ओसामा खोज्न सघाउने चिकित्सकलाई ३३ वर्षको जेल

अन्तराष्ट्रिय आतंककारी सञ्चाल अलकायदाका प्रमुख ओसामा बिन लादेन खोज्न अमेरिकी गुप्तचर एजेन्सी सीआईएलाई सहयोग गर्ने चिकित्सकलाई पाकिस्तानी अदालतले ३३ वर्षको जेल सजायँ सुनाएको छ । पाकिस्तानी चिकित्सक सकिल अफ्रिदीलाई सीआईएका लागि सूचना संकलन गर्न नक्कली खोप अभियान सञ्चालन गरेर राष्ट्रघात गरेको आरोपमा जेल पठाइएको हो । दुई महिनाअघि सरकारी चिकित्सकबाट बर्खास्त गरिएको अफ्रिदी खाइबर जिल्लाको आदिवासी न्याय प्रणाली अन्तर्गत दोषी पाइएको हो । उनलाइ तीन हजार पाँच सय अमेरिकी डलर जरिवाना गरिएको छ । द्वन्द्वग्रस्त खाइबर क्षेत्रमा उनले चिकित्सकका रुपमा काम गरेका थिए । डा. अफ्रिदीलाई अदालत उपस्थित पनि नगराइएको र आफ्ना पक्षमा बोल्न पनि नदिइएको बताइएको छ ।

अमेरिकी रक्षामन्त्री लियोन पेनेट्टाले गत जनवरी महिनामा बिन लादेन बस्ने ठाउँबाट सकिल अफ्रिदीले डिएनए संकलन गरेर सहयोग गरेको पुष्टि गरेका थिए । सन् २०११ को मे महिनामा पाकिस्तानको एबोटाबाद सहरमा भएको अमेरिकी सैन्य कारबाहीमा ओसामा बिन लादेन मारिएका थिए ।

तपाइँको प्रतिक्रिया ।