आखिर भिसा टिकट हातमा नसमाई भएन : पवनकुमार बुढाथोकी (कविता )
कपन अनलाइन
काठमाडौं ,साउन १७।
उनको घरको ढोकातिर हेरेँ
दोमन
मन भित्र पाल्दै
पीँडि उक्लेर मुल ढोकाबाट चिहाएँ
छन त थे
बग्रेल्ती मान्छेहरू
अग्यानो वरिपरि
सुकुल र पिर्का ओच्छ्याएर
आगो तापी–तापि
बात मारी–मारी
रमाइलो मान्दै
हाँसिरहेका
ठट्टा गरि–गरि
एक आपसमा खुसी बाँडिरहेका
एक मन
मलाई पनि लाग्यो
म पनि सामेल हौँ कि
केही रमाइलो पन पस्किउँ कि
भनेर
गौर गरि–गरि निहालेर हेरेँ तर
आफ्नो मनको प्यारो
त्यो सून्दर, भावुक र निर्दोष
अनुहार देखिन !
मन खिन्न भयो
दैलोबाट चियाई चियाई हेरे
तैपनि देखिन
उनी कहाँ छिन भनेर
अरूलाई सोध्ने आँट र जमर्को
त्यो माहोलमा गर्न सकिन !
त्यसले मलाई हतास बनायो
म विवश भएँ
अनि आफ्नै बाटो लागे
भारी मन लिएर घर फर्केँ
भोलीको फ्लाइटको लागि
तयारी गर्नु न थियो !
बिना खबर
समयनै न दिएर
अन्तिम अवस्थामा
म्यान पावरले टिकट भिडाई दिएको हुँदा
लगेजको इन्तजाम
नाप जाँच
बाँधबुध गर्न समेत प्रयाप्त समय
मिलेन !
धेरै कुरा गर्छु आज त
भन्ने लागेको थियो
आफुले मन पराएको
भित्री दिलले खाएको र
पत्याएको मान्छेसङ्ग !
अन्तिम क्षणमा पनि
उनिसँग कुराकानी गर्ने
साईत नै जुरेन
मनको कुरो मनैमा रह्यो !
लाग्छ
उनी र म बिचको निकटता
र सम्बन्ध अधकल्चो र
कटमिरोनै रह्यो !
जे जति मनमा पलाएका थिए
हाम्रा भबिष्यको बारेमा
तानाबाना बुनेका थिएँ र थियौँ
उनिलाई बताउन र आस्वस्त
तुल्याउनको लागि
साईतैनै जुरेन
उनिसँग राम्रोसँग कुरा
यो पटक पनि
हुन नै सकेन !
उनको मगनीको हल्ला
गाँईगुई साथीभाइ पसल
आदिबाट थाहा पाउँदा पाउदै पनि
म अब पाँच सात बर्ष
गाउँमा फर्कन सक्ने अवस्था
न रहँदा पनि
आफ्नो र हाम्रो लागि
केही गर्नै सकिन !
हुन त
आफ्नै माटोमा
बस्न र गर्न मन पनि नभएको हैन
अनेकौ राजनैनिक आन्दोलनमा
भाग न लिएको पनि होईन !
नेताहरूको बहकावमा
न लागेको पनि हैन
के गर्नु
परिबर्तन त भयो
उहि टाठाबाठा बोल्न
छकाउन, खेल्न खेलाउन जान्नेका लागि
तर
न्यायपुर्ण परिस्थितिको बिकासनै भएन
एउटा स्वतन्त्र नागरिकले
आफ्नो सीप, क्षमता र
योग्यताको आधारमा मात्रै
कसैको मुलाहिजा चाकरी नगरि
इज्जतपूर्वक जिबिकोपार्जन गर्ने
पद्धतिको निर्माण नै भएन
भएका श्रोत साधन र अवसरको
विवेकपूर्ण बाँडफाँड नै भएन !
उपलब्ध साधन र श्रोत
अगुवाहरूलाई नै
जति भए नि पुगेन !
के गर्नु जताततै धेरैनै प्रतिस्पर्धा
ताकेको ठाँउमा
आफै कमजोर भएर होकि
बेलैमा राम्रा स्कुलमा
महङ्गो र चर्को फिस तिरेर पढ्न नपाएर
पो हो कि
अथवा
बलियो पार्टीको झोला नबोकेरै हो कि
भनसुन गर्दिने
परेको बेलामा आड भरोसा दिने
आफ्नो पक्षमा गर्दिने र बोल्दिने
कोहि नभएरै हो
जन्मथलोमा त जागिर नोकरी
गर्ने अवसर नै मिलेन !
गिरिबिले गर्दा बन्द व्यापार गर्न आँट्ने
कुरै उठेन !
आफ्नो जग्गा जमिन
ठाउँमा घर घडेरि नभएकोले
यहाँ त गरिखाने र
टिक्ने अवस्थानै रहेन !
हुन पनि
वृद्ध बाबुको समेत
हुन पर्ने योग्यता भए पनि
काँध थापी दिने
परेको बेला भनसुन गरिदिने
कहिँ कतै कोहि नभैदिएकोले
भरपर्दो सरकारी जागीर
जिन्दगीभर मिलेन !
बल्ल बल्ल प्राईभेट स्कुलमा सुरु गरेको जागिर
कोरोनाको सन्त्रासले गर्दा
स्कुल व्यवस्थापकको त बेहाल भयो
बिचरो शिक्षकको जागीर बच्ने त
कुरै भए न !
हात्त मुख जोर्न नै धाउ धाउ
बिवस बाउ आमाका दुःख
कतिन्जेल नियालेर हेर्नु
यसरी, प्राय सबैका
बर्तमान राजनैतिक व्यवस्था
र त्यसका सन्चालकबाट ओझेलमा परेका
राजनीतिमा प्रत्यक्ष हात भएका
राज्यबाट अनेक तलब भत्ता
आरक्षण, निवृतभरण
पुरस्कार, सुख सुबिधा
पाउनेका बाहेक
आम स्वतन्त्र नेपाली
कसैको आफ्नै ठाउँमा
गरि खाने र टिक्ने त
अवस्था नै रहेन !
कोरोनाले जकटिएको
यो बिकराल परिस्थितिमा पनि
जन्मभूमिलाई छोड्नलाई आखिर
भिसा,
टिकट हातमा नसमाई भए न !
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक