अथक योद्धा : विनोद नेपाल (कविता )

अथक योद्धा : विनोद नेपाल (कविता )

कपन अनलाइन

काठमाडौं ,कार्तिक १ ।

साह्रै ज्याद्रो,
साह्रै जब्बर,
अहँ, कत्ति विचलित हुँदैन
पागल भने पनि सहन्छ,
कात्रो नै देखाए पनि मुस्काउँछ ।

बोक्दैन बन्दुक र गोली
इन्जेक्सन र ट्याब्लेट बोक्छ
भ्रष्ट, माफिया र बिचौलियालाई
बोलीकै गोली ठोक्छ ।

कहिले जुम्लाका विपन्नका आशा बनेर उँभिन्छ
कहिले बाजुराका दीनदुखिका आँगनमा भेटिन्छ
दरबार भन्दा झोपडी प्यारो छ
काठमाडौ भन्दा मोफसल प्यारो छ
यसैले त,
भिर्छ झोला
समाउँछ लट्ठी

कहिले इलाम, कहिले डडेलधुरा पुग्छ ।

मागमा दृढ
अठोटमा अडिग
कसैको आँखाको कसिंगर
कसैका लागि निरर्थक
जसले जेसुकै भने पनि सहन्छ
जनताको लागि
चट्टान बनेर उभिन्छ ।
जान्दैन चाकडी
छैन ओहदाको मोह
केवल सेवा, सेवा र सेवा,
त्यसैले त लोकप्रिय छ ।

एउटा ज्यूदो मान्छे
जसलाई
झुक्याउँछ शक्तिशाली सत्ता बारम्बार
तर कत्ति बिचलित हुँदैन
लड्छ विकृति र बेथितिका विरुद्ध
औंला ठड्याउँछ मिलेमतो र बेइमानीका बिरुद्ध
अथक योद्धा हो ऊ लडिरहन्छ ।

चिन्नुस् उसलाई,
ऊ हो डाक्टर गोबिन्द के.सी.
शक्तिपूजामा होइन,
ऊ सत्य निष्ठामा रमाउँछ
ऊ जनताको सेवामा रमाउँछ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।