वार्ता बनोस् उत्तम : उत्तम विचार (कविता )
कपन अनलाइन
काठमाडौं ,असार ७।
हाम्रो आँगन यो हडप्छ रिपुले लोभी र पापी बनी
गुड्छ्न् मोटर कार यो हृदयमा लैजान्छ बाटो खनी ।
यस्ता मित्र छिमेकमा यदि भए के गर्नुपर्ला भन
जे जे गर्छ सहेर बस्नु अथवा वार्ता बनोस् उत्तम ।।१।
हाम्रा औषध हुन् बुटी टिमुरका बोझो उतै भेटिए
औंंले पाँच उतै जटा, निरमसी चुत्रो उतै भेटिए ।
गिठ्ठा भ्याकुर ती उता पुगिसके रित्तिन्छ हाम्रो वन
आँखा चिम्म गरेर बस्नु अथवा वार्ता बनोस् उत्तम ।।२।
पानीमा नलगा भन्यो नजर भो मान्दैन के मान्छ त्यो
वर्षा डुब्छ यता रुखो हिउँदमा थुनेर लैजान्छ यो ।
सुस्ता ग्रस्त डुबानमा कहरमा बाँच्दैछ पोल्यो मन
उस्तै होस् कि जवाफ युद्ध अथवा वार्ता बनोस् उत्तम ।।३।
अग्ला यी हिमशैलका शिखरमा काली नदी भेकमा
गिद्दे चक्षु डुलाउँदै बगरमा धावा बोल्यो लेकमा ।
अत्याचार बढ्यो अहो मुलुकमा पेल्दैछ पापी किन
छेडौँ लाग्छ जवाफ युद्ध अथवा वार्ता बनोस् उत्तम ।।४।
होस् सम्बन्ध छिमेकमा सहज यो भन्नेहरू छन् कति
टाढा भै कन ती यता नजिक झन् बन्नेहरू छन् कति ।
किल्ला तीन डस्यो निल्यो मुलुक नै रोकिन्न झैँ भो क्रम
मान्ला भूत नखाइ लात अथवा वार्ता बनोस् उत्तम ।।५।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक