भोकको सङ्गीत : त्रिभुवनचन्द्र वाग्ले (कविता )
कपन अनलाइन
काठमाडौं ,कार्तिक १।
सङ्गीतमा षड्राग बजेका छन्
समृद्धिका राग, शान्तिका राग
डम्फूमा बजाइएका छन् भजन सङ्कीर्तन
पउलागीमा छन् विवेकहरू
गीताहरू गायनमा मस्त छन्
वाद्यमाव्यस्त छन् वीणाहरू
सुन्दर लाग्छन् किन्नरीहरू
‘गीतं, वाद्यं तथा नृत्यं त्रयं संगीतमुच्यत’
सत्ताकागीत, वादन र नृत्यको संयोजन
क्या सुन्दर, क्या स्वप्नील, क्या सौम्य छ देश
अजीर्णसँग भोक देख्ने आँखाहुँदैन
सिंहदरबारको आँखाले देश देख्दैन, दुःख देख्दैन
सनातनी ठेकेदारी गर्छ सिंहदरबार–
‘सब भरिला छन्, भोका छैनन्’
राजाहरू देशमाभोक छैन !
राजाहरू देशमाशोक छैन !
कानले कष्ट देख्दैनन्
आँखाले अप्रिय सुन्दैनन्
राजा देशमा कष्ट छैन !
राजा देशमाअप्रिय छैन !
नयाँ नेपालमा
साधुहरू श्तोत्र गाउँदैनन्
स्तुति भजाउछन्
भोग्य प्रसादहरू
सिंहदरबारमा बडाभोज लगाउँछन्
भोकका कुरा गर्दैनन्
भन्छन् –‘सङ्गीतमा भोकको लय छैन’
अनामनगर सुँघिरहन्छ स्वादिलो चिम्नी
गोबिन्दहरू भोको बस्छन्
र भोकका सङ्गीत सुन्छन्
कर्णाली पुग्छन् र कष्ट छाम्छन्
रोगविरुद्ध, भोकविरुद्ध भोको बस्छन् गोविन्द
आयस्तामा साटिन्छन् अस्पताल
शुल्कमातोकिन्छन् सेवा
बोलपत्रमा छ चिकित्सा शिक्षा
टेन्डरमा छ गुणस्तर
खरिदमा छन् निर्णय
रकमी छन् लेखन्दासहरू
मतलबी छन् मुन्सीहरू
र त
पटकपटक जित्छन् र हार्छन् गोविन्द
साँगुरो छ सत्ता, समानता अटाउँदैन
बर्बराउँछ सत्ता बराबर गर्दैन
निष्ठुरी छे समृद्धि सिंहदरबार बाहिर आउन्न
अघाएका शान्तदासहरू
दैलेख फर्केर डकार्छन्
अधेँरो छ अछाम
सप्तरीमा छैन सिटामोल
सिंहासनमा छ काठमाडौँ
सुन्दैन ‘ग्लार्निभवतीभारत’
कसले गर्ने हो अभ्युत्थान, कसले लिने हो अवतार
गोविन्दहरू अर्को एउटा युद्धका लागि
शङ्खघोष गर्छन्
रोगविरुद्ध भोकै बस्छन्
भोकविरुद्ध भोकै बस्छन् ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक