पूर्वीय संस्कृति पूजास्थलमा सीमित विषय होइन

पूर्वीय संस्कृति पूजास्थलमा सीमित विषय होइन

कपन अनलाइन

काठमाडौं ,साउन २२ /घनश्याम कोइराला

संस्कृतिलाई मानिसहरू धर्मसँग जोड्न रूचाउँछन् । अहिले हाम्रो देशका मठ, मन्दिर, गुम्बा, मदरसाहरूलाई सांस्कृतिक स्थल भन्ने चलनचलेको छ । प्रत्यक्षतः भन्ने हो भने यी क्षेत्र धार्मिक क्षेत्र नै हुन् । यिनीहरूलाई दार्शनिक हिसाबले भन्ने हो भने आध्यात्मिक स्थल हुन् । अध्यात्मका प्रश्नहरू धर्ममा आएर उत्तरित हुन्छन् । किनभने अध्यात्म भनेको चिन्तन हो, सोचाइ हो ।

यो अमूर्त पक्षहो भने धर्म अध्यात्म/चिन्तनको कर्मरूप हो । आफैमा चिन्तनको जतिसुकै ठूलो महत्व भएपनि यसको परिणाम व्यवहारमा नै प्रकट हुने हो । त्यसैले धर्म अध्यात्मको मूर्त पक्ष हो ।
दर्शनका अध्येताहरूले दर्शनलाई पूर्वीय र पास्चात्य  भन्ने गरेको पाइन्छ । चलनचल्तीका यी शब्द धेरैले प्रयोग गरिन्छ । पूर्वीय र पास्चात्य परम्परा हो कि दिशा ? यसमा भने सबै मानिसहरू स्पष्ट हुन नसकिएको वा एकै मतमा नरहेको देखिन्छ । मेरो विचारमा दर्शनका आधार हुन्छन् । यसलाई दिशाले निर्धारण गर्ने पक्षहरू छँदै छैनन् भन्न त सकिँदैन, सापेक्ष रूपमा हेर्दा ‘पूर्व’ भनेको ‘पहिलो वा पहिले’ भनिएको हुनुपर्छ । ‘पास्चात्य’ भनेको पछिल्लो भनेको बुझिन्छ ।

शब्दार्थको हिसाबले पनिपश्चात् भनेको ‘पछिबाट, त्यसपछि’ भनिएको हो । पास्चात्य शब्दको व्युत्पत्ति ‘पश्चाद् भवः पास्चात्य’ भनेर गरिएको छ ।पश्चिम शब्दको अर्थ पनि यस्तै गरी लाग्दछ ।

पूर्व र पश्चिम हुनुको निश्चय नै मौलिक भिन्नता रहेको मान्न सकिन्छ । पूर्वमा प्रयोग गरिने शब्दको भाव र पश्चिममा प्रयोग भएका शब्दको कामचलाउ अर्थ लगाउन सकिए पनि सारमा अन्तर रहन सक्दछ । पूर्वका धर्म पन्थ मात्र छैनन्, जीवन दर्शनका रूपमा छन् । ‘धर्म मान्दिनँ’ भन्नेका व्यवहार र ‘धर्म मान्छु’ भन्नेका व्यवहार यहाँ फरक हुँदैनन् ।

मान्नेहरूका बीचमा पनि अन्तरमा समानता र समानतामा अन्तर देखिन्छ । सारमा पूर्वमा जीवन व्यवहारका सबै पक्षलाई धर्म मानिएको देखिन्छ । त्यसैले विरोधाभास र समानताको पक्ष यसैमा भेट्न सकिन्छ ।
धर्म, अध्यात्म र संस्कृतिका लागि पश्चिममा प्रयोग गरिएका रिलीजन, स्पिरिच्युअल, कल्चर शब्द छन् । यी शब्दले हाम्रो धर्म, अध्यात्म र संस्कृतिको भाव दिन सकेको देखिँदैन । हामीले धर्म, अध्यात्मवा संस्कृति मध्ये एउटा शब्द मात्र प्रयोग गरेर पनि तीन वटैको भावबुझ्न र सार ग्रहण गर्न सक्दछौँ ।

यसलाई अझ अध्यात्म, धर्म र संस्कृतिको क्रममा राख्ने हो भने चिन्तन—मनन गर्ने, सोच्ने, विचार बनाउने (अध्यात्म), व्यवहारमा लागू गर्ने, कर्तव्य पालन गर्ने, वस्तु वा व्यक्तिको गुण र स्वभावको भिन्नताको पहिचान  तथा स्वीकार गर्ने (धर्म) र निरन्तर परिष्कार,विकास, सरलता र सहजता, नित्य नवीनताको स्वीकारोक्ति (संस्कृति) रहेको पाइन्छ ।

यसरी सोच्ने, गर्ने र बढ्ने (गतिशील हुने)विषय अध्यात्म, धर्म र संस्कृति हो ।
संस्कृतिका सन्दर्भमा आमबुझाइ के छ भने ‘संस्कृति’ संस्कृतिमा मात्र सीमित हुन्छ । यही कारण हो कि परिवर्तन, रूपान्तर वा विकासको विषय आउनासाथ संस्कृतिलाई स्वयं संस्कृतिमा मात्र सीमित भएझैँ राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक भनेर सम्वोधन हुने गरेको छ । जब कि संस्कृतिको जुन प्राकृतिक प्रवृत्ति छ, त्यसले आर्थिक संस्कृति, राजनीतिक संस्कृति, सामाजिक संस्कृति, राजनीतिक संस्कृति, उद्योग संस्कृति, सिर्जनशील संस्कृति, जातीय संस्कृति आदि आदि विषय वहन गर्दछ मात्र होइन, सबैसँग अभिन्न रूपमा जोडिएको हुन्छ ।

यसो हुनुको कारण के हुन सक्दछ भने अर्थ, व्यवस्था, शासनमा पछिल्लो जे छ, त्यसको महत्व हुन्छ भने अध्यात्म, धर्म र संस्कृतिमा आधारको महत्व हुन्छ । यसको तात्पर्य अर्थ, व्यवस्था र शासनको आधार हुँदैन भन्ने नभएर पछिल्लो नै प्रभावकारी र मान्य हुन्छ । संस्कृतिको सम्बन्धमा भने पुरानो अर्थात् आधारलाई बढी महत्व दिइने गरेको हुन्छ ।
पूर्वीय मान्यतामा मानिसका पौरखका क्षेत्र धर्म, अर्थ, काम र मोक्षका लागि हुने भनियो । यहाँ धर्मले कर्तव्य भन्ने बुझाउँछ । अर्थले धर्मका लागि आवश्यक पर्ने साधन र तिनीहरूको प्रयोगको सार्थकतालाई जनाउँछ ।

कामले मानिसका कामना, अभीष्टलाई संकेत गर्दछ । मोक्ष वा मुक्तिले कर्तव्य पूरा गरिसकिएको, कुनै संकल्प बाँकी नरहेको, नयाँ इच्छा वा चाहना नरहेको र जे गर्न सकियो यिनैप्रति सन्तुष्टि र आत्मगौरवको अनुभूति सहित शाश्वत सत्य अवस्थालाई स्वीकार गरिएको अर्थमा बुझ्न सकिन्छ ।

यद्यपि धर्म, अध्यात्म, संस्कृति, अर्थ, काम, मोक्ष फरक—फरक विषय भएता पनि यी विषयहरू सबै धर्मसँग जोडिए, धर्मभित्र यी सबै अटाए । तर यहाँ के कुरामा स्पष्टता आवश्यक छ भने प्राचीन प्रसंगहरू हेर्दा त्यहाँ संस्कार शब्द प्रचलनमा रहेको पाइन्छ, संस्कृति होइन । किन त यस्तो ? किनभने संस्कृति त परिष्कृत परिणाम हो ।
यहाँ मूल प्रसंग संस्कृतिको बहुआयामिकताको हो । संस्कृति ‘संस्कृति’मा मात्र सीमिति विषय होइन र हुनु हुँदैन । संस्कृति बहुआयामिक विषय हो । हाम्रो जीवन व्यवहारका सबै क्षेत्र संस्कृतिका क्षेत्र हुन्छन् ।

जस्तै : राजनीतिक संस्कृति, आर्थिक संस्कृति, शैक्षिक संस्कृति, स्वास्थ्य संस्कृति, खाद्य संस्कृति, उत्पादनशील संस्कृति, निर्माण संस्कृति, उद्योग संस्कृतिआदि । यी सबै विषय र क्षेत्रमा निरन्तर परिमार्जन वा परिष्कार नै सम्बन्धित  विषय र क्षेत्रका संस्कृति हुन् । यसका लागि गरिने सकारात्मक क्रियाकलाप संस्कार हुन् । सकारात्मक संस्कारबाट प्राप्त हुने सकारात्मक परिणाम संस्कृतिहो । सकारात्मक संस्कारबाट नै संस्कृति निर्माण हुन्छ ।
श्रमिक मैत्री उत्पादन सम्बन्ध श्रम तथा उत्पादन क्षेत्रको संस्कार हो । यस्तो संस्कारबाट विकसित हुने संस्कृति कस्तो होला ? स्वाभाविक छ श्रम प्रति सम्मान, रोजगारदाता प्रति सद्भाव, सेवावा वस्तुमा गुणस्तरीयता, सम्मान र सद्भावयुक्त,मानव मर्यादायुक्त संस्कृति निर्माण हुन्छ ।
राजनीतिक क्षेत्रमा जनता प्रति प्रतिबद्ध र सम्वेदनशील हुने, जनताका आवश्यकता परिपूर्ति तथाअधिकारका पक्षमा निर्माण गरिने नीति, प्राप्तिका लागि अवलम्बन गरिने विधि र प्रक्रिया निर्धाण र अभ्यास वा कार्यान्वयनमा समानताको प्रत्याभूतिका लागि गरिने प्रयासहरू संस्कार हुन् भने तिनीहरूबाट प्राप्त हुने परिणाम र विश्वसनीयता सकारात्मक राजनीतिक संस्कृति हुन्छ ।

यसको अर्को पाटो भनेको अन्य राजनीतिक पक्षहरू सँग गरिने अपेक्षा र अपेक्षित व्यवहार संस्कार हो भने त्यसको परिणाम एवं निरन्तरता संस्कृति हो । यी केही उदाहरण हुन् । सारमा सकारात्मक क्रियाकलाप संस्कार हुन्छ भने त्यसको परिणाम संस्कृति हुन्छ । सकारात्मक संस्कार सबै क्षेत्रमा आवश्यक किन छ भने सिंगो समाजलाई सुसंस्कृत बनाउन आवश्यक छ ।
कुनै एउटा मात्र समेटिएको, विषयगत हिसाबले टाक्सिएर रहेको, गतिहीन विषय संस्कृति हुनसक्दैन । गतिलो हुनु नै संस्कृति हो । अगतिलो हुनु यथास्थिति हो । जसरी स्वादयुक्तलाई स्वादिलो भनिन्छ, त्यसैगरी गतिशीललाई ‘गतिलो’ भनिन्छ । हामी समाजका सबै क्षेत्र ‘गतिलो’ बनाउन चाहन्छौँ, हामी स्वयं गतिलो हुन चाहन्छौँ । गतिलो भनेको प्रगति उन्मुख हो । ‘अ—गतिलो’ कसैले रुचाइँदैन ।गतिलो बनाउने काम संस्कार हो भने त्यसको परिणाम संस्कृति हो । संस्कृतिमा यो अत्यन्त महत्वपूर्ण  विषयहो । यसैले संस्कृति, मूलतःपूर्वीय संस्कृति मठ—मन्दिरमा, गुम्बा—मदरसा आदि पूजास्थलमा मात्र सीमित विषय होइन । यसले समाज र जीवन व्यवहारका सबै पक्षमा ‘गतिलो’को पक्षपोषण गर्दछ ।

तपाइँको प्रतिक्रिया ।