दशैं : सुवास राई

दशैं :  सुवास राई

कपन अनलाइन
काठमाडौं कार्तिक १ ।
“दशैं आयो, खाउँला पिउँला
के खाउँला…?”

दशैं आयो तर बाल्यकालको जस्तो हैन
उ बेला जस्तो उमङ्ग पनि छैन
सहरका हर गल्लीहरु
दशैंको किनमेलले खचखच छैन
सेल लागेका केही पसलहरु बाहेक ।

उ बेला भदौ लाग्दैदेखि
दशैंको रौनक मनमा सवार हुन्थ्यो
दशैंभन्दा एक महिना अगावै
बजार भरिभाराउ हुन्थ्यो
वरपर बाटोहरु मर्मत सम्भार हुन्थ्यो
केटाकेटीदेखि बुढापाकासम्मको
टोल र चोकहरुमा जमघट बढ्थ्यो
दशैंको सबै तिर चर्चा चल्थ्यो
पन्ध्र दिन अघि नै
जमानीहरु मासु बोल्दै घरघर पुग्थे
राँगा सुँगुर धार्नी÷धार्नी माग हुन्थ्यो
अझै नपुगे घरकै खसी कुकुराको भर हुन्थ्यो
बजारले नयाँ लुगा र सामानहरु ल्याउँथे
बाउआमाले केटाकेटीलाई सँगै लगेर
नापी–नापी घरसम्म ल्याउँथे
अनि सामान र दशैं दुवै घरसम्म आउँथे ।

दशैं भनेपछि दशैं मात्रै हैन
सुनौलो घामका किरणसँगै
जोस जाँगार आउँथ्यो
पारिवारिक जमघट बाक्लिन्थ्यो
ठाउँठाउँमा खेलकुदहरु हुन्थ्यो
छुट्टै मेला बजार हुन्थ्यो
अहिलेको भाषामा भन्दा
छुट्टै भाइब्स आउँथ्यो
अहिले सम्झिँदा नि रमाइलो लाग्छ ।

तर अहिले दशैं आइसक्यो
उमङ्ग आउँदैन
बजार हेर्छु भीडभाड छैन
सामाजिक सञ्जालमा समेत माहोल छैन
केटाकेटीहरुलाई कुनै वास्तै छैन
होस् पनि कसरी ?
मिठो खान र नयाँ लाउन दशैं चाहिँदैन
खेल्न डुल्न
मोबाइलमा जति सजिलो हिँडेर सम्भव छैन
क्यालेण्डरले भन्छ– दशैं आइसक्यो
मन मष्तिस्कले सुनेझैं गर्दैन ।

यस्तै पारा हो भने–
एक दिन आफूले मानेको दशैंको
आफैले इतिहास पढाउनु पर्छ
संस्कार संस्कृतिहरु सबै सहिद बन्लान
एकता र सद्भाव दशैंले हैन
प्रविधिहरु जस्तो एआईले जोड्ला
टिका हातले आशिर्वाद च्याट–जिपिटिले
दक्षिणा सिधै क्युआरमा
हो प्रविधिले दशैंलाई ओझेलमा पा¥यो
यो कुरा सबैले बुझ्नै प¥यो
दशैं मनाउन सबै जुट्नै प¥यो
बडा दशैंको सबैलाई शुभकामना ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।