सार्वजनिक सवारीमा इ—टिकेटिङ् प्रयोगमा ल्याउने तयारीमा काठमाडौं महानगरपालिका
कपन अनलाइन
काठमाडौं ,साउन १।
बन्दाबन्दीपछि काठमाडौंमा सञ्चालन हुने सार्वजनिक सवारीमा इ—टिकेटिङ् प्रयोगमा ल्याउने तयारी गरिएको छ । यसका लागि प्रयोगमा ल्याइने अटोमेटिक फेयर कलेक्सन (एएफसि) प्रणालीका बिषयमा आज फिनटेक इन्टरनेशनलका प्रतिनिधिहरुले महानगरका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रस्तुति गरेका थिए ।
प्रस्तुतिपछि प्रतिक्रिया दिँदै महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले कोभिड — १९ को जोखिमबाट अझै पनि मुक्त हुन नसकेकोले जनजीवनलाई सहज बनाउन सञ्चालन गरिने सार्वजनिक यातायातलाई सुरक्षित राख्न प्रबिधिमा आधारित स्पर्श रहित बनाउने प्रयास गरेको बताएका थिए।
अहिले सञ्चालनमा ल्याउन लागिएको प्रणालीलाई बैङ्कहरुले उपलब्ध गराउने एटिएम कार्डसँग जोड्न सके प्राबिधिक रुपमा सेवा बलियो हुने महानगरका सहसचिव राजेश्वर ज्ञवालीले सुझाव दिदै एटिएममा एउटा चिप्स थपेर प्रणाली जोड्न सकिने र अन्तरराष्ट्रिय अभ्यास पनि यस्तै रहेको जानकारी गराएका थिए ।
भाडा भुक्तानीसँगै यातायात व्यवस्थापनलाई प्रबिधिमा आधारित बनाउन लैजान पाए काठमाडौंमा ट्राफिक व्यवस्थापन सहज हुने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकालले बताएका थिए।
फिनटेकका महाप्रबन्धक हेमन्त अग्रवालले सार्वजनिक सवारी चल्ने अवस्था आउनासाथ काठमाडौंको चक्रपथसहित ५ वटा मुख्य रुटमा चल्ने ३०० वटा बसमा प्रणाली परीक्षण गरिने जानकारी दिदै काठमाडौंका बिभिन्न रुटमा चल्ने १८ वटा बस कम्पनीसँग सम्झौता भइसकेको बताएका थिए।
सहरी शुशासन बिभागका प्रमुख हरिबहादुर कुँवरले भुक्तानी प्रणालीका लागि राष्ट्र बैङ्क, सवारी साधनमा प्रणाली जडान गर्न यातायात व्यवस्था बिभाग, नियमन र अनगुमन गर्न ट्राफिक प्रहरी, वुथ राख्ने ठाउँ र नागरिकको सेवा व्यवस्थापन गर्न काठमाडौं महानगरले समन्वय गरिरहेको जानकारी गराएका थिए ।
कसरी सञ्चालन हुन्छ भाडा भुक्तानी प्रणाली
यो प्रणाली बसमा जडान हुनेछ । बसमा चढ्दा र उत्रँदा यात्रुसँग भएको कार्ड ट््याब गर्दा स्वतः उसको यात्रा दुरी कायम भएर यातायात व्यवस्था बिभागले तोकेको भाडा काटिन्छ । यदि कसैसँग कार्ड छैन भने सहचालकसँग कार्ड लिन सकिने प्रवन्ध मिलाइने छ । कार्ड लिन नचाहने यात्रुलाई सहचालकसँग भएको मेसिनबाट बिद्युतीय टिकट जारी गरेर भाडा लिइन्छ ।
बस रुटमा राखिने बुथबाट कार्ड निःशुल्क रिचार्ज गर्न सकिन्छ । कार्डमा बढीमा ५ सय रुपैयाँ रिचार्ज गर्न सकिनेछ । त्यस्तै बसभित्र रहेको मेसिन बैङ्क र मोवाईल एप्लिकेसनबाट पनि कार्ड रिचार्ज गर्न सकिन्छ ।प्रणालीमा संकलन भएको रकम हरेक दिन साँझ स्वतः ब्यवसायीहरुको बैक खातामा जम्मा हुन्छ ।यो प्रणालीलाई फिनटेकले भारतको बैङ्लोरस्थित ओम इन्फोटेकसँग प्राबिधिक साझेदारिता गरेको छ ।फोटो सौजन्य :काठमाडौं अनलाइन