सार्वजनिक खरिदका सम्पूर्ण प्रक्रिया स्थगित गर्न नेपाल निर्माण व्यवसायी महासंघको अनुरोध

सार्वजनिक खरिदका सम्पूर्ण प्रक्रिया स्थगित गर्न नेपाल निर्माण व्यवसायी महासंघको अनुरोध

कपन अनलाइन 
काठमाडौं ,जेष्ठ ५ ।
नेपाल निर्माण व्यवसायी महासंघले कोरोना भाइरसको महामारीसँगै मुलुकमा जारी लक डाउनको अवधिमा समेत बोलपत्रका खरिद प्रक्रियाहरु यथावत् रहेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सरोकारवाला निकाय समक्ष पटक पटक ताकेता गर्दा समेत त्यसको विपरित अति आवश्यक र कोेभिड १९ सँग सम्बन्धित बाहेकका केही खरिद प्रक्रियाहरु संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह अन्र्तगतका सार्वजनिक निकायहरुले अझै स्थगित नगरेको महासंघले जनाएको छ ।

“अहिलेको विषम परिस्थितिमा आफु खुशी आफ्ना नजिकका व्यवसायीहरुलाई हुने गरी मानवीय स्वास्थ्यलाई समेत ख्याल नगरी बोलपत्रका खरिद प्रक्रियाहरु यथावत राखेको प्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ” महासंघका महासचिव रोशन दाहालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । लकडाउनका कारण निर्माण व्यवसायी सदस्यहरु एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै महासंघले यस अघि जारी भएका पासहरु रद्द भई स्थानीय तहहरुले समेत आफ्ना क्षेत्रहरु भित्र आवतजावतमा कडाइका साथ रोक लगाएको स्मरण गराएको छ ।

बैंक ग्यारेण्टी लगायतका कागजात तयार गर्न समेत व्यवसायीहरुलाई समस्या रहेको भन्दै महासंघले पूर्ण क्षमता सहित बैंक संचालनमा नभएकोले ती बोलपत्रहरुमा निर्माण व्यवसायीहरु सहभागी हुनबाट बञ्चित हुने हुँदा त्यस्ता खरिद प्रक्रियामा स्वच्छ प्रतिष्पर्धा नहुने ठहर गरेको छ ।

लकडाउनको समयमा समेत अति आवश्यक सेवा र कोभिड १९ सँग सम्बन्धित बाहेकका खरिद प्रक्रियाहरु मध्ये आह्वान भइसकेका बोलपत्रहरुको लकडाउन खुलेको मितिले ७ दिन पछि सम्म अनिवार्य म्याद थप गर्ने व्यवस्था गरिदिन महासंघले आग्रह गरेको छ ।  अब उप्रान्त आह्वान हुने सम्पूर्ण बोलपत्र, आशय पत्र, सिलबन्दी दरभाउपत्र लगायतका खरिद प्रक्रियाहरु हाललाई स्थगित गर्न पनि महासंघले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह अन्र्तगतका सम्पूर्ण सार्वजनिक निकायहरु समक्ष अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।