पाटेबाघको छाला सहित एक जना पक्राउ

पाटेबाघको छाला सहित एक जना पक्राउ

कपन अनलाइन

काठमाडौं ,असार २२

बाँके निकुञ्जभित्रका वन्यजन्तु मारेर तिनका छाला र हड्डी तस्करी गर्ने एक तस्करलाई पाटे बाघको छाला र हाडसहित बाँके प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको राप्तिसोनारी गाउँपालिका-२ तितिनघारीका नवराज घर्तीमगरले आफ्नो मकै बारीमा लुकाई राखेको पाटेबाघको छाला र बाघको विभिन्न भागको हाड १० किलो पाँस सय ग्रामसहित उनलाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बताउनुभयो ।
आइतबार जिल्ला प्रहरी कार्यालय बाँकेमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा तस्कर घर्तीमगरलाई सार्वजनिक गर्दै प्रहरीले छाला र हाडसमेत सार्वजनिक गरेको छ ।

प्रारम्भिक अनुसन्धानमा प्रकाश आचार्य नामको व्यक्तिले बाँके राष्ट्रिय निकुञ्जको छेत्रमा उक्त बाघलाई गोली हानी मारेर छाला र हाड निकालेको बुझिन आएको बाँकेका प्रहरी प्रमुख रानाले बताउनुभयो ।
उहाँले थप्नुभयो, ‘सो बाघको छाला नवराज घर्तीमगरलाई सोही ठाउँ बस्ने आचार्यले शुक्रबार राख्न दिएको रहेछ, निजले बाघको छालालाई मकै बारीमा लुकाई राखेको पाइयो ।’
गाभर बस्ने नरे घर्ती भन्ने व्यक्तिले नवराजलाई बाघको छाला २४ लाख रुपियाँमा बिक्री गराइदिन्छु भनेर डिल गरेको खुल्न आएको एसपी रानाले बताउनुभयो ।
उहाँले फरार रहेका प्रकाश आचार्य र नरे घर्ती भन्ने व्यक्तिलाई खोजतलास गरिरहेको बताउनुभयो । पक्राउ परेका नवराज घर्तिमगर र बरामद गरिएको बाघको छाला र हड्डीलाई थप अनुसन्धानपछि कारबाहीका लागि डिभिजन वन कार्यालय बाँकेमा बुझाइने उहाँले बताउनुभयो ।
प्रदेश ५ अनुसन्धान समूह र ईलाका प्रहरी कार्यालय कुसुमबाट खटिएको संयुक्त प्रहरी टोलीले घर्तिमगरलाई उनको आफ्नै घरबाट पक्राउ गरेको थियो ।

तपाइँको प्रतिक्रिया ।