चार थुम्काको पहिलो थुम्को ‘एक चोक्टा’

चार थुम्काको पहिलो थुम्को ‘एक चोक्टा’

कपन अनलाइन

काठमाडौं ,बैशाख २७ /परशुराम पराशर

वि.सं. १९९६ बैशाख १२ गते काठमाडौँको हाँडीगाउँमा जन्मिएका बी.डी.त्यागी (बलदेव आचार्य) ले नेपाली साहित्यको फाँटमा केही बिरुवाहरू रोप्ने काम गरेका छन् । उनी नेपाली साहित्यमा १०८ स्वामी गोपालानन्द गिरी परिचयात्मक काव्य, बन्द झ्यालको सिसा भित्र (कथासङ्ग्रह), उत्पात (उपन्यास), वैराग्य (नाटक) अठार अध्याय  गीता महात्मय, धोती न टोपी (लोककथा सङ्ग्रह), समृद्धि सपना (उपन्यास) लिएर आइसकेका छन् । उनले आफ्नै स्वरमा कवितात्मक एल्बम शुभेच्छा पनि ल्याइसकेका छन् ।

वि.सं. २०६० वैशाख १९ गते स्वर्गारोहण भएका त्यागीको हालसालै कपन–बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकले उनको उपन्यासहरूको सङ्ग्रह ‘चार थुम्का’प्रकाशनमा ल्याएको छ । यस ‘चार थुम्का’भित्र ‘एक चोक्टा’ (हास्यव्यङ्ग्य उपन्यास) र ‘उही सम्झना फेरि दोहोरिन्छ’, ‘प्रेमको बलिदान’ र ‘रुमलिएको जिन्दगी’ तीन ओटा सामाजिक उपन्यासहरू सङ्ग्रहित छन् ।

यिनै चार थुम्का भित्रका सबै थुम्काहरूलाई पाठकीय दृष्टिले सामान्य रूपमा अखने चलाउने प्रयास गरिएको छ । हरेक थुम्कालाई अलग–अलग रूपमा उधिन्ने जमर्को गरिएको हुँदा यसपटक भने चार थुम्का मध्येको पहिलो थुम्को ‘एक चोक्टो (हास्यव्यङ्ग्य उपन्यास) लाई उधिन्न पाखुरा सुर्किएर आएको छु ।
डी.बी. त्यागीद्वारा लेखिएको ‘चार थुम्का’उपन्यास मध्येको एक थुम्को हो ‘एक चोक्टा’ (हास्यव्यङ्ग्यउपन्यास) । यस उपन्यासमा मानिसमा भएको अमानवीयपन, बैँसको उन्माद, ठगीका करतुत, आडम्बारीपन, पतीत प्रवृत्ति आदि जस्ता खराब पक्षलाई अनेक दृष्टान्तका साथ पात्र पात्रबाट प्रवृत्त चरित्र मार्फत देखाइएको छ । पात्रबाट अतिवादी चरित्र प्रस्तुत गर्न लगाई हास्य रसलाई व्यङ्ग्यसँग घुलमिल गराइएको छ । त्यसै गरी मानव जीवनमा गर्ने, गरिने र हुने कार्यलाई खुल्मखुल्ला बताएर समाजको आडम्बरीपन स्पष्ट पारिएको छ । मानिस आफ्नो दुष्चरित्रलाई लुकाउन कृत्रिम साधनको सहारा लिन्छन् । अनेक शृङ्गारिक प्रसाधनहरूलाई प्रयोग गर्छ; अनेक प्रकारका फेसनहरू पहिरेर आफ्नो खराबीलाई छोप्न खोज्छन् । तर पनि सेतो कपडाले छोपिएको कालो मन एक दिन न एक दिन उदाङ्गिन्छ भन्ने देखाउन यो उपन्यास सफल देखिन्छ ।
मानिसले जति जे गरे पनि जस्तो जिन्दगीभोगे पनि, जत्ति सम्पत्ति, मान, इज्जत कमाए पनि घरका सानातिना कुराले र सानातिना खराबीले सबैलाई धुलिसात बनाउन सक्छ । घर बलियो हुनखाँबो–बलो, जग–पर्खाल आदि मात्र होइन त्यहाँ बस्ने हरेक सदस्यको सकारात्मक भूमिका आवश्यक देखिन्छ भन्ने यथार्थ पक्षलाई उपन्यासकारले छर्लङ्ग पारेका छन् ।

सानैदेखि कागतीको अचार सँग मात्र खाना खाइन्थ्यो, त्यसैले अहिले पनि त्यही चाहिन्छ भन्ने लिँडे जिकिर राख्नुभन्दा जीवन चलाउन त्यसको विकल्प खोज्नुपर्ने कुरा देखाउन सफल भएका छन् । उपन्यासकारले सम्पत्ति त आफ्ना लागि मात्र हो छोराछोरीका लागि उनीहरूले नै कमाइहाल्छन् नि भन्ने समेत देखाएका छन् । त्यसैले सात पुस्तालाई पुग्ने सम्पत्ति कुकृत्य गरी गरी कमाउनुको कुनै औचित्य छैन भन्ने बुझ्नुपर्ने भएको छ ।
बैँस सौन्दर्य र हाउभाउले चल्ने हो भने सम्पूण जीवन धीरता र अनुशासनले चल्ने हो । मानिस बैँसभरि मात्र जिउने त होइन, त्यस पछिको जीवनलाई चलाउन उसलाई गाह्रो पर्छ नै । बैँसको उन्माद र तडकभडक सधैँभरिलाई पुग्दैन । बैँसमा जस्तै बुढेसकालमा पनि हुन्न । दाँत छउन्जेल मात्र हो मकै खाने दाँत फुक्लेपछि त सातु पनि गला लाग्छ भन्ने यथार्थलाई मानिसले बुझ्नुपर्छ भन्ने मान्यता उपन्यासकारको हो । यही यथार्थलाई देखाउन र बुझाउन सफल उपन्यासकारले अश्लीलतालाई पनि आत्मसात गरे–गराएका छन् ।
एक जना पुरेतले आफ्नी पुरेतिनीलाई माता बनाएर धर्मका नाममा अन्धभक्त भनाउँदा उल्लुहरूलाई गोठाले किस्सा सुनाउनलगाई चुस्त सम्पत्ति कमाएका छन् ।

पुराण सुनाउने पण्डित बाजेले पुराणका भक्तहरूबाट प्राप्तदान– दक्षिणालाई भट्टीमा लगेर वेश्यालाई खुवाएको र आफू पनि जाँड, रक्सी, सुँगुरको मासु खाएर लडेको छ । यस्ता कुकृत्यको जालो समाजमा व्याप्त देखाएर लेखकले सामाजिक अति विसङ्गतिवाद प्रति व्यङ्ग्य गरेका छन् । लेखकले नारीको कुचरित्रलाई पनि घर, समाज बिगार्ने विषालु भाइसरको रूपमा औँल्याएका छन् ।
मानिसले के–के कार्य गर्छ, कस्ता–कस्ता अङ्गप्रत्यङ्गहरू छन् ?विवाह गरेपछि र बैशले मात्तिएको व्यक्तिले कस्ता–कस्ता सम्म कार्य र कुकृत्य गर्न सक्दछ भन्ने यथार्थलाई तितो प्रस्तुति दिएर यसमा देखाउन खोजिएको छ ।

यस उपन्यासका पात्रहरूमा कसैले कसैको चाकरी गरेका छैनन्, जे जस्तो देखियो त्यो ठाडो बोलेर खुल्लमखुल्ला बताएका छन् । कसैले कसैसँग चाप्लुसीको भाषा बोलेका छैनन् । अगाडि चाकरी चाप्लुसी गर्ने र पछाडि कुरा काट्ने प्रवृत्ति भन्दा अगाडि नै हाकाहाकी बोलेर, रुखो व्यवहार देखाएर मैलो पखाल्ने प्रवृत्तिले समाज सुधारिने मनोवृत्ति लेखकको देखिन्छ । मानिस जतिसुकै असल चरित्रको हुँभने पनि त्यो वास्तवमा उसले देखाएको चरित्र मात्र हो, आडम्बरीपन हो । प्रकृतिलाई विजय गर्छु भन्ने बडाबडा साधु महात्माहरू पनि यस मामलामा असफल भएका उदाहरणहरू समाजमा धेरै छन् । यस्ता आडम्बरीलाई ठाडो भाषामा नै पर्दाफास गर्ने कार्य यस उपन्यास मार्फत
उपन्यासकारले गरेका छन् । जवानी र सम्पत्ति छउन्जेलमात्र सबैले हाइहाइ गर्छन् त्यसपछि त आफू एक्लै हो भन्ने मानवीय चरित्रलाई यहाँ सुन्दर तरिकाले देखाइएको छ ।
यस उपन्यासमा प्रयोग गरिएको भाषा ठाडो छ । रुखो छ । जसरी भाषाको प्रयोग हुनुपर्थ्यो  त्यसरी गरिएको छैन । फोहोरी चरित्रका मानिसले बोल्ने भाषा नै यस उपन्यासको भाषा बन्नु सभ्य समाजका लागि अपाच्य बन्ने हो कि भन्ने ठाउँ प्रशस्त छन् । माता बन्नेले प्रवचन गरेका उच्छृङ्खल  कुराहरू  गोठाले चुट्किला मात्र हुन् भन्न सकिन्छ । नारीलाई हदैसम्म होच्याउने शब्दहरू प्रयोग गरिनुले उपन्यास पुरुष प्रधान बनेको हो कि भन्ने लाग्छ । कतिपय पात्रहरूको नाममा विरोधाभाष पनि पाइन्छ । वर्ण विन्यास र टङ्कणनको त्रुटिले उपन्यासमा हलुवामा बालुवा बनाएको छ ।
यति हुँदाहुँदै पनि यो उपन्यास सङ्ग्रहको पहिलो थुम्को ‘एक चोक्टा’ शिक्षाप्रद रहेको छ । तेरो र मेरो भनेर, आफ्नो सम्पत्ति र सौन्दर्यको प्रदर्शनी गरेर, जवानीको बिक्री गरेर होस् कि जसरी होस् कुकृत्यका साथ अकुत सम्पत्तिकमाउने, शक्ति र धाक जमाउनेले पनि अन्त्यमा सबै छोडेर एक्लै परमधाम जानुपर्छ भने यस उपन्यासका  पात्रहरूको जस्तो व्यवहार किन गर्ने भन्ने मूल सन्देश यस औपन्यासिक थुम्काले दिएको छ ।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक 

तपाइँको प्रतिक्रिया ।