धुवाँ : सुबोध तिवारी (कविता )
कपन अनलाइन
काठमाडौं ,साउन १७।
मेरो जन्मदिनदेखि
नयनमा छरपस्ट
देख्दै छु,
केवल पृथक
परिवेशमा
सलबलाइरहेछौ
कहिले सुगन्ध बनेर
त कहिले दुर्गन्ध बनेर ।
अहो धुवाँ !
तिमीलाई नभेटेको, नदेखेको
पल नै रहेन,
कहिले मन्दिरमा
तिमीलाई लाखौँ पुजारीहरूले
आत्मालोचना खातिर
हृदयलाई अस्वस्थ्य राखी
तिमीलाई पुत्ताइरहेका हुन्छन् ।
र तिमी !
सोही बखत
अटेसमटेस हुदैँ
ठोकिदै, ठेलिदै
वातावरणमा समावेश हँुदैछौ
सुस्त सुस्तरी ।
पुनः तिमीलाई
घाटमा भेटाए
तिमी त्यहाँ
स्वयम् आत्तिरहेका थियौ
मलामीहरू तिमीलाई
पुत्ताउन आतुरीमा थिए
चितामा
चिनी र तेल
थपिरहेका थिए,
हो तिमी त्यहीँ बल्दो रापको
अन्तरबाट निस्कदै थियौ
हतार हतारमा ।
अतः वायुमा मिसिएर
मलामीकै मुटुमा प्रवेश गरी
आकाशतर्फ लाग्यौ ।
अज्ञात छु,
तिमीले यस धर्तीमा
अरू कति रूप लियौ
मात्र मलाई
यत्ति मात्र थाहा भयो
तिमीले कहिले मन्दिरको
अगरबत्तीको रूप लियौ
त कहिले घाटको
दागबत्ती ।
आखिर तिमी
जहाँ भेटिए पनि
जस्तो अवस्थामा भेटिएता पनि
धुवाँ न त पर्यो ।
तिमीले प्रवेश गरेका
प्रत्येक मानिसहरूको मुटु
दुषित छन्
र
जीवन मरणदेखि
तडपिरहेका छन् ।
र त तिम्रो आगमनले
यो सारा ब्रह्माण्ड नै
प्रदुषित तुल्याएको छ,
सक्छौ भने
तिमी धुवाँ
केवल धुवाँ मात्र
भएर बस ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक