हिमाल : त्रिलोचन आचार्य ( कविता )
कपन अनलाइन
काठमाडौं कार्तिक १ ।
लाग्थ्यो हिमाल जगको वरदान नै हो
लाग्थ्यो हिमाल सुखको उपमा सधैँ हो
लाग्थ्यो छ शान्ति बलियो त्यसमा अनन्त
कालो बनेछ रुप दिव्य भएँ झसङ्ग ।१।
बग्थे अनेकन नदी अनि ताल बन्थे
झन् चित्त उच्च उसको छ विशाल भन्थे
त्यैँ सुख्ख स्वर्ग छ भनेर चढँे उकालो
त्यो रम्य स्वच्छ अनुहार भएछ कालो ।२।
लाग्थ्यो हिमाल ऋषितुल्य लिँदै समाधी
को सोच्दथ्यो र यसभित्र बहन्छ आँधी
यस्तो सुदिव्य गरिमा किन घट्न थाल्यो
भाग्यो सुटुक्क गुनगान सफा उज्यालो ।३।
आयो हिमाल तल किन्तु बनेर बाढी
पा¥यो सिनित्त घरबार कुनै नछाडी
के सिर्जना सकल मासिन सक्छ भोलि
भन्दैछ के अशुभ शब्द कुनै नबोली ।४।
फिर्ता हुँदैछ उसको कि त योगदान
झर्दैछ नित्य उसको कि त उच्च शान
तातेर दिव्य धरती हिँउ गल्न लाग्यो
साम्राज्य सुन्दर यसै कि त ढल्न लाग्यो ।५।
स्थायी मुहान जलको नभनौँ कि झैँ भो
सम्पत्ति यो छ बिजुली नभनौँ कि झैँ भो
यो शक्तिवान् छ पहरा नभनौँ कि झैँ भो
एकत्र यो छ नि महान् नभनौँ कि झैँ भो ।६।
अग्लो पठार मरुभूमि हुँदैछ जस्तो
डाँफे गुराँस पनि देख्छु रुँदैछ जस्तो
सुख्खा उजाडसरि हुन्छ कि फाँट फाँट
ढल्दैछ के प्रकृति राज थियो बिराट ।७।
पारेर ध्वस्त जलवायु रहन्न मान्छे
पाइन्न भोलि धरती र प्रशन्न मान्छे
जाँदैछ मानिस स्वयं कि मसानतर्फ
वा तात्न दिन्न धरती बनिँदै सतर्क ।८।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
