फेक आइडीमा घोत्लींदा

फेक आइडीमा घोत्लींदा

कपन अनलाइन 

काठमाडौं ,बैशाख २७/गङ्गाकर्माचार्य पौडेल

पश्चिमी मुलुकहरुमा मानिसको उमेरअनुसार बाल, किशोर र वयस्कका लागि छुट्टाछुट्टै साहित्य रचना गरी पुस्तक प्रकाशन गर्ने परम्परा नै भए पनि नेपालमा बाल साहित्य धेरै पछि मात्र लेख्न सुरु गरियो । किशोर साहित्य त एकदशक अघिमात्रै लेख्न थालिएको हो ।

२०६७ साल माघ २१, २२ र २३ गते साझाशिक्षा इ–पाटी नेपालले तीनदिने कार्यशालाको आयोजना गरी भक्तपुर जिल्लाको नगरकोटमा १९ जना बालसाहित्य लेखकहरूलाई किशोर साहित्य लेखन प्रशिण दिएपछि नेपालमा पनि औपचारिक रुपमा किशोर साहित्य लेखनको सुरुआत गरिएको थियो । त्यसपछि पनि बाल वाङ्मय तथा अनुसन्धान केन्द्रद्वारा कार्यशालाको आयोजना गरि वरिष्ठ साहित्यकार विनय कसजू सरले बेला–बेलामा किशोर, किशोरीका लागि साहित्य लेखन प्रशिक्षण दिएर लेखकहरुको एउटा समूह नै खडा गरी सक्नुभएको छ । त्यही समूह भित्रकै सशक्त हस्ताक्षर हुनुहन्छ मन्जु ज्ञवाली ।
मन्जु ज्ञवाली वरिष्ठ कवि लेखनाथ ज्ञवालीकी कान्छी सुपुत्री हुनुहुन्छ । उहाँ २०३२ सालमा गुल्मीको दिगाम बोहामा जन्मनुभएको थियो । घरको साहित्यिक माहौलमा हुर्किने अवसर भएको कारणले गर्दा मन्जु ज्ञवालीको लेखन प्रति अभरुचि बढेको देखिन्छ । स्कुले जीवनदेखि नै कविता, निबन्ध र कथा लेखनमा कलम चलाउन थाली सक्नुभएकी उहाँका यस भन्दा पहिला पनि बाल साहित्यका केही थान पुस्तकहरू प्रकाशित भइसकेका छन् ।

१) चङ्खे स्याल र लाइफज्याकेट, २) सहयोगी साथी, ३) भँगेरा र जेरी, ४) आँपखाने उल्लु, ५) इम्जाको झस्को जस्ता बालचित्र पुस्तकबजारमा आइसकेका छन् ।
त्यसैगरि संयुक्त सङ्ग्रहहरू जस्तै–‘अटेरी घडीहरू’, ‘मेरो के दोष’, ‘सीपबाट समृद्धिका कथा’, ‘ढुकढुकी’, ‘भुइँचालोको कथा’, ‘किशोर कथाभाग १ भाग २’, ‘किशोरी कथाभाग १ भाग २’ मा मन्जुका कथाहरु समेटिएका छन् । पुस्तकको अलावा विभिन्न पत्रपत्रिकाहरूमा पनि उहाँका थुप्रै बालपयोगीकथाहरू छापिएका छन् ।
मन्जु ज्ञवालीका रचनाहरू परम्परागत रुढिबाढी विचारलाई त्यागी अन्धविश्वासलाई चिर्दै नविनतम सोच र सामाजिक रुपान्तरणमा अग्रसर देखिन्छन् । हाम्रा बालबालिका र किशोर किशारीलाई यस्तै प्रगतिशील विचारयुक्त मार्ग निर्देशन गर्न सक्ने यथार्थमा आधारित रचनाको खाँचो छ । जुन कुरा मन्जु ज्ञवालीका रचनामा पाउन सकिन्छ । रोएर, सहेर नबसी अन्याय अत्यार विरुद्धमा मुखखोल्न सक्ने, जुझारु पात्रलाई अघिसारी सोही अनुरुपको घटना, परिवेश, सम्वाद, द्वन्द सिर्जना गरी कथालाई रोचक बनाउन सक्नु उहाँको खुवी हो ।

विषय प्रवेशः

अहीले मेरो हातमा मन्जु ज्ञवालीले लेख्नुभएको फेक आइ डी शिर्षकको किशोर कथा सङ्ग्रह छ । यस कथा सङ्ग्रहमा उजेलीको उज्यालो, त्यो रात, उस्तै दुरुस्तै, टिन एज, खुसी, म चोर होइन, साइवर अपराध,फेक आइ डी, दिलमायाको प्रविधि क्रान्ति र देउता रिसायनन्कथा सहित १० ओटा कथाहरू समावेश गरिएका छन् । कथामा किशोर मनोविज्ञान, कौतुहलता पाइनु लेखनको मुख्य विशेषता हो । सरल भाषामा लेखिएका सबै कथाहरू किशोरमैत्री छन् ।

१) उजेलीको उज्यालो:फेक आइ डी भित्रको पहिलो कथा हो । यो कथा ग्रामिण परिवेशमा हुर्कदै गरेकी उजेली नामकी किशोरीको संघर्षको कथाहो । विपन्न परिवारमा जन्मिएकी उजेलीलाई कसरी घरको आर्थिक अवस्था सुधार्न सकिन्छ भन्ने चिन्ताभइरन्छ । त्यसकारण कक्षा नौ मा पढ्दै गर्दा वायरिङ्को तालिममा सामेल हुन्छिन् । गाउँलेहरूको खिसी टिउँरी, केटाहरूको हतोत्साहका बाबजुद तालिम पुरा गरेर आय–आर्जन गर्न सफल भएको कथा प्रेरणादायी छ ।

२) त्यो रातः नेवार जातिकाबालिकालाई रजस्वलाहुनु पहिल्यै गुफा राख्ने चलनको चिनारीसहितको कथा राम्रो छ । किरोवस्थामा विपरित लिङ्गीतर्फको आकर्षण, मनमा उत्पन्नहुने अनेक प्रकारका तरङ्लाई म पात्रमार्फत उजागर गरिएको कथाकिशोर मनोविज्ञानमा आधारित छ ।

३) उस्तै दुरुस्तैःप्राकृतिक विज्ञान सङ्ग्रहालयलाई विषयबनाएर लेखिएको कथा जानकारी मूलक छ । लेखक आफै सङ्ग्रहालयमागई त्यसभित्र सङग्रहित वस्तुहरुको अवलोकन गरेर दिइएको प्रस्तुति रोचक छ । यो कथा पढ्ने किशोर–किशोरीहरूलाई पनि एकपटक सङ्ग्रहालयजान प्रेरित गर्दछ कथाले ।

४) टिन एजःकथामा किशोरीहरू रजस्वला हुँदा भोग्नु परेको अप्ठेरो, किशोरहरूको उत्सुकता, उनीहरूमा आएको शारीरिक परिवर्तन सम्बन्धि विषयको उठान गरिएको छ । कुरा नबुझ्दा एउटै कक्षामा पढ्ने साथीलाई जिस्क्याउने केटाहरू मीसले संझाएपछि माफी मागेका कथा शिक्षाप्रद छ ।

५) खुसी : गरिब र दलित भएकै कारण मालिकको छोराबाट हेपिनु परेको एउटा किशोरको कथा मार्मिक छ । किशोर मनोविज्ञानमा आधारित खुसीकथाको पात्र श्यामले संघर्ष गरेरै भएपनि पढाइलाई निरन्तरता दिएकोले कथाले किशोर किशोरीरूमा  उत्प्रेणा जगाउँछ ।

६) म चोर होइन :किशोरावस्थाका केटा केटीहरु उपद्रो गर्नमा माहिर हुन्छन् । हर्मोनको प्रभावले नै उनीहरूलाई उट्पट्याङ् कृयाकलापमा आकर्षित गराउँदछ । भन्ने कुराको जानकारीको साथै नसोधीकन अरूको बगेैंचाको आँप खाएपछि राहुललाई भने आत्मग्लानी भएको कथा राम्रो छ ।

७) साइवर अपराधःप्रविधिको विकास सँगै मौलाउँदै गरेको विकृति, विसङ्गतीको पर्दाफास गरिएको कथा चेतनामूलक छ । अरूको इष्र्या डाहाले भुतुक्क भई उनीहरुको बेइज्जतगरि आफू रमिता हेर्नेमा केटाहरु मात्रहोइन केटीहरु पनि कमछैनन् ।

८) फेक आइ डी :नक्कली एकाउण्ट खोलेर फेसबुकमा अस्लील फोटो अपलोड गरी अरुको बेइज्जत गर्दा रमाइलो मान्ने किशोर किशोरीहरूको लागि खवरदारी सहितको कथा राम्रो छ । प्रविधिको विकासमा भएको उपलब्धी संचारको साधनलाई सदुपयोग गर्नेको उन्नती हुने र दुरुपयोग गर्नेको दुर्गती हुने कथाको मुख्य सार हो । फेक आइ डी शीर्षकले पुस्तकमा किशोर–किशोरीहरुको सजिलै ध्यानआकर्षण गर्न सक्ने हुँदा पुस्तकको शीर्षक सार्थक छ ।

९) दिलमायाको प्रविधिक्:हाम्रो समाजमा परम्परादेखि चल्दै आएको कुसंस्कारलाई चिर्न सफल यो कथाकिशोर–किशोरहरूको लागि मात्र नभइ वयश्कहरूका लागि पनि अत्यन्तै प्रेरणादायी छ । दलित महिला पात्र खडा गरी बुनिएको यो कथाले मानिसको जीवनमा अघि बढ्न ऊ भित्रको आत्मबलले अहम् भूमिका निर्वाह गरिरहेको हुन्छ । आँट र हिम्मत भए कसैले छेक्दैमा छेकीदैन ।

१०) देउता रिसाएन :किशोरीहरू रजस्वला हुँदा बार्नुपर्ने अन्धविश्वासलाई हटाउन सफल छ यो कथा । म पात्रले घरमा दिदीको बिहा भईरहँदा आफू रजस्वला भएको र कसैलाई थाहै नदिई संपूर्ण शुभकार्यमा सहभागी हुँदा मनभित्र उत्पन्न उद्वेगलाई बडो रोचक ढङ्गले प्रस्तुत गरिएको छ । यो कथाले समाज परिवर्तन गर्नु छ भने सबैभन्दा पहिला आफैबाट सुरु गर्नु पर्दछ भन्ने सन्देश दिन सफल भएको छ ।
समग्रमा भन्नु पर्दा फेक आइ डी किशोर कथा सङ्ग्रहका कथाहरू ग्रामिण परिवेशमा रचिएका छन् । घटना पात्र, सम्वाद, द्वन्द, जस्ता कथामा नभइ नहुने तत्वहरू कुनै कमी देखिदैन । कथा बनोटको शिल्प उत्कृष्ट देखिन्छ । त्यसकारण नेपालीभाषा साहित्यको किशोर समुहका पाठकहरूका लागि फेक आइ डी कोसेढुङ्गा बन्न सक्ने मैले देखको छु ।

पुस्तक – फेक आइ डी किशोर कथासङ्ग्रह
लेखक – मन्जु ज्ञवाली
प्रकाशक – विवेकशिलप्रकाशन
मुल्य – १५०।–

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक 

तपाइँको प्रतिक्रिया ।