तिमी : मञ्जुश्री प्रधान (कविता )
कपन अनलाइन
काठमाडौं ,असार ७।
निन्द्रामा छदा होस की बिउझे पछी
पानी पिउँदाको क्षण होस् वा चिया पिउँदा
पानीको स्वादसँगै चियाको वाफसँगै
म तिम्रो सम्झनामा रुमल्लिन पुग्छु,
र तिम्रो सम्झनामा बाफिएको हुन्छु ।
प्रातः भ्रमणमा हिड्दा होस्
वा साँझको दोबाटोमा डुल्दा
मलाई तिम्रो साथको आवश्यकता पर्छ
तीव्र अनुभुती हुन्छ ।
बिहान पत्रिका पढ्दा
पत्रिकाको हरेक शब्द–शब्दमा
तिमीलाई देख्छु
कार्यालयमा व्यस्त रहँदा
तिम्रो सम्झना मेरो मुटुमा
चोरझैं सुटुक्क पस्छ,
कथा लेख्न बस्दा होस् वा कविता
हरफ–हरफ होस वा पंक्ति–पंक्तिमा
तिम्रो उपस्थितीको आभाष हुन्छ
मेरो प्यारो मान्छे
तिम्रो सम्झना मेरो मुटुको पाना भरि–भरि
अबिरल बगीरहेछ
त्यसैले,
तिमी मेरो जीवनको कार्यतालीका बन्यौ ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।