठिकै थियो किनकी म त उसकी राधा हु प्राण पियारी राधा । राधा दरवारमा बस्दिन राधा त कृष्णकी मनमा बस्छे, हृदयमा बस्छे विवाह किन गर्नुपर्यो  ? ऊ रखमा चढेर मुरलीबजाईरहेको थियो र आजपनि ऊ त्यसरी नै मुरलीबजाईरहेछ मेरो लागि ।’
क्षितिज तिर औला देखाउँदै ऊ मलाई देखाउँथी – ‘ऊ हेर त मेरो कृष्ण मुरली बजाईरहेको छ …।’

आजकाल म हरेक रात नियाल्ने गर्छु आकाश । त्यो क्षितिजमा एक जोडी ताराहरू चम्किरहेछन् । हरेक रात …… सुनसान रात, कहिले जुन कहिले निस्पट्ट अध्यारो अनि उही चिसो सिरेटो । कहिले हावाकहिले पानी । भित्र कोठामा उही क्यानभास, अक्वेरीयम र उही पियानो । मैले कहिल्यै जानिन र सिकिन पनि मुरली बजाउन । रात निकै सुनसान छ र आज  एक्कासी उठेर दौडीएछु म कौसीमा अनि मलाई ठूलो ठूलो स्वरले चिच्याएछु – ‘कल्पना तिमीले त सुनिनौ होला तर मैले बल्ल आज सुने टिरिरि मुरलीबज्यो …।’

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।