बुढानीलकण्ठ स्कूलको १६ रोपनी जग्गा संस्थालाई बाँड्न खोजिएको भन्ने विषयको अन्तर्य के हो ?
कपन अनलाइन
काठमाण्डौ ,पुस १९/ केशव राज पाठक
बुढानीलकण्ठमा रहेको प्रशिद्ध बुढानीलकण्ठ स्कूल देशकै उत्कृष्ट शैक्षिक संस्थाहरूको सूचिमा पर्छ । “पब्लिक स्कूल“ मोडलमा बेलायत सरकारको सहयोगमा स्थापना गरिएको यस विद्यालय बेलाबखत अनियमितता एवम् विसंगतिका समाचारमा रूमल्लिने गरेको छ । हाल गुठीका रूपमा संचालित यस स्कूलको नाममा रहेको ३८ हेक्टर जमिन सबैको आँखाको तारो बन्ने गरेको छ ।
स्कुल हाताभित्र रहेको विशाल हरियाली, खेल मैदान, आधुनिक भवनहरू, प्रयोगशालाहरू, पुस्तकालय, र छात्रावासहरूबाहेक पनि ठूलो खाली क्षेत्र रहेको छ । सोही खाली जमिनमा आँखा लाउनेहरूमा बुढानीलकण्ठ नगरपालिका आफै पनि पर्दछ । ३ वर्षअघि बुढानीलकण्ठकै मेयर(उद्धव खरेल) ले स्कूलको जग्गामा बसपार्क बनाउने भनेर सार्वजनिक अभिव्यक्ति नै दिएका थिए । बुढानीलकण्ठतिर राजनीति गर्छु भन्ने केही खिच्रामिच्रा पात्रहरू अझै पनि बुढानीलकण्ठ स्कूलको जग्गामा बसपार्क बनाउनु पर्छ भनेर पैरवी गरिरहेको भेटिन्छन् ।
बुढानीलकण्ठ स्कुलको जग्गामा आँखा लाउनेमा स्कूलकै बिभिन्न क्षेत्रमा सक्रिय व्यक्तिहरू पर्ने गरेका छन् ।यतिखेर बुढानीलकण्ठ स्कूलको १६ रोपनी जग्गा यसै स्कूलको पूर्व विद्यार्थीहरुको संस्था सेब्सलाई दिन व्यापक चलखेल भैरहेको छ । स्कूलले सेब्सलाई जग्गा दिनका लागि लालमोहर लगाइसकेको भनेर एक समाचार प्रकाशितपछि सम्बन्धित पक्ष यतिखेर तनावग्रस्त भएको देखिन्छ ।
पूर्व विद्यार्थीहरूको संस्था सेब्स अर्गनाइजेसनलाई भवनसहित बिभिन्न पक्ष (रिक्रियसन सेन्टर) निर्माणका लागि भनेर यति ठूलो परिणामको जग्गा दिन लागिएको हो सोही स्कूलका पूर्व विद्यार्थीहरूको संस्थालाई १० करोडभन्दा धेरै लगानी गरेर स्विमिङ पुल, अडिटोरियमसहितको विशाल भवन निर्माण गर्न भनेर प्रिन्सपल केशरबहादुर खुलाल सक्रिय छन् भनेर काठमाडौं खबरले एक समाचार प्रकाशित गरेपछि स्कूल प्रेश विज्ञप्ति प्रकाशित गर्न बाध्य भएको थियो ।
सन्तोष विष्ट अध्यक्ष रहेको सेब्स बुढानीलकण्ठकै गोल्फुटारमा घर भाडामा लिएर बसिरहेको छ । सेब्स अर्गनाइजेसनलाई जग्गा दिने खेलमा पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठको पनि महत्वपूर्ण भूमिका खेलेको देखिन्छ ।सुमना श्रेष्ठ शिक्षामन्त्री हुँदा सहजीकरण गरेर सो संस्थालाइ स्कूलको जग्गा दिने वातावरण बनाइएको थियो । हाल स्कूलका सिइओ रहेका काशीराम शर्मा पनि यस जग्गा दिने विषयमा सक्रिय रहेको देखिन्छ । जग्गा सेब्सलाई दिने विषयसँगै सम्बन्धित रहेर शर्माको कार्यकाल थप पनि गरिएको छ । शर्माको कार्यकाल स्कूलको नीति नियमविपरीत ४ वर्ष थप्न लागेको बारे पनि चर्चा परिचर्चा हुने गरेको छ ।
स्कूलको जग्गा सेब्सलाइ दिलाउन स्कूलका सिइओ काशीराम शर्मादेखि एसएमसीका सदस्यहरू अनुराधा शर्मालगायतका व्यक्ति सक्रिय रहेको समाचार प्रकाशनपछि केही व्यक्तिले काठमाडौं खबरको टिमसँग छलफल पनि गरेको बुझिएको छ । जग्गाकै विषयलाई सहजीकरण गर्न भनेर केशरबहादुर खुलाललाई प्रिन्सिपल बनाइएको समाचार सत्यता पाइन्छ । यसअघि पनि प्रिन्सिपल बनिसकेका खुलाल कमजोर कार्य क्षमताका कारण कार्यअबधि अघि नै बुढानीलकण्ठ स्कूलबाट बिदा भएको बुझिन्छ । त्यसपछि खुलाल काठमाडौं वर्ल्ड कलेजमा प्रिन्सिपल रहेको देखिन्छ । यसै पुष महिनामा खुलाल दोस्रो पटकका लागि बुढानीलकण्ठ स्कूलका लागि प्रिन्सपल बनेका हुन् । संस्थालाइ जग्गा दिलाउनै केशर बहादुर खुलाल प्रिन्सिपल भएको २ महिनामै अनुराधा शर्मालाइ एसएमसी कमिटिको मेम्बर बनाइएको भन्ने समाचारमा आएको विषय आफैमा पेचिलो देखिन्छ ।
स्कूलको जग्गा हत्याउनकै लागि थुप्रै परिस्थिति बनाइएको देखिन्छ । यसमध्ये एक अर्को विषय हो सेब्सका अध्यक्ष विष्टकी पत्नी कमला विष्ट स्कूल बिओटीकी सदस्य रहेको विषय ।
नेपाल सरकारका उपल्लो तहका कर्मचारीहरू रहने बिओटीमा रहेकी कमला विष्ट पनि सेब्सलाई जग्गा दिलाउन सक्रिय भएकोसँगै उनी परराष्ट्र मन्त्री राणाको निकटतम व्यक्ति रहेको विषय पनि चर्चामा छ । स्कूलको जग्गामा सेब्स अर्गनाइजेसनको पूर्वाधार बनाउने विषयमा नाम जोडिएक मिडियामा आएपछि अनुराधा शर्मालगायतका व्यक्तिहरू राजनीतिक पृष्ठपोषणमा सक्रिय छिन् ।
सेब्सलाई जग्गा दिलाउने विषयमा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले पनि हस्ताक्षर गरेको देखिन्छ । मिठाराम अधिकारीले किन र कसरी हस्ताक्षर गरे ?भन्ने विषयमा मेयरले औपचारिक टिप्पणी गरेका छैनन । तर बुढानीलकण्ठ स्कूलको जग्गामाथि लगाएको कुदृष्टिबारे शिक्षामन्त्री विद्या भट्टराई पूर्णरूपमा बेखबर देखिन्छिन् । यस लेखकसँग स्कूलका विषयमा छोटो कुरा गर्दै नराम्रो कुरा हो भने रोक्न प्रयत्न हुनुपर्ने नेकपा एमाले काठमाडौं अध्यक्ष दीपक निरौलाले बताए । निरौलाले यस विषयमा यस लेखककै अगाडि शिक्षामन्त्रीलाई फोन पनि गरे ।
सेब्सलाई जग्गा दिने विषयमा हालका शिक्षा सचिवको महत्वपूर्ण मिलेमतो रहेको आरोप समाचारमा उल्लेख छ । यद्यपि यस विषयको स्पष्टरूप भने देखिदैन । स्कूलको जग्गा बाँडिन लाग्दा यसरी मन्त्री तथा सचिव बेखबर वा चुपचाप बस्नु आफैमा दुखद कुरा देखिन्छ । बुढानीलकण्ठ स्कूलभित्र भ्रष्टाचारका व्यापक समस्याहरू रहेको विषय चलिरहेको बेला बिओटीदेखि एसएमसीका मेम्बरसहितको मिलेमतो मा स्कूल प्रिन्सिपल एवम् सिइओले जग्गा वितरणको ठूलो खेल भनेर समाचार प्रकाशितपछि स्थानीयवासी भने आक्रोशित भएका छन् । यसरी जग्गा बाँड्ने दिन कामको सुरूवात भयो भने यसले बुढानीलकण्ठ स्कूलको गरिमा एवम् महिमा नष्ट हुने भन्दै कुनै पनि व्यक्ति वा संस्थाका नाममा जग्गा वितरण गर्न नहुने भन्दै स्थानीयवासी तथा संघसंस्था आक्रोशित भएको हुन् ।
यत गम्भीर विषय सार्वजनिक हुँदा बुढानीलकण्ठ क्षेत्रमा राजनीति गर्ने एमाले, कांग्रेस वा अन्य पार्टी भने पूर्णतः मौन छन् । उनीहरूको मौनताभित्र एकातिर विषयको अनविज्ञता देखिन्छ भने अर्कोतिर विषयको गाम्भीर्यताबोध नहुनु पनि देखिन्छ । यसैबीच स्कूलले समाचारलाई काउण्टर दिन सकिन्छ कि भनेर एक प्रेश विज्ञप्ति निकालेको छ । तर त्यसमा उल्लेख गरिएका कतिपय भाषा समाचार मत्थर पार्नका लागि भएको देखिन्छ । विज्ञप्तिमा भनिएजस्तो कुरा माइन्युट नै नभएको देखिन्छ ।
(लेखक पाठक कपन अनलाइनका संस्थापक प्रधान सम्पादक हुन् )