छन्दका सय थुँगाभित्र विचरण गर्दा

छन्दका सय थुँगाभित्र विचरण गर्दा

कपन अनलाइन

काठमाडौं ,असोज २४ /तिलक प्रसाद लुइँटेल

१.छन्दका—
‘‘अपि मासं मसं कुर्यात् छन्दो भङ्ग नकात्येत्’’ मासलाई मस लेख्नुपरे पनि छन्दलाई बिगार्नु हुँदैन भन्ने पुरानो भनाइ छ । छन्द मिलाएर कुरा गर्यौ भने किन मान्दैन र ? भन्दै कसैले बोलेको सुनिन्छ । आशय हेर्दा कुरा गर्ने भाँती पुर्याउनुपर्छ भन्ने देखियो । छन्दको भाँती भनेको प्रस्तुतिको कलात्मकता हो । कलात्मकता खोज्ने र त्यसैमा कल्याणकारिता खोज्ने मान्छेले हो । मान्छेको जीवन नै कलाजीवी, व्यवस्थाजीवी वा राम्रो खोज्ने हो। मान्छेबाहेक अर्काले ‘कला’ अथवा ‘राम्रो’ खोज्दैन । राम्रोसँंग छाँटिएको नै छन्द मिलेको हो । त्यसैले मान्छे छन्दजीवी हो । छन्द भनेको व्यवस्था हो । व्यवस्था नभए मान्छेको जीवन नै छैन ।

निजी जीवनको व्यवस्था, परिवारको व्यवस्था, समाजको व्यवस्था, राज्यको व्यवस्था, सङ्घसंस्थाको व्यवस्था जताततै व्यवस्थै व्यवस्थाले मानसिक पक्षलाई नियन्त्रण गरेको छ । उपकरण, यन्त्र, मेसिन आदि पनि व्यवस्थाबद्ध भएर नै सञ्चालित छन् । उपकरणहरुको छाँट्ने वा व्यवस्था बनाउने जस्तै हो भाषालाई छाँट्ने पनि । भाषा जीवन्त, सुन्दर र गतिशील बन्छ व्यवस्थाले । शब्दमा भाव खाँदिनु र कलाले शब्द छाँटिनु छन्द हो । कविताको सृजना भावलाई सुललित रुपमा प्रस्तुत गर्ने उद्देश्यले हुन्छ ।

विचारहरु सधैँका लागि ज्ञान दिने उद्देश्यका पनि हुन्छन्, समसामयिक अवस्थाको जानकारी दिने पनि हुन्छन् र हाल अप्राप्त वस्तु वा स्थितिलाई प्राप्त गर्ने उद्देश्यले परिकल्पना गरिएका पनि हुन्छन् । विचार जेजति प्रकारले उठ्छन् उसै अनुसार प्रस्तुतिका प्रकार पनि बन्छन् । कलात्मक र कवितात्मक उक्तिको वा विचारको आयु अनुसार नै कविताको आयु बन्छ । त्यसैले अपि मासं मसं कुर्यात् छन्दो भङ्ग न कारयेत् भनिएको छ । सुन्दरता गुमाएपछि कवित्व रहँदैन । जति राम्रो छाँट्न सकियो उति नै सौन्दर्य प्रकट हुन्छ । कवि त्रिलोचन आचार्य सयौँ कवितालाई सुन्दर तरिकाले छाँट्न सिपालु देखिनुहुन्छ ।
२.सय—
‘सय थरी बाजा एउटै ताल’ यहाँ सयका सम्बन्ध अघिको छन्दसँग छ । एकलाई दुई शून्य थप्यो भने सय हुन्छ । त्यसरी नै एक, दुई, तीन, चार जति अङ्कलाई दुई शून्य दियो त्यति सय भयो । हामी यहाँ एकलाई दुई शून्य दिएकै कुरामा छौँ । शून्य भनेको कति पनि होइन भनिन्छ तर त्यो कुरो छन्द नमिल्दा मात्रै रहेछ । छन्द मिलेका अवस्थामा शून्यले गुणात्मकता थप्तै गएको प्रस्टै छ । हेरिल्याउँदा त्यसको सम्बन्ध छन्दमै गाँसियो । शून्यले नै सबैभन्दा पहिले दस, सय, हजार बनाउँदै लग्यो अरु अङ्कले शून्यका बदलामा बसेर काम गरे । अरुले शून्यका बदलामा काम त गरे तर शून्यको जति शक्तिशाली काम होइन ।

अर्थात् १२ भनेको १० मा २ थपेको हो । १० मा आउने ० हटाउने हो भने १ र २ ले तीन मात्रै हुन्छ । अर्थात् यो २ भनेको दसौँ स्थानी हो । अर्थात् छन्दमा मिलेका ० ले बल प्रदान गरेको छ २ लाई । यसो हुँदा विना छन्द एक, दुई, तीन, चार गर्दै जतिसुकै लेखौँ, त्यो साँच्चै नै केही होइन । ती शून्यभन्दा पछि कुनै अङ्क लेखौँ, ००५ यसलाई बुझ्दा ५ नै हुन्छ । अगाडिका शून्य लेखेको र नलेखेको कुनै अर्थ भएन । सार्थकता भएन भने लेखनको छन्द मिलेन । अझ यसैलाई एक सय भनियो भने त भन्नेको पनि छन्द मिलेन । अब यसलाई सरक्क उल्ट्याएर १० लेखौँ दस भयो र १०० लेखौँ सय भयो अब भने हाम्रो विचार दस वा सय भन्ने हो भने छन्द मिल्यो । ‘‘कुर्वन्नेवेह कर्माणि जिजीविषेत् शतं समा’’ यहाँ कर्म गर्दै सय वर्ष बाँचौँ भन्ने अर्थ लिएको वेद मन्त्रलाई हेर्दा सयको अर्थ अझ राम्ररी बुझिन्छ ।

वेदमा सयलाई सूचित गर्ने मन्त्र धेरै छन् । पुस्तकमा कवि त्रिलोचन आचार्यले सय वटै कविता किन राख्नुभयो भन्ने प्रश्नको उत्तर आफैँ पाइन्छ । सय एउटा त्यो अङ्क हो जसमा १ = ब्रह्माण्ड र २ (००) = प्राणी र कर्म । जम्मा ३ अङ्क = सृष्टि, स्थिति र समाप्तिको बोधक । शाश्वत एक छैन भने अरु दुई नश्वरको पनि अस्तित्व हुन्न । त्यसैले एक अटल हो र शून्यहरु विकारयुक्त हुन् । जीवनको गति पनि सायद त्यस्तै हो । फुल्दो गुलाब बीच ज्ञान अनेक खुल्छन् – महाकवि । फूलको सुन्दरता वास्तवमा सुन्दर हो कि तपाईं हाम्रो मनोभाव सुन्दर भएर होला ? थुँगो त फूलकै हुन्छ । धेरैवटा भएपछि थुँगा भनियो । थुँगामा फूलका पत्रहरु व्यवस्थित हन्छन् । एकभन्दा धेरै हुन्छन् । व्यवस्थित हुनु नै छन्दमय हुनुहो र एकभन्दा धेरै हुनु नै सय उन्मुख हुनु हो । सयपत्री भन्ने त नामै छ । त्यसमा त गनेर हेर्ने जाँगर गर्दा सय वा त्यस वरिपरि भएको बुझ्नुपर्छ ।
३.थुँगा—
व्यवस्थाबद्ध सयौँको सङ्गठनबाटै ब्रह्माण्ड बनेको छ । ‘‘यत्पिण्डे तद् ब्रह्माण्डे’’ भनेको जस्तै व्यवस्था ग्रहनक्षत्रदेखि हाम्रो शरीरसम्म गतिशील छ । एउटा मात्रै कविता थियो भने पुस्तक भनिने थिएन । पुस्तक बन्न धेरैको सङ्गठन चाहियो । फूलको थुङ्गो बनेझैँ यसमा सय कविता समावेश गरियो । कविता राम्रा छन् र यहाँ गरिएको संयोजन राम्रो छ । फूल ओइलिएर झर्छ, त्यसको सुगन्ध वायुमण्डलमा व्याप्त भएर जीवन्त रहन्छ । जीवन अल्पकालीन छ र कर्मको प्रभाव स्मृतिमा रहने स्वभावको हुन्छ ।

कर्म कति गर्ने त्यो तपाईंको विचार । जीवनप्रति आशावादी मानिसले सबै कुरा उत्कृष्ट नै चयन गर्छ, यहाँ कविता उसरी नै चयन भए र किताब बन्यो । प्रकृतिले फूलका पत्रहरु व्यवस्थित गराएर हामीलाई थुँगो भन्न प्रेरित गर्छ । अनेकौँ धुलोकणको व्यवस्थाले धर्ती बन्यो, अनेकौँ थोपाको सङ्ग्रहले समुद्र बन्यो अनेकौँ यन्त्रका व्यवस्थाले गाडी, कम्प्युटर बनेको जस्तै सुव्यवस्था र सुसञ्चालनको सूचना छ यस छन्दका सय थुँगामा । कविको भावना सङ्गठित गर्ने कुशलता यहाँ छ । यसरी कृतिको नाम सार्थक भएको देखिन्छ ।
४.‘छन्दका सय थुँगा’का अक्षरहरुलाई सुरुदेखि अन्तसम्म पल्टाएर हेर्दा जेजति कुराहरु पाइयो ती सबैलाई लेखौँ भने फेरि छन्द मिलाउनै गारो हुन्छ । छन्द नमिलेपछि हेर्नै अप्ठारो । त्यसैले बीच बीचमा नाच्ने गाउने जस्तो गरी अलिअलि टिपटाप पारेर टाप कस्नु नै सजिलो होला । पृष्ठ ४५ मा ‘जन्मोत्सव’ शीर्षकका चार पद्य मन्दाक्रान्ता छन्दमा पाइए ।
‘‘अङ्गादङ्गात् सम्भवसि हृदयादधिजायते ।
आत्मा वै पुत्र नामासि सजीव शरदः शतम् ।।
अर्थात्— अङ्गअङ्गहरुबाट जन्मिएका तिमी हृदयभन्दा प्रिय छौ । पुत्रका रुपमा जन्मिएको आफैँ सय वर्षको जीवन पाऊँ ।’’ भन्ने वैदिक मन्त्रको आशावादी आशय छ । त्यसकै हाराहारीमा केही उत्साह र केही यथार्थ बोल्दै—
लाग्छन् केही दिन तर यहाँ मिल्छ केही बधाई
ओहो कस्तोसँग समयले लिन्छ होला उचाई ?
बास्यो भाले फरक दिनले फेरि ढोका उघा¥यो
भोटो अर्को पनि समयले उत्तिखेरै फटायो ।। भनिएको छ ।
वास्तवमा जन्मिएपछि बाँच्नै मन लाग्छ, सास छउन्जेल संसार हेर्ने नै आश हुन्छ । जन्मदिनको शुभकामना पाइन्छ । छोराछोरी जन्मिँदा बधाई दिइने चलन पनि उत्तिकै छ । जन्मदिन आयो र एक वर्ष अघि बढियो भन्ने खुसीसँगै जम्मा आयुको एक वर्ष घटेको पनि त हो नि । यस्तै यथार्थले खुसीमा नमात्तिने र दुःखमा नआत्तिने भाव बोक्छ भन्ने कुरा माथि नै बोलियो ।
जीवन कस्तो भएको राम्रो ? भनेर प्रश्न बनाइयो भने उत्तर आउने गरी ‘शुद्ध जीवन बुद्धको’ शीर्षक पृष्ठ ४७ मा आउँछ । अनुष्टुप् छन्दमा लेखिएका चार हरफे ६ वटा पद्य छन् । तिनमा चौथो पद्य हेरौँ—
सयौँ छन् अहिले बाटा कुबाटो हिँड्नु हुन्न है
छन् थरिथरी सन्तान कुपुत्र बन्नु हुन्न है
फालिन्छ ठाउँ पाउन्न कुपात्र जहिले पनि
सम्मानित कतै हुन्न कुबुद्धि कहिल्यै पनि ।
यद्यपि नकारात्मक पाटोबाट कविताको लेखन भएको छ तथापि सन्देशका हिसाबले हेर्ने हो भने संसारलाई जस्तो आँखाले हे¥यो उस्तै देखिन्छ । भन्ने भाव यहाँ छ । कुबाटो हिँड्नु हुन्न आदि अकरण क्रियाको ठाउँमा सुबाटो हिँड्नुपर्छ है लेख्ता पनि श्लोक बन्ने थियो तर प्रभावकारिता भने अहिले जस्तो छ, त्यसमै राम्रो देखिएको छ । मनलाई जसरी राख्यो उसरी नै रहन्छ भन्ने यहाँ देखियो । गीतकारले ‘फूलको आँखामा फूलै संसार’ देखेझैँ छ संसार । मानिसले उल्टो झुन्डिएको देखेर के गर्नु र चमेरालाई खुट्टाले समातेर टाउको तल पार्दै झन्डिनुमा नै रमाइलो छ । चोर, डाका, हत्यारा, भ्रष्टाचारी सबैले आफूलाई दोषी देख्तैन । केवल हेर्नुपर्ने कुरा हो, मेरा कामबाट अर्को निर्दोषलाई दुःख होला कि ? कविताले त्यतै सङ्केत गरेको छ । चरित्र नराम्रो भएपछि केही बाँकी रहन्न भन्ने भावना सुन्दर छ ।
‘‘वृत्तं यत्नेन संरक्षेत् वित्तं आयाति याति च ।
अक्षीणो वित्ततः क्षीणो वृत्तस्तस्तु हतोहतः ।।’’
अर्थात्— ‘‘धन आउने र जाने गर्छ । नाश भए पनि केही बिग्रन्न तर चरित्र नाश हुनु हुँदैन, नाश भयो भने बाँकी केही रहन्न ।’’ बुद्धत्वले दिएका सन्देशभित्र यहाँनिर यस्तै गरी नीतिशास्त्रसँग नजिक रहेको पाइयो ।
हेर्दै जाँदा फेरि अडिन मन लाग्यो पृष्ठ ८७–८८ को ‘‘नेता नभन्नूस् अब’’ शीर्षकमा । शार्दूलविक्रीडित छन्दमा रचित ७ श्लोकमध्ये ६ औँमा आएपछि रोकिनै प¥यो । त्यसमा—
गाएँ गीत जसो गरी वरिपरी राखेर भोकाहरु
ऐले ती कुहिए सडे वचनका सम्पूर्ण पोकाहरु
के पार्टी गुटको बनेँ बनिदिएँ जाउन् जता ती सब
पैह्रो इज्जतमा पस्यो घर धस्यो, नेता नभन्नोस् अब ।। लेखिएको छ ।
मुलुकले बारबार अनेकौँ प्रकारका तन्त्र र वाद देख्तै र भोग्दै आएको छ । जुन जोगी आए पनि कानै चिरेको भनेको जस्तै देखाइएका आश्वासन र आशाहरु जहाँका तहीँ जस्तै छन् । कछुवाले पाइलो सारेको जस्तो गति छ । पीडितको पीडा यथावत् छ । असल काम गर्न खोज्नेले पनि ‘छिमेकीले मुन्ट्याउँछ र विपक्षीले खुट्टा तान्छ’ भन्ने नजानेको हुनुपर्छ । ‘‘वाराङ्गनेव नृपनीतिरनेकरूपाः अर्थात्— व्यभिचारिणीको जस्तै राजनीतिको रुप अनेक हुन्छ’’ भन्ने कविताको भावलाई हेर्दा नीति बदलेर र नेता बदलेर मात्रै नियती बदलिँदैन, नियत बदलिन सकेको छैन भन्ने यथार्थलाई सङ्केत गरेको देखिन्छ ।
कुनै शीर्षक, कुनै हरफ र कुनै शब्द छोडिदिऊँ भन्न सकिने खालका छैनन् । सबै सार्थक र सबै अर्थपूर्ण छन्, तैपनि लेखनका लागि पृष्ठ १११ को ‘भो चाहिन्न’ शीर्षकमा पुगियो । शार्दूलविक्रीडित छन्दकै ५ श्लोकमध्ये तेस्रो श्लोकलाई हेर्दा—
भोको पर्दछ रे किसान जनता मान्दैन मेरो मन
प्यासी बन्नु छ रे हुँदै नदनदी ठान्दैन मेरो मन
हामी यैँ अब पोख्नुपर्छ पसिना को खप्छ त्यो कर्कश
जे चाहिन्छ बनाउँछौँ बरु सधैँ रोकेर बाटो बस ।। भन्ने लेखेको देखियो ।
बर्म गए कर्मसँगै नेपाल गए कपालसँगै भन्ने नेपाली उखानको कुरो जस्तै हो । आफ्ना लागि आफैँले गर्नुपर्छ भन्ने जसले बुझ्यो उसले अर्कालाई आफ्ना हितमा कजायो । जसले अर्काको भलो गर्छु भनेर लाग्यो उसको जीवन अर्काको भलो गर्नमै बित्यो । हाम्रा देशमा आफ्ना लागि आफैँले गर्ने भन्ने चेत त पहिलेदेखि नै छ तर आफूले गर्ने काममा पनि अर्कालाई कजाउने प्रवृत्ति बढेर आएपछि ‘‘वैद्यका घरमा रोगीको चाङ, जुलाहा परिवारमा नाङ्गो आङ’’ भन्ने कुराले सार्थकता पायो । संसार सृष्टि गर्ने ब्रह्माजीको नै मन्दिर छैन । किसान भोको छ, घर बनाउने कर्मीको थातबास छैन । त्रुटि कहाँ रह्यो ? पद्धतिमा नै हो कि भन्ने प्रश्न उठेकै छ । यसैलाई वेदका मन्त्रले— ‘‘कुर्वन्नेवेह कर्माणि जिजीविषेच्छतं समाः अर्थात्— कर्म गर्दै यहीँ नै सय वर्ष बाँच्ने रहर गरौँ’’ भनेको छ । आफ्ना ठाउँमा काम गरे मात्रै आफूलाई हुन्छ । अर्काका ठाउँमा काम गर्दा अर्कै धनी बन्छ भन्ने चेत हामीलाई कहिले आऊला ?
अगाडि बढ्दै गएर पृष्ठ १२३–१२४ मा पुग्दा ‘तपस्या’ शीर्षकमा इन्द्रवज्रा छन्दका ८ श्लोक पाइन्छन् । तिनमा सातौँ श्लोकलाई हेरौँ—
चम्केर खुल्दा सुनको छ भाउ
विशेष भन्दै नुनको छ भाउ
प्यारो सबैको गुन हुन्छ जान
को भो तपस्या नगरी महान ?। यस्तो लेखिएको छ ।
आफूलाई सुन जस्तो चम्काउने, नुन जस्तो विशिष्ट र प्रिय बन्ने गरी गुनिलो बनाउने आफैँले हो । गुण वा विशिष्टता बजारमा किनेर पाइने होइन । कर्मशील बनेपछि कसैले रोक्न सक्तैन भन्ने भावना यस कवितामा रहेको छ । उपनिषद्ले— ‘‘आत्मनस्य कामाय वै सर्वं प्रियं भवति अर्थात्— आफूलाई काम लाग्ने बनेको नै सबैको प्रिय हुन्छ’’ भनेर परिश्रमी बन्न प्रेरित गरिएको छ । संसारमा प्रकृति स्वयं सूर्य, नदी, वायुका रुपमा कर्मशील छ । प्राकृतिक प्राणीहरु माहुरी, कमिला, मुसा सर्प गँड्यौला, सबै लगातार कार्यमा छन् । मानिसले कर्म छोडेपछि सार्थकता के रह्यो र ? भन्ने भाव कति राम्रो ?
अझ अगाडि बढ्दै ‘गाउँ’ शीर्षकमा पृष्ठ १५८–१५९ मा पुग्दा वसन्ततिलका छन्दका ७ श्लोक पाइन्छन् । तिमध्ये दोस्रो श्लोक—
रोजै बिहान गिरिमा सुन पोखिइन्छ
संसाँझ जून बहुतै गुन पोखिदिन्छ
सत्कर्मले सकल छन् दिन धप्प धप्प
छन् रात शीत्तल दिने सुख तप्प तप्प ।।
गुनका दृष्टिले भावार्थ माथिको सँग मिल्दो छ तापनि यहाँ देशको प्राकृतिक सम्पन्नताको पनि झलक पाइन्छ । देशमा पाइलैपिच्छे सुन बर्सिने अवस्था छ । मानिसले त्यसलाई टिप्न नजानेर मरीचिकामा भौँतारिएको मृगझैँ भएको छ । नीतिशास्त्रले—
दिवा पश्यति नोलूकः काको नक्तं न पश्यति ।
विद्याहीन विमूढस्तु दिवा नक्तं न पश्यति ।। भनेको छ ।
अर्थात्— ‘‘उल्लुले दिउँसो देख्तैन, कागले राति देख्तैन तर ज्ञान नभएका मूर्खले राति न दिउँसो कहिल्यै देख्तैन ।’’ यसकै भाव यस कवितांशले व्यक्त गरेको देखिन्छ । शास्त्रको सत्यतासँग नजिक छन् सबै कविताहरु भन्ने यसको आशय हो ।
पुस्तकको समाप्ति १७१ पृष्ठमा भएको छ । १७०–१७१ पृष्ठमा मालिनी छन्दका ७ पद्य छन् । सातौँ पद्य यस कविताको पनि र यस पुस्तकको पनि अन्तिम पद्य हो । यसमा—
जय त समय बुझ्दै लाम लाग्दा हुने रे
विजय समय चिन्दै काम लाग्दा हुने रे
समय अधमलाई मात्र छोड्दो रहेछ
समय असललाई स्वर्ग बाँड्दो रहेछ ।। भन्ने छ ।
समयमा काम गरिएन भने समयले कसैप्रति जे लगानी गरेको छ, त्यसको साँवाब्याज कुटेर असुल्छ । समय छँदै काम गरियो भने सुख पाउने आफैँले हो भन्ने नीति चेत कवितामा रहेको छ । समयका विषयमा नीतिशास्त्रमा—
कालः सृजति भूतानि कालः संहरते प्रजाः
कालः सुप्तेषु जागर्ति कालो हि दुरतिक्रमः ।। भनिएको छ ।
अर्थात्— ‘‘समयले प्राणी सृष्टि गर्छ, समयले प्राणी संहार गर्छ, समयले सुतेकालाई जगाउँछ तर समयलाई जित्न कठिन छ ।’’ समयलाई वशमा पार्ने उपाय भनेको समयले दिएको अवसरलाई उपयोग गर्नु नै हो । सयमलाई जिस्क्याउनेको अधोगति हुनु निश्चित छ । यसलाई नबुझ्न को होला र ? तर पनि बुझ पचाउँछौँ भने दोष कसको ?
यसरी कवि त्रिलोचन आचार्य स्वयं कर्मका प्रतिमूर्ति र प्रखर कवित्व सामर्थ्य  व्यक्तित्व हुनुहुन्छ । कर्मयोगका उदाहरण भईकन समाजलाई प्रेरित गर्ने परिष्कृत कविता उहाँका पढ्न पाउँदा पाठक खुसीले रमाउँछ ।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।