छुट !(लघुकथा)
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १० /लीलाराज दाहाल
यात्रु प्रतिक्षालयमा सार्वजनिक बस आएर रोकियो । बस पर्खनेहरुको भिड थियो । बलिया युवायुवतीहरु त ठेल्ठाल् गरी बसमा चढे । एउटा खुट्टा काटिएर बैशाखी टेक्ने शारीरिक अशक्त शिब र जेष्ठ नागरिकहरुलाई बस चढ्न निकैबेर लाग्यो । उनीहरु बडा सकसले बल्लतल्ल बसमा उक्लिए ।
बस भित्र पनि भिडभाड थियो । अशक्त र जेष्ठ नागरिकलाई छुट्याइएको सिटमा त युवायुवती पो आनन्दले बसिरहेका थिए । यहाँ पनि निकै लामो तर्क बितर्कपछि मात्र उनीहरुले आफ्नो आरक्षित सिट भेट्टाए । बसका चालक सहचालकहरुका कर्कश हप्काईले पनि यात्रुहरु पिडित भएर यात्रा गर्दै थिए ।
सहचालक भाडा उठाउंदै आयो । फेरि पनि सहचालकको ओठबाट विवादको कर्कश ध्वनी निस्कियो । बृद्धबृद्धाले यत्ति भनेका हुन्, ‘हामी जेष्ठ नागरिक हौँ । भाडामा सरकारले तोकेको सहुलियत देउ ।’
अशक्त यात्रु शिबले पनि यत्ति भनेको हो, ‘म अशक्त हुँ । भाडामा छुट गर ।’ सहचालक च्याँठिएर कर्कश स्वरमा बोल्यो, ‘कार्ड छ, कार्ड ?’
बृद्धबृद्धाले त जेष्ठ नागरिक परिचयपत्र बोकेका रहेछन्, देखाए । तर उसले अशक्त परिचयपत्र बोकेको रहेनछ । सहचालक फेरि चर्कियो, ‘कार्ड बिना पाइन्न छुट !’
‘मेरो एउटा खुट्टा छैन । यी हेर ! घुँडा माथि काटिएको ठुटो । बैशाखी टेकेर हिंड्छु । म शारीरिक अशक्त होइन?’
यति खेर शिबको मनको आकाशमा आशंकाको बादल मडारिन थाल्यो । सहचालक भने अझै भन्दै थियो, ‘तपाईंको खुट्टाहोस् कि नहोस्, मलाई के मतलब ! मलाई त कार्ड चाहिन्छ, कार्ड !’
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक