रहर बिनाको दशैँ २०७७

रहर बिनाको दशैँ २०७७

कपन अनलाइन 

काठमाडौं असोज २७/ कमला लम्साल

हिन्दुहरुको महान चाडपर्वमध्ये एक हो दशैँ। दशैं भन्ने बित्तिकै सबैको मन रमाएर आउने चाड हो। वर्षा समाप्ति संगै सुरुहुने शरद ऋतुमा पर्ने यो चाडको समयमा मौसम पनि सफा हुने गर्दछ  । सबै जनाले दशैलाई टाढाका आफन्त सँग भेटघाट,बिदेशिएका परदेशीहरुको आगमन अनि संस्कार संस्कृतिको  रुपमा पनि लिने गर्दछन्। दशैँका लागि भनेर  राम्रा कपडा लगाउने मिठो खाने चलन रहेको छ । मध्यम बर्गीय तथा निम्न बर्गीय दुबैले दशैंको समयमा  परिवारको आँखामा आशु नआओस् भनेर  विभन्न तरिकाले ब्यबस्थित गरेका हुन्छन ।

घटस्थापनाको आगमन संगै छाउने उल्लासमय रौनकताले मुन्टो उठाउन पनि सकेको छैन । विगतका वर्षहरु जहिले सामान्य अबस्थामा पनि चाडपर्वले हुनेखाने र हुँदाखाने बीच एक प्रकारको खाडल पैदा गर्थ्यो। तर अहिलेको यो विषम परिस्थितिमा हरेक परिवारमा यो दशैँ नआए पनि  हुन्थ्यो जस्तो भएको छ । यसै त यो खर्चिलो चाड त्यहामाथि कोभिडका कहरले  उब्जिएको आर्थिक संकट, अनि यो आर्थिक संकटमा आएको दशैं! कसरी पार लागउने भन्ने पिर धेरैलाई पर्न थालेको छ।

कोभिड- १९ को रोकथामको लागि भनेर  चैत्र १० गते देखि सुरु भएको लकडाउनको कारण  उत्पन्न आर्थिक संकटका कारण  सम्पन्नताको यो खाडल झन् बढ्ने अबस्था रहेको छ।  किन भने कोरोना प्रकोपको मारमा सबै भन्दा निम्न आय भएका मजदुर र सोरोजगारसंग आबद्ध ठुलो जनशक्ति अत्याधिक मारमा परेका छन्। लकडाउन निरन्तरता हुँदै जाँदा शहर,  बजार,  हवाई सेवा लगायत विभिन्न यातायात सेवा, होटल, रेष्टुराँ, उद्योग, लगायत विभिन्न व्यवसायका गतिविधीहरु रोकिएपछि बेरोजगारी र गरिबी चुलिएको छ। यस्तो बेलामा आएको  खुसीको चाड दशैले कतिलाई खुशी दिन सक्ला त्यो आफ्नै ठाउँमा छ।

बिगत केहि बर्ष देखि चाडवाड खैर्चिलो र भड्किलो हुँदै आइरहेको छ । दशैमा लत्ताकपडादेखि गरगहना, गाडी–मोटरदेखि टीभी, फ्रिज र वासिङ मेसिन जस्ता विद्युतीय उपकरण, भाँडाकुँडा र मरमसलादेखि माछामासु र फलफूलको किनबेच यही बेलामा हुने गर्दछ ।जसलेगर्दा हुनेखाने र हुँदा खानेबिचको पर्खाल झनझन बढदै गएको छ । हुनेखानेहरुले बर्षभरि नै दशै मनाईरहेका हुन्छन । तर हुँदा खानेहरुले बर्षभरि जोरजाम गरेर बर्षमा एकपटक मनाउने चाडपर्वको समेत महत्व घटदै गएको छ । दशैलाई दशाको रुपमा हेर्न थालिएको छ । देखासिकी गर्ने चलनका कारण हाम्रा चाडपर्वहरु बिकृत बन्दै गएका छन  भने यो बर्ष त झन् कोरोनाको कहरले गर्दा दशैँलाई धेरैले दशाका रुपमा  हेर्ने सम्भावाना उच्च रहेको छ ।

 दशैँलाई टाढाका आफन्त सँग भेटघाट हुने चाडको रुपमा लिइन्छ यो बर्ष भने कोरोनाको कहरले गर्दा आफन्त संग भेटघाट गर्न पनि गार्हो  हुने भएको छ । खुला हृदयको साथमा आफन्तकोमा जाने परिस्थिति नभएको हुँदा आफन्तलाई भेट्ने रहर, रहरमा नै सिमित हुने अबस्था देखिएको छ ।एक बर्ष देखि दशैँ आउला र भेटघाट गरौंला भनी बस्नेहरुको लागि रहर, रहरमा नै सिमित हुने अबस्था देखिएको छ। पारिवारिक दुखसुखका भलाकुसारी गर्न  ,पारिवारिक मेलमिलाप,बिदेशिएका परदेशीहरुको आगमन  हुने संस्कार र संस्कृतिको  रुपमा पनि लिने दशैँले सबैको मुहारमा खुशी छाओस्।”दशैं नै हो की यो मेरो दशा फर्कीआएको” योगेश्वर अमात्यको  यो गीतको बोलले भने झैँ २०७७ को दशैं कसैका लागि पनि दशा नबनोस्  ।

तपाइँको प्रतिक्रिया ।