कांग्रेसमा माओवादीप्रति नरम दृष्टिकोण राख्नेलाई धक्का

जेठ १४ भित्रै संबिधान जारी गर्ने र सरकारबाट फिर्ता हुने बिषयमा औपचारिक निर्णय गर्न आज पनि नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बस्दै छ । पार्टी कार्यालय सानेपामा अपरान्ह १ बजे बस्ने बैठकले संबिधान सभाको म्याद नथप्ने र सरकारबाट बाहिरिने निर्णय गर्ने बताईएको छ ।
यसैबीच, कांग्रेस महामन्त्री कृष्ण सिटौलाले बैठक अघि आज बिहानै पार्टी सभापति सुशील कोइरालालाई उपप्रधान तथा रक्षा मन्त्रीबाट राजिनामा गरेको पत्र बुझाएका छन् । सिटौलाले वुझाए लगत्तै संघीय मामिला तथा स्थानिय विकास मन्त्री गुरुङले पनि सभापतिलाई भेटेर आफ्नो राजीनामा बुझाएका थिए । यसले कांग्रेस सरकारबाट बाहिरिने बाटो सहज हुनेछ । सिटौलाको राजीनामाले कांग्रेसभित्र माओवादीप्रति नरम दृष्टिकोण राख्नेहरुको मानोबल पनि घटाउने देखिन्छ ।
यसअघि, हिजोेको पार्टी बैठकमा बोल्ने अधिकांस केन्द्रीय सदस्यहरुले संबिधान सभाको म्याद थप्न नहुने र सरकारबाट फिर्ता हुनुपर्ने बताएका थिए ।
लोकतान्त्रिक पार्टीले न्यायालयको आदेशको सम्मान गर्नुपर्ने भन्दै माओवादीको पछाडि नहिड्न नेतृत्वलाई सुझाव दिएका छन् । वैठकले सर्वोच्च अदालतको फैसलाको विपरित म्याद थप्न नहुने निष्कर्ष निकालेको हो । संविधानसभाको म्याद थप्नु सर्वोच्च अदालतको फैसलाको अवहेलना र लोकतान्त्रिक मूल्य मान्यता विपरित हुने भएकाले जेठ १४ भित्रै नयां संविधान जारी गर्न पहल गर्ने निर्णय गरेको छ ।
पार्टी निर्णयमा असन्तुष्ट पक्ष शेरबहादुर देउवाको पनि समर्थन रहेको बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।