समृद्ध समाज निर्माणका आधारहरु
कपन अनलाइन
काठमाडौं ,भाद्र १० /प्रशुराम अधिकारी
मानिसहरुको अन्तर सम्बन्धको जटिल व्यवस्था समाज हो । व्यक्ति आफ्ना विभिन्न आवश्यकताहरु पूरा गर्नका लागि अन्य व्यक्तिहरु सँग सम्बन्ध स्थापित गर्दछ । त्यस्तो सम्बन्ध निश्चित नियमहरुको आधारमा स्थापित हुन्छ । यसरी व्यक्तिहरुको विभिन्न प्रकारको क्रिया अन्तरक्रियाको फलस्वरुप एउटा सामाजिक संरचनाको निर्माण हुनपुगेको छ ।
एउटा सिंगो राष्ट्र बन्न विभिन्न किसिमका समाजहरुको आवश्यकता छ । राष्ट्र विकसित हुन, समृद्ध हुन, समाज सबल हुनु अत्यन्त जरुरी देखिन्छ। नेपाल एउटा विकाशोन्मुख देश हो । यहाँ विभिन्न किसिमका समाजहरुको सञ्जाल छ । तर नेपाली समाज परिवर्तनका धेरै मोडहरु पार गर्दै अझै पछाडि परिरहेको स्थिति छ । हाम्रो समाजमा व्याप्त अन्धविश्वास, वर्तमानमा मौलाएको खराब संस्कार र आधुनिकताले भित्र्याएका विकृति तथा विसङगतिलाई निरुत्साहित नगरी यो समाजको मौलिक समुन्नतिको परिकल्पना नगरे पनि हुन्छ । त्यसैले समृद्ध तथा सबल समाज निर्माणका लागि सम्पूर्ण समुदाय जागरुक हुनुपर्ने आजको आवश्यकता हो ।
आजको युग अनुकुल हाम्रो समाजलाई डोर्याउनु पर्ने मागलाई सम्बोधन गर्न अघिल्लो पुस्ताले नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै सभ्य, समुन्नत र विकसित समाज निर्माणका लागिपहल गर्नु सम्पूर्ण सचेत युवाको मुख्य दायित्व हो ।
त्यसैले अबको परिवर्तन युवाको मुख्य सरोकार हुनुपर्छ । परिवर्तन भनेको पुरानो समाज र सामाजिक सम्बन्धको अवसान र नयाँको जन्म वा निर्माण मात्रै होइन । सबै कालका सबै व्यक्ति, समाज र सामाजिक सम्बन्ध ऐतिहासीक रुपले निर्माण हुन्छन् ।
हामी अहिले परिवर्तनको एउटा मोडमा उभिएका छौ । घरको बन्देजबाट, समुदायको बन्धनबाट निस्कँदै विविधता अँगाल्ने क्रम तीव्र भएको छ । शिक्षा, सञ्चार र श्रम–सराईको क्रममा एकदम तीव्रता आएको छ । पारस्परिक मान्यता र सम्बन्धहरुमा ठूलो पुर्नगठन हुँदैछ । हरेक पुस्ता तीव्र रुपमा नयाँ पुस्ताहुँदै गईरहेको छ । ठूलो युवा जमात आफ्नो गाउँ, घर, थातथलो छाडेर देश भित्र नयाँ पेसा अँगाल्न लालायित छन् र सबभन्दा डरलाग्दो कुरा हाम्रो समाजको पुस्तौ विकसीत भएर आएको आफ्नोपन हराउँदैछ । यसरी एकातिर परम्परागत उत्पादनको भौतिक आधार, सामाजिक सम्बन्ध र जीविकोपार्जनको पद्धति विघटन भइरहेको छ ।
अर्कोतिर सीमित भएपनि नयाँ उत्पादन प्रणाली निर्माण भईरहेको छ । मौसमी अस्थायी वा स्थायी रुपले श्रम र बसाइँ सर्ने युवामूलतः सहरमा र गैर–कृषिकार्यमा सङ्लग्न छन् । यि परिवर्तनको ठूलै सङ्घारमा छन् वा यसतर्फ धेरै अघि बढी सकेका छन् । अब हाम्रा सामु धेरै चुनौतीहरुका पहाड उभिएका छन् तिनलाई कसरी व्यवस्थित गरेर अगाडि बढ्ने भन्ने नै मुख्य समस्या हो ।
समयहिजो एक फरक परिस्थितिबाट गुज्रिरहेको थियो तर आज त्यो स्थिति छैन । समाजमा के भईरहेको छ ? के भयो ? र के हुनुपर्छ ?भन्ने कुरामा अब हरेकले आफै स्वतन्त्र रुपमा जिज्ञासु तथा जिम्मेवार भएर सक्रियता देखाईरहेका छन् । वास्तवमा यो एकदम सकारात्मक कुरा पनि हो ।
परिवर्तनको यो युगमा विज्ञान तथा प्रविधि, सूचना तथा सञ्चारको सदुपयोग द्धारा हामी जुन समाजमा हुर्कियौ त्यो समाजलाई समय सँगसँगै डोर्याउनु हामी सबैको जिम्मेवारी हो । विश्वसामु हाम्रो समाजलाई परिचित गराउन तथा हाम्रो समाज सामु विश्वलाई परिचित गराउन अवश्य पनि हाम्रो योगदान हुनुपर्छ । आजको युगका सकारात्मक प्रेरणबाट प्रेरित भएर परिवर्तनलाई आत्मासात गर्दै समय संवाहक भएर अगाडि बढ्नुको विकल्प छैन ।
समाज परिवर्तनका लागि अब दीर्घकालिन रणनीतिका साथ समाजका सबै पक्ष जागरुक र एकजुट भई अगाडि बढ्यौ भने अवश्य पनि हामीले परिकल्पना गरेको सभ्य, समुन्नत र विकसित समाजको निर्माण हुन्छ । अब सबैले चिन्तन गर्नु पर्ने भएको छ । समाजका समस्याहरु के हुन?तिनको समाधानका उपायहरु के–के हुन सक्छन् ? अथवा समाज समृद्धिको आधार के ? र समाजमा हाम्रो दायित्व के ? यसतर्फ अब हामी सबै सचेत हुनैपर्छ ।
समाजमा परिवर्तनका लागि अथवा समाजको विकासका लागि पहिलो खुट्किलो भनेको समाजका समस्याहरुको पहिचान नै हो । जब समस्याको पहिचान हुन्छ तब मात्र समस्या निराकरण अथवा समाधानका उपायको खोजी हुन्छ । समस्याको पहिचान नै नगरी समाज परिवर्तनमा लाग्नु भनेको मुर्खता मात्रै हो र अहिलेसम्म भईरहेको पनि त्यही छ । प्रयासहरु नभएका होईनन् तर समाजमा रहेका मानिसहरुमा सकारात्मक सोच भएन भने त्यसको पनि केही अर्थ रहँदैन । सामाजिक समस्या पहिचानका लागि शिक्षाको भूमिका एकदम महत्वपूर्ण छ ।
समाजविकासका समस्याहरु
– असलशिक्षाको अभाव
– आधारभूतभौतिकपूर्वाधारको अभाव र असमानवितरण
– निर्वाहमुखी जीवनपद्धती
– पेशा प्रणाली अव्यवहारिकता
– सामाजिकअसमानता
– दक्षताको अभाव
– असल सोच र संस्कारको विकास नहुनु
– अव्यवस्थितबसोबास
माथि उल्लिखित समस्याहरू त समग्र समाजको प्रतिनिधी समस्याहरु मात्र हुन । यस्ता अनेकौ समस्याहरुले समाजलाई अझै पनि जकडीरहेको छ । जसका कारण परिवर्तनको गतिले तिव्रता पाउन सकेको छैन ।
वास्तवमा हामी गरिब छैनौं । हाम्रो संर्किण सोचाई गरिब छ । हामी सँग प्रशस्त जमिन छ, जल छ, जङ्गल छ प्रकृतिले हामीलाई प्रशस्त धन दिएको छ र हामी सँग विशाल मौलिक ज्ञानको भण्डार छ तर हामी सही सदुपयोग गर्न सकिरहेका छैनौं ।
त्यही नै हो हाम्रो समाज विकास नहुनुको प्रमुख कारण । हामीहाम्रो घर कसैले बनाईदेओस् भन्ठान्छौ हाम्रो समाज कसैले बनाईदेओस् भन्ठान्छौ । हामीसँग के छ त्यो कहिल्यै खोज्दैनौ । अरुले औल्याइदिएको समस्यालाई मात्र समस्या देख्छौ । त्यो नै हाम्रो मुख्य समस्या हो त्यसैले अब हामी आफैं नै परिवर्तनको संवाहक भएर समाजमा विद्यमान यस्ता समस्याहरुको निमूलपार्ने तर्फ ध्यानदिनु अत्यावश्यक भएको छ ।
समृद्ध समाजका आधारहरु
असल शिक्षाको विकास
समाजको सर्वाङ्गीण विकासको पहिलो आधार नै शिक्षा हो । अथवा शिक्षा विकासको मेरुदण्ड हो । असल शिक्षाले समाजलाई गति दिन्छ । शिक्षाले सकारात्मक सोचको विकास गर्छ । सचेतनाको विस्तार गर्छ र समृद्ध समाजको परिकल्पना गर्छ । त्यसैले समाज सुहाउँदो, हाम्रो समाजको आवश्यकतालाई पूर्ति गर्ने हाम्रो अथाह मौलिक ज्ञानको भण्डारको जगमा समय सुहाउँदो असल शिक्षाको विकासबाट मात्रै मौलिक समाज निर्माण हुन्छ ।
आधारभूत आवश्यकताको परिपूर्ति
मानिसलाई बाँच्नका लागि धेरै कुराको आवश्यकता पर्दछ र ति आवश्यकताहरु समय अनुसार वृद्धि भईरहेका हुन्छन् । समय र युग अनुसार मानिसलाई नभई नहुने आवश्यकताहरु नै मानविय आधारभूत आवश्यकताहरु हुन । अहिलेको सन्दर्भमा स्वास्थ्य, विद्युत, खानेपानी, सञ्चार तथा यातायातको विकास साथै समय अनुकुलको प्रविधि र पूर्वाधारकोे विकास अत्यावश्यक छ । मानिसले आफ्नो जीवनस्तर उकास्न र समय अनुसार चल्न प्रविधि र वैज्ञानिक पद्धती अनुसार चल्नजान्नु पर्दछ । तिनै भौतिक पूर्वाधारको विकासले समाजलाई सहज र सरल बनाउँछ ।
मानव संसाधनको विकास
मानविय जीवन निर्वाहका लागि विभिन्न किसिमका सिप, क्षमता तथा कलाको महत्व हुन्छ । तिनको उपयोग द्धारा समाजमा योगदानका लागि सिप, क्षमता र दक्षतामा विकास गराउनु अत्यावश्यक हुन्छ । जसद्धारा मानविय अस्तित्व रक्षा गर्नुको साथै समाजको गौरव पनि बढाँउछ ।
कृषि तथा पशुपालनमा व्यवशायिकता
नेपाल जस्तो अधिकांश गाउँले भरिएको देशको लागि प्रमुख आय श्रोत तथा उत्पादन भन्नु नै कृषि व्यवशाय हो । हाल नेपालमा परम्परागत तरिकाबाट निर्वाहमुखि कृषि व्यवशाय चलिरहेको छ । यसलाई व्यवशायिक रुपमा विकास गर्नसके आर्थिक उन्नतिको प्रमुख आधार बन्नेछ । दीर्घकालिन कृषि योजनाले पक्कै पनि हामी विदेसिनु पर्ने बाध्यतालाई न्युन गर्नेछ र हामी हाम्रो आफ्नै भुमिमा मौलिक ज्ञानका आधारमा आर्थिक सुधारको प्रक्रियाको थालनी गर्न सक्नेछौ जसले गर्दा भोलि आफ्नो समाजलाई गर्व गर्न सक्नेछौं ।
सम्पदा संरक्षण सम्वर्धन र परिचालन
हामी सँग समाज सँग विविध किसिमका प्रशस्त सम्पदाहरु छन् जसको संरक्षण, सम्वर्धन र परिचालनबाट हामीले हाम्रो मौलिक पहिचानलाई स्थापित गर्न सक्नेछौं । प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदा जसको संरक्षण गर्नु, सम्वर्धन गर्नु हाम्रो कर्तव्य पनि हो । भविष्यमा समाजको पहिचान र परिचयका लागि पनि मौलिक धरोहरहरुको संरक्षण र सम्वर्धन र परिचालन महत्वपूर्ण सावित हुनेछ ।
प्राकृतिक स्रोत र साधनको समुचित उपयोग
हाम्रो समाजमा प्रशस्त प्राकृतिक स्रोतहरु छन् ।ति प्राकृतिक स्रोतहरु उपयोग नभई खेर गईरहेको स्थिति छ । तिनलाई व्यवस्थित रुपमा उपयोग गरी हाम्रो दैनिकआवश्यकताहरु पुर्ति गर्ने माध्यम बनाउन सकिन्छ र व्यावसायिकताको विकास गराउन सकिन्छ । समृद्ध समाजका लागि स्थानिय स्रोत र साधनको उपयोग नै काफी हुन्छ । जलस्रोत, वन जङ्गल, खनिज तथा अन्य स्रोतहरुबाट प्राप्त उत्पादनले समाज विकासमा महत्वपूर्ण योगदान गर्न सक्छ ।
उत्पादन संरचनामा विशिष्टीकरण
हाम्रो समाजमा परापूर्व कालदेखि विभिन्न पेशाहरु आधारित रहँदै आएको छ । ति अबका दिनमा वैज्ञानिक ढंगले विकास गरी र हामीलाई आवश्यक अन्य पेशा तथा व्यवशायको विकास गरी उत्पादन संरचनामा विशिष्टीकरण गर्न सकिन्छ । हाम्रो समाजमा आर्थिक उपार्जनका धेरै उपायहरु छन् तिनलाई उपयोग गर्दै समाजको समृद्धि हासिल गर्न सकिन्छ ।
व्यवस्थित वस्ति निर्माण
अबको चुनौति भनेको अव्यवस्थित सहरीकरण र वस्ति विकास पनि हो । जसका कारणले समाजमा धेरै किसिमका समस्याहरु उत्पन्न हुन सक्छन् । त्यसैले नयाँ वस्ति विकास गर्दा र पुरानै वस्तिलाई पनि दीर्घकालीन रुपमा व्यवस्थित हुने गरी व्यवस्थापन गर्नु पर्ने आवश्यकता रहेको छ । जसबाट सबैलाई सेवा र सुविधा समान रुपले उपभोग गर्ने अवसर होस् । व्यवस्थित वस्ति भित्र सबै वर्गको लागि सेवा तथा सुविधाको समान वितरण होस् ।
सामाजिक समानता तर्फ सकारात्मक वातावरणको सिर्जना
हाम्रो समाजमा जाति, भाषा, धर्म, लिङ्ग र वर्ग भनेर विभेद गर्ने चलन छ । यस्तो किसिमको सामाजिक विभेद र संकिर्ण व्यवहारले समाजको प्रगति हुँदैन । त्यसैले सम्पूर्ण वर्गलाई समानता हुने र सबैले समान रुपमा सबै अवसरहरु प्राप्त गर्ने वातावरणको सिर्जना हुनु नै सामाजिक समानताहो । सामाजिक असमानताले वर्ग विभाजनको समस्या उत्पन्न हुन्छ र यसले दीर्घकालिन रुपमा समाजलाई खण्डित बनाउँछ ।
सामुहिक भावनाको विकास
समाज नै एक किसिमले सामुहिक भावनाबाट अभिप्रेरित भएर बनेको संरचना हो । समाज भित्र पनि विभिन्न समुदाय हुन्छन् । ति समुदायमा व्यक्ति व्यक्ति हुन्छन् । व्यक्तिको एक्लो प्रयासबाट भन्दा सामुहिक प्रयासबाट नै हरेक लक्ष्यमा सफलता प्राप्त हुन्छ । समाजको सर्वाङ्गिण विकासको लागि पनि सामुहिक भावनाको विकास हुनु जरुरी छ ।
हाम्रा समाजमा मौलिक सामुदायिक सङ्गठनहरुको प्रयासले सामुदयिक सद्भाव र सामुदायिक विकासमा टेवा पुर्याएको थियो । अहिले पनितिनको सान्दर्भिकता छ । अबका दिनमा पनि त्यस्तै किसिमका सामुदायिक सङ्गठनहरुको आवश्यकता रहन्छ । विभिन्न उपभोक्ता समुहहरु, आमा समुहहरु, महिला समुहहरु, सहकारी समुहहरु, युवा समुहहरु, बाल समुहहरु तथाअन्य धेरै सामुदायिक सङ्गठनहरुको समन्वय र सहकार्यबाट नै समाज विकासको गति तर्फ अगाडि बढ्न सक्छ । समाज विकासको सबभन्दा मुख्य आधार भन्नु नै सामुहिक भावनाको विकास हुनु हो ।
हामीले यि तथ्यलाई प्राथमिकतामा राखि दिर्घकालिन लक्ष्य लिएर समाज समृद्धिको परिकल्पनालाई साकार पार्न सकिन्छ । लक्ष्य भविष्यका लागि हुनुपर्छ ।
भोलि के हुन्छ ? कस्तो परिवर्तन हुन्छ ? त्यो परिवर्तनलाई हामीले वर्तमानमा कसरी संकेत गर्न सक्छौं ? वर्तमानको कामले भविष्यमा कस्तो प्रभाव पार्छ ? हाम्रो संकेत कति सकारात्मक हुन्छ र कति नकरात्मक हुन्छ ? जस्ता कुराहरुमा स्पष्ट भएर वर्तमानमा हामी क्रियाशील रहनुपर्छ।
अन्योलमा, अनिश्चिततामा, अध्यारोमा झटारो हान्ने काम कहिल्यै पनि गर्नु हुदैन । कसैको अन्धो अनुकरणले समाजलाई गन्तव्यहिन बनाउछ । लहैलहैको यात्राले हामी कही पनि पुग्न सक्दैनौ । त्यसैले हाम्रो आफ्नो समाज निर्माणका लागि आजैदेखि लागि परौं ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक