अयोध्या टू ठोरी : राजेश अधिकारी

अयोध्या टू ठोरी : राजेश अधिकारी

कपन अनलाइन

काठमाडौं ,साउन २४ ।

मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्मभूमी बारेको बिषयमा दुई देशीय विवादको सत्य तथ्यबारे आफ्नो कौतुहलता समाधान गर्न हेतु, हातमा एकतारे बोकेर ‘नारायण–नारायण’को भक्ति भजन गाउँदै देवर्षि नारद बिष्णुलोकमा शेषनागमाथी बिराजमान भगवान बिष्णुलाई करकमल जोडी बिन्ती गर्छन् ‘हे कमलनयन !  मृत्युलोकमा प्रभुका त्रेतायुगीनअवतार श्रीरामको जन्मभुमी बिवादले उग्र रूप लिइरहेको छ ।
पृथ्वीलोकका हिन्दु राज्यहरूमध्ये एउटा देश श्रीरामको जन्मभूमि भारतवर्षको अयोध्यापुरीलाई मान्छ भने अर्को राज्य नेपालको ठोरीलाई मान्छ।

अहिले ती दुबै देशहरू मेरो गोरुको बाहै्र टक्का भने झैँ श्रीरामको जन्मभुमीको बिषयलाई लिएर पानी बाराबारको स्थितिसम्म पुगिसकेका छन् । प्रभुले यसको सत्यतालाई लिएर दुधको दुधपानीको पानी पारेर मेरो मनको जिज्ञासालाई शान्त पारिदिनु भए यो भक्त कृतज्ञ हुने थियो । आफ्ना परमभक्त नारदको कुरा सुनेर भगवान बिष्णुले मुसुक्कहाँस्दै भन्नुभयो – ‘हे त्रिलोक बिहारी नारद ! तिमीलाई थाहा नभएको कुरा यो त्रिभुवनमा के छ र ? मेरै मुखार विन्दबाट सुन्न चाहन्छौ भने सुन म तिम्रो कौतुहलतालाई शान्त परिदिन्छु । मेरो रामावतारको जन्मभूमि मेरै देशमा छ भनेर दावी गर्ने दुबै देशका प्रधानमन्त्रीहरू दुबैजना मेरा परम भक्त हुन् ।
म आराध्यदेवले आफ्ना भक्तहरुको दिल दुखाउनु भनेको दैवी नियमको उल्लङ्घन गर्नु हो । मैले राम जन्मभुमि अयोध्याहो भन्दा नेपालका प्रधानमन्त्रीको आस्थामा चोट पुग्ने अनि ठोरी हो भन्दा भारतका प्रधानमन्त्रीलाई आघात पर्ने हुँदा म मौन बस्न बाध्यकारी छु ।

‘नारायण नारायण ! प्रभुको लीला अपरम्पार छ’ भन्दै आफ्नो ठाडो टुप्पी मुसार्दै नारद भन्छन् –‘हे पालनहारक ! अब यो हजुरको दास यीदुई हिन्दू देशहरूकोे आपसी मतभेद निर्मुल पार्ने उपाय प्रभुबाटै श्रवण गर्न चाहन्छ ।’ नारदको प्रस्ताव सुनेर छेउमै बसेकी प्रभुकी अर्धाङ्गिनी एवम धनकी देवीलक्ष्मी, भगवानको सेवक शेषनाग र समिपमै हरबखत खडा भैरहने बिष्णुदेवका बाहन गरुडले पनि नारदजीका प्रस्तावमा चासो लिन्छन् । राम जन्मभुमीको सत्यता उजागरमा सबैको भरोसा आफुमाथी भएको बुझेर भगवान् बिष्णु केही क्षणको लागिआँखा चिम्लेर ध्यानमग्न हुन्छन् । ध्यानपश्चात बिष्णु भगवान्ले आँखा खोल्ने बित्तिकै प्रसन्न मुद्रामा नारद ऋषीलाई आज्ञा दिन्छन् –‘हे मेरा परमभक्त नारद ! तिम्रो कौतुहलताको समाधानार्थ तिमी पृथ्वीलोकमा जाऊ र दशरथपुत्र श्रीरामको जन्मभुमीबारे सप्रमाण सत्यता छानबीन गरेर बार्ताद्वारा मेरा दुबै भक्तहरूको चित्त बुझाएर आऊ ।

‘आफ्नाआराध्यदेव बिष्णुको आज्ञा पाउने बित्तिकै धोती सुर्किदै नारद बिष्णुलोकबाट अन्तर्ध्यान  हुन्छन् । भगवान् बिष्णुका आज्ञाले राम जन्मभुमी छिनफान परियोजना समापन गर्नका लागि बिना विभागीयमन्त्रीझैं सम्पूर्ण लोक बिहार गरिरहने देवर्षि नारद पृथ्वीमा पदार्पण गर्छन् । पृथ्वीलोकमा टेकेपछी पहिला कता जाने भन्ने कुराले उनी रनभुल्लमा पर्छन् । ध्यानद्रृष्टिले हेर्दा पहिला भारत नै जानुपर्छ भन्ने लागेर उनी भारतका प्रधानमन्त्रीसँग बार्ता गर्नका लागि सिधै दिल्लीतिर हानिन्छन् ।

गेरू बस्त्रधारण गरेका, हातमा एकतारे बोकेका, गलामा रुद्राक्षका माला लगाएका र एन्टिना झैँ ठाडो टुप्पी पालेका अलौकिक तामझामका नारदले आफुलाई भेट्न आएको देखेर प्रथमतःप्रधानमंत्रीज्यू अलमल्ल पर्छन् । नारदले आफ्नो परिचय र आफ्नो परियोजना बारे बेलिबिस्तार लगाएपछि प्रधानमन्त्रीज्यूले उनीलाई बडो आदरका साथ दिल्ली दरबारको अति विशिष्ट कक्षमा लैजान्छन् ।

मन्त्रीगण, धर्मगुरु, साधु–सन्त, नायक–नायिका र उच्च ओहदाका व्यक्ती सहितको उपस्थितीमा प्रधानमन्त्रीज्यूले नारदको स्वागतमा भित्तामा रामायणका झलकझल्काउने चित्रहरूका साथै भित्ते पर्दामा अयोध्या नगरीमा श्रीरामका बालकाण्ड बर्णित चलचित्र देखिने कक्षमा रात्रीभोजको आयोजना गर्छन् ।

रात्रिभोजमा रम्भा र उर्वसी झैँ लाग्ने बलिउड नायिकाहरुको नृत्य, साधुसन्तहरू द्वारा रामलीलामञ्चन, धर्मगुरूहरूद्वारा रामचरित्र सम्बन्धी प्रवचन आदिको प्रस्तुतिमा नारद आनन्द बिभोर हुन्छन् । अन्त्यमा राज्यको तर्फबाट नारदलाई अभिनन्दन गरिनुको साथै स्वर्णपत्रमा लेखिएको रामायण सहित थुप्रै उपहारहरू दिइन्छ ।

प्रमाणको रूपमा भारत बर्षको आतिथ्य सत्कार र रामभक्तिमय कृत्यहरू देख्दा नारदलाई श्रीरामको जन्मपक्कै पनि भारतबर्षको अयोध्यापुरीमै भएको हुनुपर्छ भन्ने लाग्छ । रात्रिभोजको अन्त्यतिर लघुशंका निवारण हेतु हातमा उपहार दिइएको रामायण बोकेर पाईखानामा पसेका दैवीशक्तियुक्त नारद त्यहीं अन्तर्ध्यान  हुन्छन् र सिधै अयोध्यापुरी पुग्छन् ।
पाईखाना गएका नारद अचानक गायव भएपछी दिल्ली दरबारमा हल्लाखल्ला मच्चिन्छ । दैवीशक्तीयुक्त ऋृषिवर पक्कै पनि अयोध्यापुरी गए  होलान् भन्ने अनुमान लगाएर उनीलाई खोज्न मुख्य सचिवको नेतृत्वमा कमान्डो सहितको सरकारी टोली अयोध्यातिर हानिन्छ । टोली  अयोध्या पुगेपछी नारद मुनीको यत्रतत्रखोजी गरिन्छ र अन्त्यमा मुनिवरलाई रामको मुर्ती छेउमै बसेर एकतारे बजाउँदै रामभक्ती अनुष्ठानमा ब्यग्र भएकोे माहौलमा भेटिन्छ ।

मुनिवरलाई टोलीले साष्टाँग प्रणाम गर्दै उनीको सेवाको खातिर बिनम्रतापुर्वक अनुनय गर्छ। मुनिवरले अर्को बिवादास्पद रामजन्मभुमी नेपालको ठोरी भ्रमण गर्ने इच्छा जाहेर गर्छन् । मुनिवरको इच्छाबोधक आज्ञाले भारतीय टोली ससत्कार उनीलाई उच्च सुरक्षादिदै अयोध्या टू ठोरी एक्स्प्रेस नामक एउटा विशेष बसमा सवार गराएर ठोरीको लागि प्रस्थान गर्छ र उनीलाई पुर्याएर फर्कन्छ। अयोध्यापुरीको प्रत्यक्ष अवलोकन र भारतीयहरुले गरेको खातिरदारीले प्रभावित भएर उनीलाई पुर्याएर फर्कन लागेको टोलीलाई नारदले रामजन्मभुमी अन्यकतै नभई भारतमै भएको आफुलाई विश्वास लागेको बताउँछन् ।
अलौकिक हुलियाका नारद ऋषिलाई देखेर ठोरीबासीहरु रनभुल्लमा पर्छन् । कोहीले उनीलाई चोर ठान्छन् त कोहीले उनीलाई सिआईडी भएको अड्कलबाजी गर्छन् भने कसैले उनीलाई ढोंगी र ठग ठान्छन् ।उनीको उपस्थितीले ठोरीमा सानोतिनो हलचल नै मच्चिन्छ फलस्वरुप उनीबारेको सत्य तथ्य बुझ्न प्रहरीहरु नै आउनुपर्ने बाध्यता बन्छ।

प्रहरीको केरकारपछी नारदले हँसिलो मुद्रामा आफ्नो परिचय र उनको पृथ्वीलोकमा आउनुपर्ने कारणबारे बेलिबिस्तार लगाउँछन् । नारदको ठोरी यात्राको खबर नेपालका प्रधानमन्त्रीको कानमा पर्छ। नारदजीलाई स्वागत गर्न प्रधानमन्त्रीज्यू दलबल सहित हेलिकोप्टर चढेर ठोरी पुग्छन्।ठोरीमा प्रभु भजनमा ब्यग्र भएका नारदलाई भेटेर प्रधानमन्त्रीज्यूले साष्टांग नमन गर्दै ऋृषिजीलाई स्वागतार्थ गुराँसको गुच्छा अर्पण गर्दै उनीको गलामा नेपाली पस्मिनाको खादा लगाइदिन्छन् र ऋृषिजीको नेपालभुमीमा अचानक पाउकष्ट भएको बारेमा जिज्ञासा ब्यक्त गर्छन् । मुनीजीले विवादास्पद राम जन्मभुमीको निर्क्यौल  गर्न आफु भारत र नेपाल आउनुपरेको कुरा प्रधानमन्त्रीजीलाई बताउँछन् ।

दुई दिनको ठोरी बसाईपछी भारतीय प्रधानमन्त्रीले झैं नेपालका प्रधानमन्त्रीले पनि नारदलाई बिनम्रतापुर्वक थप सेवा र खातिरदारीकोे लागि जिकिर गर्छन् । मुनिवरले पनि पृथ्वीमा टेकेको बेला पशुपतिनाथको दर्शन नगरी फिरे भोले बाबाको अपमान हुन्छ भन्ने ठानी काठमाडौं जाने इच्छा ब्यक्त गर्छन् । नारदजीलाई ठोरीबाट काठमाडौंसम्म हेलिकप्टरद्वारा ल्याइन्छ । पहिला पाईलटबिहिन पुष्पकबिमान चढेका नारदजी पृथ्वीलोकको बिमानमा सयर गर्न पाउँदानिकै हर्षित देखिन्छन् ।

चीनका राष्ट्रपती नेपाल आएको बेला भन्दादश गुणा बढी सिंगारिएको काठमाडौं नारदजीको स्वागतार्थ काठमाडौं बेहुलीझैं सिंगारिएको छ । खनेर छोडेको हिले बाटो रातारात पिच हुन्छन् । ठाउँ ठाउँमा देवर्षि नारदका पोस्टर टाँगिन्छन् अनि बिजुलीका पोलहरूमा नारदमुनी जिन्दावाद, नारद–नेपालीभाई–भाई, सीता नेपालकी छोरी–रामजन्मभुमीहाम्रै ठोरी लेखिएका तुल र ब्यानरहरू टाँगिएका छन् । नारद चढेको हेलिकप्टर त्रिभुवन विमानस्थलमा अवतरण हुने बित्तिक्कै उनीको स्वागतार्थ रामलीला झल्काउने झाँकी र हरेराम भजनकोे कर्तल ध्वनीको बिचमा पञ्चकन्याद्वारा पुष्प गुच्छार्पण र पन्डितहरूद्वारा स्वास्तीवाचन गरिन्छ।

अरु बेला भागवन्डा र लुछातानीको राजनीतिगर्ने राजनैतीक दलका नेताहरु पनि मिलिझुली नारदजीको स्वागत गर्न बिमानस्थलको अती विशिस्ट कक्षमा तँछाड–मछाड गर्दै आउँछन् । नेपाल टेलिभिजनले ब्रेकिङ न्युजमा नारदजीको नेपाल आगमनको समाचार दिन्छ । काठमाडौं नारदमय देखिन्छ। मन्त्रिस्तरीय आकस्मिक बैठकले नारदजीलाई अभिनन्दन गर्ने निर्णय गर्छ । नेपाल सेनाको बग्गी चढाई मुनिवरलाई काठमाडौंको रिङ्गरोड घुमाएर टुँडिखेलमा बिराजमान गराई लाखौं जनताको उपस्थितीमाअभिनन्दन गरिन्छ र मुनी श्रेष्ठको सम्मानमा होटेल सोल्टीमा रात्रीभोजको आयोजना गरिन्छ । उनीलाई भोजन कक्षको भित्तामा टाँगिएको पर्दामा प्रोजेक्टरद्वारा सिता–रामविवाह, ठोरीको महिमा झल्काउने वृत्तचित्र आदीद्वारा मनोरन्जन प्रदान गरिन्छ ।
भव्य रात्रीभोजमा अरूले बिर्यानी र कक्टेल दन्क्याएपनि मुनीजी चाहिँ निराहार नै बसि रहन्छन् । प्रधानमन्त्रीज्यूको उखान टुक्का जडित लामो करकापपछी बल्लबल्ल नारदजी गुन्द्रुकको अचार र मार्सी चामलको भात ग्रहण गर्न राजी हुन्छन् । नारदजीलाई प्रधानमन्त्रीको बरद बाहुलीबाट उपहार स्वरुप एउटा सुनको श्रीराम अन्कित धनुषप्रदान गरिन्छ र भोजको अन्तिमतिर आफ्नो मन्तव्य व्यक्त गर्न आग्रह गरिन्छ । मन्तव्यमा उनीआफु श्रीराममय ठोरी नगरी र सम्पूर्ण रामभक्त नेपाली जनताको आतिथ्य सत्कारमा बेहद खुशी भएको र उनका आराध्यदेव बिष्णुका अवतार प्रभु श्रीराम पुण्यभुमी ठोरीमा जन्मेको कुरा दुई मत हुन नसक्ने बताउँछन् । मुनिवरको पाँचतारे होटलमा गरेको भोजनले गर्दा पेटकट्टी हुन्छ र उनीहतार हतार भारतीय र नेपाली भुमीले प्रदान गरेका उपहारहरू बोकेर पाइखाना भित्र पस्छन् र त्यहींबाट अन्तर्ध्यान  भएर बिष्णुलोक पुग्छन् र त्यहाँपुगेपछी भगवान बिष्णुले नारदलाई ‘पृथ्वीलोकमा भएको रामजन्म भुमी विवाद मिलाएर आयौ त नारद !’ भनेर सोध्नुहुन्छ । नारदले ‘प्रभु ! मैले दुबै मुलुक राममय र दुबै मुलुकबासीहरू भगवान रामका परम्भक्त भएको पाएँ ।

तिनीहरूको म प्रतीको खातिरदारी देखेर मैले आत्मैदेखि म भारतवर्षमा रहँदा भारतीयहरुलाई रामजन्मभुमी अयोध्या नै हो भन्दिएँ र नेपालमा रहँदा नेपालीहरूलाई ठोरी नै हो भनी ठोकुवा गरिदिएँ ।’ आफ्ना परमभक्त नारदको कुरा सुनेर त्रिकालदर्शी भगवान बिष्णु मुसुक्कहाँस्दै नारदलाई भन्नुहुन्छ ‘हे नारद ! जता मल्खु उतै ढल्कु भने झैं जतागयो उतै ठिक्क हुने तिम्रो बानीले गर्दा अब उप्रान्त त्यस्ता द्वैध चरित्रका मनुस्यलाई अबदेखी त्रिभुवन भरी नारद विशेषणले पुकारीने छ यही तिमीले गरेको कर्मको दण्ड भयो । श्रापभनौं कि विशेषण, अहिले पनि यो लोकमा दुईजिब्रे मानिसलाई ‘नारद’ को उपमादिने गरिन्छ ।

सहकार्य : काप्न बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।