आईएई द्वारा आयोजित ग्रिन एन्ड सस्टेनेबल अटोमोबाइल मोबिलिटी शीर्षकमा वेबिनार सम्पन्न
कपन अनलाइन
काठमाडौं, जेठ २४। विश्व वातावरण दिवसको अवसरमा ‘इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स (आईएई)’ द्वारा आयोजित ‘ग्रिन एन्ड सस्टेनेबल अटोमोबाइल मोबिलिटी’ शीर्षकमा शुक्रबार वेबिनार सम्पन्न भएको छ ।
आईएई नेपालका अध्यक्ष पुर्णबहादुर गौतमको अध्यक्षतामा सम्पन्न उक्त वेबिनारमा बिभिन्न ५ वटा शीर्षकमा प्रस्तुति सम्पन्न भएको थियो । वेबिनारमा आईएई नेपालका महासचिव बाशुदेव तिमिल्सिनाले विश्व वातावरण दिवसको अवसरमा सो वेबिनार आयोजना गरेको जानकारी दिदै आईएईको परिचय, यसको गतिविधि र भविष्यको योजना वारेमा जानकारी प्रदान गरेका थिए ।५ वटा शीर्षकमा प्रस्तुति अन्तर्गत इलेक्ट्रिक भेइकल, अवसर तथा चुनौती विषयमा इन्जिनियर आशिष गजुरेलले प्रस्तुतिकरण गरेका थिए । उनले नेपालमा हाल उपलब्ध इलेक्ट्रिक गाडीको वारेमा आवश्यक जानकारी प्रस्तुत गदै हाल सरकारले बजेटमार्फत वृद्धि गरेको कर, यसले आगामी दिनमा पार्ने प्रभाव र भविष्यको सम्भावना वारेमा जानकारी प्रदान गरेका थिए ।
त्यसैगरी भारतको एआरएआईका सिनियर डेपुटी डाइरेक्टर डा. कमल बोराले एसियन मोबिलिटीको अवस्था वारेमा विस्तृत जानकारी प्रस्तुत गरेका थिए । उनले एसियाका साथै भारतीय बजार, हालको अवस्था र भविष्यको सम्भावना वारेमा जानकारी प्रस्तुत गरेका थिए । उनको विचारमा युनिभर्सिटी अफ वेस्ट अफ इंग्ल्यान्डका रिसर्च फेलो डा. पुष्पराज पन्तले प्रतिक्रिया ब्यक्त गरेका थिए ।
नाडाका सदस्य कपिल शिवाकोटीले नेपालमा अटोमोबाइल व्यवसायको अवस्था र कोभिड —१९ पश्चात हुने सम्भावित बजार वारेमा जानकारी प्रस्तुत गरे । उनको विचारमा नाडाका सचिव अनुप बराल र पोखरा युनिभर्सिटीमा पूर्व डिन बुद्धिराज जोशीले प्रतिक्रिया जनाउनुका साथै थप विचार प्रस्तुत गरेका थिए ।कोभिड —१९ को अवस्थामा सुरक्षित तरिकाले अटो वर्कशप सञ्चालन गर्ने प्रोटोकल वारेमा हुन्डाई नेपालका सर्भिस म्यानेजर प्रेम लामाले जानकारी प्रस्तुत गरेका थिए । उनको विचारमा सहमती जनाउदै नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपानेले थप विचार प्रस्तुत गरेका थिए ।
त्यसैगरी रोड इन्जिनियरिङ्ग एन्ड भेइकल टेक्नोलोजी विषयमा सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपाल (सोडेन) का अध्यक्ष पदमबहादुर शाहीले जानकारी प्रस्तुत गरेका थिए ।आईएई नेपालका उपाध्यक्ष सुशील तण्डुकार तथा महासचिव प्रवेश पौडेलले वेबिनारको व्यवस्थापन कार्य गरेका थिए भने कोषाध्यक्ष पवित्र विक्रम राणाले प्राविधिक संयोजन गरेका थिए । उपाध्यक्ष मधुसूदन सिग्देलले सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
नेपालमा भएका मेकानिकल, एरोनाटिकल र अटोमोबाइल इन्जिनियरहरुको व्यावसायिक संगठन आइएई नेपाल हो । आईएई नेपालले अटोमोबाइल प्रविधिमा भइरहेका परिवर्तनहरुका वारेमा ज्ञान आदानप्रदान गर्ने कार्य समेत गर्छ ।आईएईले हाल नेपालमा सडकमा बिग्रिएका गाडी मर्मतका लागि सर्भिस सेन्टर सम्म पु¥याउनका लागि टोइङ भ्यानको व्यवस्था गरेको छ भने आईएईको आधिकारिक सर्भिस सेन्टरको रुपमा ८ वटा सर्भिस सेन्टरको व्यवस्था गरिरहेको छ ।
फोटो :मधुसुदन सिग्देल