लकडाउन अभिशाप कि वरदान?
कपन अनलाइन
काठमाडौं ,असार २७ /शारदा पराजुली
“आहा ! असार एक गतेदेखि त स्कुल खुल्छ अरे है ममी?” छोरीको एकमुठी खुसी ह्वात्तै बाहिर पोखियो । “थाहा छ ममी, स्कुल खुलेपछि त हामी सबै साथी मिलेर उ त्यो माथिको डाँडामा पार्क छ नि त्यहाँ जाने अनि मज्जाले फोटो खिच्न प्लान गरेका छौँ ।” छोरीको खुसी सुनेर मन त्यसै त्यसै अमिलो भएर आयो ।
यो लकडाउनले बाहिरी वातावरण हेर्न र घुमफिर गर्न नपाएकी छोरीको इच्छा जस्तै छ मेरो मनको इच्छा पनि तर के गर्नु घरमा कैदी झैँ भएर बस्नु पर्दाको पीडा मैले मात्र होइन सम्पूर्ण विश्व जगत्ले नै भोगिरहेको सामुहिक पीडा हो । अढाइ महिना भइसक्यो कहिले खुल्ने हो कुनि, यो लकडाउन ? खै क्षेत्र छुट्याएर खुलाउने त भन्दै छन् । के गर्छन् के गर्छन् यसै भन्न सकिने अबस्था छैन अहिले । भर्खर त कोरोना पोजेटिभको सङ्ख्या दिनहुँ सय दुईसय गर्दै बढ्दै छन् । मनले यस्तै सोच्दै थियो ।
‘ममी !’ छोरी बोल्दा म त झसङ्ग भएछु । म झस्केको देखेर ऊ छक्क परी र फेरि भनी“ममी स्कुलमा किताब पनि आयो अरे । भोलि किन्न जाने है । कक्षा ८ को परीक्षा त जिल्लास्तरीय हुन्छ ।यसो किताब भए पढ्दै गर्थेँ । ” छोरी एकोहोरो बोलि नै रहेकी थिई । किताब किन्न स्कुलमा जाने कि नजाने म दुबिधामा परेँ । किताब किन्न पैसा खर्च गरौँ घरखर्चमा समस्या छ । घरखर्च गर्न थालौँ छोरीको पढाइलाई पनि सुचारु गर्नु छ । लकडाउन थपिँदै जाँदा आम्दानी नभएपछि त राखेका पैसाले पनि के पुग्दो रहेछ र ।
परीक्षा सकिएपछि किताब नै नपल्टाएकी छोरीलाई किताब किनिदिन पाएत यसो दुई चार अक्षर भएपनि पढ्थी होला । उसको पनि पढ्ने इच्छा छ । हरे शिव ! कस्तो फसाद पार्यो यो लकडाउनले । म त आत्मकेन्द्रित बन्न पुगेँछु अनि छोरीका कुराको प्रति उत्तरै नदिईकन नै खाना बसाल्न थालेँछु । छोरी फेरि म नजिकै आएर भन्नथाली“अब त असार एक गते आउन धेरै दिन छैन है ममी?” छोरीको उत्कट इच्छा सुनेर मन भारी भएर आयो ।
म उसलाई सम्झाउन थालेँ “छोरी असार एक गतेदेखि स्कुल लाग्छ भन्नुको अर्थ सदाझैँ किताबकापी बोकेर ड्रेस लगाएर स्कुल जान पाइने भनेको हैन । घरमै बसीबसी अनलाइन कक्षा सञ्चालन गर्ने मात्र भनेको हो क्या । यस्तो महामारीमा कस्ले पठाउँछ र आफ्ना छोराछोरीलाई स्कुल । टिभीमा समाचार हेर्नु छैन । खाली फिलिम हेर्यो । मोबाइल चलायो । खै के अरे त्यो पब्जी र सव्जी पनि कति खेल्नु परेको हो । त्यो टिकटक मात्रबनाएर कुरा बुझिन्छ र ? समाचार हेर्नु पर्यो नि ।”
“अनि के गर्नु त? बाहिरी किताब किनेर कहिल्यै ल्याइदिएको छ ? घरमा किताब पनि त हुनु पर्यो नि पढ्नलाई । यसो सामान्य ज्ञानका किताब, साहित्यिक किताब, कहिल्यै किनेर ल्याउने गर्नु भएको छ ? एउटा पत्रिकाको ग्राहक बनौँ भन्दा त मान्नु भएन । अनिअहिले पढ् पढ् भनेर मात्र हुन्छ ।” छोरीको कुरा मनासिव थिए ।
यस बेला आफैलाई पछुतो लाग्यो । यसो बजार जाँदा केही पुस्तक ल्याइदिनु पर्ने रहेछ भन्ने कुराको महसुस भयो । हामीले आफ्ना आवश्यकता पुरा गर्दै जाँदा बालबालिकाका लागि केही सोच्न सकेनछौँ भन्ने कुराको पछुतो लाग्यो । छोरी अझै आफ्ना मागहरू फेरि पनि पस्कन थाली“फेसबुकमा भोलिदेखि स्टेसनरी खुल्छ भन्ने कुरा आएको छ ।
यदि स्टेसनरी खुल्यो भने कलर पेपर, चार्ट पेपर, पेन्सिल, कलरबक्स ल्याइदिनू । म चार्ट पेपरमा म्याथका फर्मुलाहरू बनाउँछु । साइन्सका बेसिक कुराहरू पनि चार्ट पेपरमा लेखेर यो भित्तामा टाँस्छु ।” छोरीका कुरा सहीलागे । हामीले बालबालिकालाई क्रिएटिभ बनाऔँ भन्ने कुरा मिडियामा आइरहेको छ तर क्रिएटिभ बनाउने आधार खै त ? उनीहरूसँग साधन हुनु पर्दैन ?भन्ने लाग्योे । अनि उसलाई मैले ढाढस दिँदै भनेँ “हुन्छ छोरी ! भोलि हामी दुबै जना जाऔँला अनि जे जे चाहिँन्छ किनौँला नि हुन्न?”
मेरो कुराले छोरीको मन खुसी भयो होला भनेको त ऊ बेखुसी नै रहिछे उसले मन दुखाउँदै भनी“यत्रो लकडाउन सुतेर अनि मोवाइल चलाएरै बित्यो । व्याट छ कक छैन, क्यारामबोर्ड छ गोटी छैन ।
कहिले कहीँ व्याटमिन्टन खेल्न हुन्थ्यो नि कहिले क्यारामबोर्ड खेल्न हुन्थ्यो, चेस खेल्न हुन्थ्यो । केही छैन । खाली उठ्, खा । टिभी हेर् ।मोबाइल चला । यति नै त हो काम ।”
“भैगो नि त भोलि किनौँला सबैथोक । हामीलाई के थाहायत्रो लामो समयसम्म लकडाउन होला भन्ने । अनियी सामग्री यो अवस्थाका लागि चाहिन्छन् भनेर । आवस्यकता परेपछि मात्र महसुस हुँदो रहेछ ।”
हामीलाई पसल राम्ररी चलोस्, आम्दानी राम्रो होस् , घरखर्च चलाउन सहज होस् भन्नेतिर मात्र ध्याउन्न भयो । यस्ता सामग्री चाहिएलान् जस्तो लागेन । अहिले कक भएको भए म पनिबिहानबेलुका व्याटमिन्टन खेल्थेँ । यहाँ घर बसेर मोटाइसकेँ । खै लकडाउन पनि कति दिनहुने हो । न अझै समयथप्ने पो हो कि । दिनैपिछे दुई तिन सय कोरोना सङ्क्रमित थपिँदै छन् ।
झन् महामारी नै फैलेला जस्तो छ । अमेरिका, इटाली, स्पेन, फ्रान्स जस्ता देशलाई त आच्छु आच्छु पार्ने यो कोरोना भाइरसले हाम्रो देशलाई के राख्थ्यो होला र । बरु चाइनाले बल, बुद्धि, तागत लगाएर धेरै मान्छे मर्नबाट जोगायो । अरु देशमा लकडाउन खुकुलो पारिसके । हाम्रो देशमा भर्खर त सङ्क्रमण बढ्दै छ । कोठा भाडा, पसलको भाडा केले तिर्नु, खाइखर्च कसरी जुटाउनु । अब त न दिनमा भोक न रातमा निद्रा हुन थालि– सक्यो ।”
“अनि के अब सधै अनलाइनबाटै पढाइ हुने हो त ममी?” “यो पनि के कुरा गर्छे । सधैँ अनलाइन क्लास त कहाँ हुन्छ र । यो कोरोना साम्यन हुन्जेल सम्म पो त । स्कुलमा हुलमुल धेरै हुन्छ । एउटालाई कोरोना लाग्यो भने आगो झैँ यो फैलिहाल्छ । बरु घरमै बसेर पढ्ने नि हैन?”
“ विकसित मुलुकमा अनलाईनबाट पढाइ हुन्छ भन्ने सुनेकी थिएँ । अब आफैले प्रयोग गर्ने भइयो ।” एकातिर कोरोनाले लाखौँ मानिसको ज्यान लिइरहेको छ भने अर्कोतिर मानिसलाई धेरै कुरा सिकाएको पनि छ । घरपरिवारसँग बस्ने वातावरण मिलाइदिएको छ । सधैँ काममा जोतिरहने मानिसलाई आराम दिलाएको छ । वातावरणमा स्वच्छता ल्याएको छ । प्रविधिको प्रयोग गर्न सिकाएको छ । बाँझो खेतबारीलाई चलायमान बनाएको छ ।
मानिसमा दुःख पर्दा आफ्नो देश नै चाहिने रहेछ भन्ने पाठ सिकाएको छ । गाउँघरमा दुःख हुन्छ भनेर सहर पसेकालाई गाउँको महत्व दिलाएको छ । यो लकडाउन अभिशाप मात्र हैन वरदान पनि बनेर आएको छ ।” छोरी त गुरुआमा भै आफु मलाई पो पढाउन थाली । म छक्क परेर उसका कुरा सुनिरहेँ ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक