फूल हुन फूल आमा : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाडौं ,भाद्र २७।
१. आमा अग्ले शिखरसरि भै सृष्टि यो अग्लिदिन्छ
आमा पग्ले तरलसरि भै दृष्टि यो पग्लिदिन्छ
आमा थाके सकल जगको योजना खल्बलिन्छ
आमा भागे विचलित बनी सिर्जना अल्मलिन्छ ।
२. आमा को हुन् ? यस जगतकी कूल हुन् कूल आमा
आमा को हुन् ? प्रकृति कृतिकी पूmल हुन् पूmल आमा
आमा को हुन् ? गगनसरिकी, भूmल हुन् भूmल आमा
आमा को हुन् ? पिउँ पिउँ सफा, मूल हुन् मूल आमा ।
३ आमा चौडा सडक जसमा गुड्न चाहन्छ मान्छे
आमा सङ्लो गगन जसमा उड्न चाहन्छ मान्छे
आमा बेला बखत सब हुन् घाम पानी समान
आमा उठ्दा झटपट उठ्यो सिर्जनाको बिहान ।
४. आमा शब्दै सरस जसमा पग्लनै हुन्न बाँकी
आमा देख्दै पुलकित चुली अग्लनै हुन्न बाँकी
आमा हाँसेपछि सब पुग्यो चम्कनै हुन्न बाँकी
आमा बाँचेपछि बुझ पुग्यो सिर्जना हुन्छ बाँकी ।
५. आमा जस्ती यस जगतमा छैन दाता भनेको
आमा भन्दा नजिक अरु क्वै छैन नाता बनेको
आमा नै हुन् तब त भनियो स्वादिलो गाँसजस्ती
आमा नै हुन् तब त भनियो फेरिने श्वासजस्ती ।
६. त्यागी आफ्नै वय भय विना कर्म दिन्छिन् उनैले
बिर्सी आफ्नै सुख सयल नै मार्ग दिन्छिन् उनैले
मान्छे जानोस् परिचय दिने नाम भन्ने उनै हुन्
मान्छे हो मन्दिर किन कुदौ ? धाम भन्ने उनै हुन् ।