जन्मदिन : सुमित्रा श्रेष्ठ (कविता )
कपन अनलाइन
काठमाडौं ,भाद्र २७ ।
बालापन नै रमाइलो लाग्थ्यो मलाइ
ठुली बनाउने बहानामा जिम्मेवारी थपिदियौ ।
छोरी, बुहारी, आमा भन्दै साइनो फेरेर
अनेकौं पटक अग्नि परीक्षा लियौ ।
तिमी खुब बाठो छौ है जिन्दगी,
हरेक बर्ष जन्मदिन मनाउने बहानामा
मेरो उमेर चोरी दिन्छौ ।
अनेकौं सपना देखाउछौ रङाउछौ ।
कहिले हसाउँछौ कहिले गह भराउछौ ।
कसरी सामना गर्छे भनी हेर्छौ तिमी तमसा,
आगो बनी पोल्छौ, तिमी घाउ बनी चहराउँछौ ।
तिमी खुब बाठो छौ है जिन्दगी,
हरेक बर्ष जन्मदिन मनाउने बहानामा
मेरो उमेर चोरी दिन्छौ ।
म त केवल यात्री न हु तिमिले रचेका बाटोहरू ।
पार गर्दैछु सकिनसकी घुम्ती र मोडहरू ।
पौठेजोरी खोज्छौ कहिले लुकामारी खेल्छौ । मुठ्ठीभरका खुसी दिन्छौ लुकेर थप्छौ चोटहरू ।
तिमी खुब बाठो छौ है जिन्दगी हरेक बर्ष
जन्मदिन मनाउने बहानामा
मेरो उमेर चोरी दिन्छौ ।
म पनि के कम तिम्रा सबै परिक्षामा उपस्थित छु ।
सुखसँग त थोरै चिनाजान छु दुःखको मीत छु ।
तिमिले दिएको जीवन जिउने कला
अलिकति आँसु र हासो जे जति दियौ खुसी छु
म गर्दिन तिमिलाई कुनै गुनासो ।
छन् चाहिँ तिमी खुब बाठो छौ है जिन्दगी,
हरेक बर्ष जन्मदिन मनाउने बहानामा
मेरो उमेर चोरी दिन्छौ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक