अनलाइन शिक्षा रहर कि वाध्यता  ?

अनलाइन शिक्षा रहर कि वाध्यता  ?

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ४ /प्रकाश अधिकारी

“वच्चाहरुको अनलाइन क्लास भन्छन, तर पढ्ने पढाउने उत्साह छैन । यो कोरोनाको सन्त्रासमा न हामी जर्वजस्ती गराउन सक्छौ , न उनीहरु रमाएर पढ्न   सक्छन।  यो भनेको मात्र समय कटाउने मेलो मात्र हो । सवैमा नेट पहुंच नभएकोले यो संभव छैन । अर्को प्रभावकारी व्यवस्थाको टड्कारो आवश्यक्ता देख्छु म ”  वरिष्ठ हास्य कलाकार तथा   सामाजिक अभियन्ता  श्रीकृष्ण सिंखडा वताउछन।

अनलाइन क्लासको ६० प्रतिशत राम्रो  छ । ४० प्रतिशत यसका सीमितता रहेको प्याव्सन काठमाडौं महानगरका वरिष्ठ उपाध्यक्ष ज्ञान वहादुर श्रेष्ठ वताउछन ।  शुभकामना स्कूल, उत्तर वाहिनीका अभिभावक मनोज थापा स्कूलको अनलाइन क्लास देखि आफु खुसी भएको वताउछन भने अर्का अभिभावक आफनो मोवाइलको समस्याका कारण र वालवालिका आफु संग नमान्ने भएकोले विद्यालयकै जिम्मामा छोड्न हतार भएको वताउछन ।

वर्तमान महामारीको समयमा विद्यार्थी र विद्यार्थीको पढाई संग सामिप्यता गास्न यो कोशेढुंगा भएको छ। भोलीिको शिक्षा प्रविधिमैत्री वन्न गइरहेको छ त्यसको तयारीको रुपमा वुझ्नु पर्छ , जसरी हामी गुरुकुल वाट पश्चिम शिक्षामा रुपान्तरण भयौं त्यसैगरी भोलीको प्रविधीमैत्री शिक्षामा लैजान यो अवसर भएको   ईष्टपोल मा.वि. का प्र.अ. राजेश राई वताउछन ।

माथीको प्रतिनिधिमुलक पात्रहरुको विचारमा मिश्रित प्रतिक्रिया पाइन्छ ।  इन्टरनेटको पहुंच भएकाहरु र सचेत अभिभावकहरुले यसलाई आवश्यकताको रुपमा वुझेको पाइयो भने कतिपय अभिभावकहरुले यसलाई झण्झटको रुपमा लिएको देखिन्छ ।

विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड १९ कोरोना भाइरसले नेपाल लगायत संसारका २१५ वटा देशहरु अक्रान्त वनेका छन। गत चैत्र ६ गते देखि नेपाल भरीका शिक्षण संस्थाहरु वन्द रहेको अवस्थामा वालवालिकाहरुको पढाइ प्रतिको लगावमा कमि आउन नदिन घरमै वसेर पढ्ने र पढाउने विकल्पको रपमा अनलाइन शिक्षालाई  खोजिएको छ । यस विषम् परिस्थितिमा शिक्षालाई कसरी निरन्तरता दिने भन्ने बहस हुनु स्वभाविक हो र यो अति महत्वपूर्ण पनि छ।

नेपालमा २०१९ को तथ्याङ्कअनुसार लगभग ६३ प्रतिशत इन्टरनेट प्रयोगकर्ताहरु भएको देखिन्छ। तर यसको मतलब ६३ प्रतिशत व्यक्तिमै यो सुविधा रहेको भने होइन। त्यसमा पनि ४९ प्रतिशत इन्टरनेट मोबाइलबाट प्रयोग गरेको प्रतिवेदनले देखाएको छ। नेपालको इन्टरनेट पनि भरपर्दो नभएको विशेषज्ञहरु बताउँछन्।

मोबाइल प्रयोगकर्ताको भने अवस्था भिन्न छ। सेयरकास्ट इनिसियटिभ नेपालले २०१९ मा गरेको सर्वेक्षण अनुसार ९६ प्रतिशत घरपरिवारसँग मोबाइल फोन प्रयोग भएको र झन्डै ६१ प्रतिशतले स्मार्ट फोन प्रयोग गर्ने देखाएको छ। त्यस मध्ये ५९ प्रतिशतले डाटाबाट र ३४ प्रतिशतले ब्रोडब्यान्ड र वाइफाईबाट इन्टरनेट प्रयोग गरेको पाइएको छ।

त्यस्तै विद्युतको कुरा गर्ने हो भने विद्युत प्रगती प्रतिवेदन अनुसार हाल ९५.५ प्रतिशत नेपालीहरुमा विद्युत पुगेको बताइएको छ। तर अति विकट गाँउहरुमा आजसम्म पनि पहुँच देखिदैन।

अर्को पाटो शिक्षकहरुसँगको अनलाइन कक्षा र यसको तयारी सम्बन्धी योग्यता पनि हो। नेपालमा झन्डै ४० प्रतिशत शिक्षकहरुलाई राम्रोसँग कम्प्युटर नै चलाउन नआउने विश्लेषकहरु बताउँछन्।

नेपालका केहि सुविधा सम्पन्न सामुदायिक विद्यालय तर विपन्न विद्यार्थीको समस्या अनि नेपालका केहि सुविधा सम्पन्न नीजी विद्यालय अनि सम्पन्न अभिभावकहरुको लागि अनलाइन कक्षा वरदान सावित भएको पनि हुन सक्छ ।

निजी विद्यालयहरुको लागि शिक्षकको तलव , घर भाडा लगायतका समस्याले पिरोलिरहेको छ , अझ शिक्षकहरुलाई प्राविधिक रुपमा दक्ष वनाएर अनलाइन सुरु गर्दा पनि अभिभावकहरुमा भ्रमका कारणवाट उहाँहरुको सक्रिय सहभागिता नहुंदा उत्साहा देखिन सकेको छैन । शिक्षकहरुको क्षमता जान्न पाएका छौं भन्ने अभिभावक पनि भेटिएको छ । प्राज्ञिक ज्ञान भए पनि प्राविधिक ज्ञानको कमिलाई शिक्षकको कमजोरीको रुपमा हेर्न हुंदैन ।

नेपाल सरकारले पनि दूर शिक्षाको आवश्यक्तालाई आत्मासात गर्न खोज्दैछ । त्यसैले शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीको लागि उपयोगी हुने ई-लर्निङ पोर्टल सञ्चालनमा ल्याएको छ ।

मन्त्रालयले सञ्चालनमा ल्याएको ई(लर्निङ पोर्टलमा कक्षा १ देखि १० कक्षा सम्मका विद्यालयमा पढाई हुने सामग्रीलाई समावेश गरिएको छ ।

साथै यस ई(लर्निङ पोर्टलमा कथा संग्रह पनि समावेश गरिएको छ । जसबाट कथा पढ्न र सुन्न सकिने छ ।  यस ई(लर्निङ पोर्टलमा गएर आफ्नो कक्षा तथा विषय छनौट गरी विद्यार्थीले पढ्न सक्नेछन् ।

Viber , Messanger, Google Class Room , Zoom , Microsoft Team लगायत वाट विद्यालयहरुले क्लास सञ्चालन गरेको पाइन्छ । कसै कसैले रुटिन वनाएर क्लास लिएको अनि कतिपय विद्यालयले Assignment  मात्र दिने र लिने व्यवस्था गरेको मात्र पाइन्छ । कतिपय स्कूलहरुले टि भि. , रेडियो लगायत वाट पठन पाठन गर्न सकिने वताए पनि त्यति प्रभावकारी देखिएको छैन ।  हरेक कुराका सकारात्मक र नकारात्मक  पक्ष हुन्छन ।

हामीले जुन उद्धेस्यले शुरु गरिएको त्यो उद्धेस्य प्राप्तीमा सहयोगी भयो भने सफल मान्नु पर्छ, भएन भने असफल मान्नु पर्छ ।  हुन त नयाँ जुत्ता संग तुलना गरेर जुत्ताले घाउ वनाइ हाल्छनी भन्ने मत पनि देखिन्छ तर मलाइ लाग्दैन दुर शिक्षा  नयाँ कुरा होइन । इन्टरनेट एउटा माध्यम मात्र हो ।

वर्तमान सत्तासीन दलको संयुक्त चुनावी घोषणा पत्रको पाना ३४ मा स्पष्टरुपमा सवै सार्वजनि स्थल, कार्यालय र स्कूलहरुमा निःशुल्क वाइफाईको व्यवस्था गरिने छ भन्ने कुरा उल्लेख भएको देख्न पाइन्छ । अहिलेसम्म सायद त्यो कार्यान्वयन भएको भए आजको अनलाइन शिक्षाले अधिकाँशलाई समेटन सफल हुन्थ्यो ।

यस वर्षको नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार सरकारले कार्यान्यवन गरोस ।  विद्यालय कहिले खालिने छ , भन्न सकिने अवस्था छैन , कोर्स लान सकिदैन मात्र जीवन उपयोगी शिक्षा र अतिरिक्त क्रियाकलाप लाई समावेश गरेर मात्र विद्यालय अघि वढन सक्छन  किनकी कुनै पनि विद्यालयले शत प्रतिशत विद्यार्थीलाई आफनो अनलाइन क्लासमा समावेश गर्न सकेको देखिदैन, अर्को प्रभावकारी व्यवस्था नभएसम्म यसलाई नै परिमार्जन गर्दै लानुको विकल्प छैन ।

(लेखक  :  ईष्टपोल मा.विका सहायक प्र अ. तथा सामाजिक अभियन्ता हुनुहुन्छ  )

तपाइँको प्रतिक्रिया ।