“नगरकोटको सूर्योदय” किशोर साहित्यको उदय (संस्मरण)

“नगरकोटको सूर्योदय” किशोर साहित्यको उदय (संस्मरण)

कपन अनलाइन
काठमाडौं ,बैशाख २२ /गङ्गा कर्माचार्य पौडेल

समय गतिशील छ । प्रविधिको विकासले शिखर चुमिरहेको छ । कुनै बेला एक ठाउँबाट अर्को ठाउँमा चिठ्ठी पुर्याउन  परेवालाई तालिम दिइन्थ्यो भने अहिले पृथ्वीका जुनसुकै कुनामा बसेका मानिसहरुसँग चाहेको बेला तुरुन्तै कुरा गर्न, देख्न सकिने भएको छ । कोठाभित्रै बसेर संसारका गतिविधिहरु जान्न सकिन्छ ।

केही वर्ष अगाडिसम्म पनि विदेशका भएका विद्युतिय साधनका बारेमा सुन्दा हामीलाई कथाजस्तै लाग्ने गथ्र्यो । हिजोआज भने ती साधनहरुले हाम्रो जीवनमा पनि प्रवेश गरिसकेका छन् । जस्तैः रेडियो, टेलिभिजन, मोवाइल, कम्प्यूटर विनाको दैनिकी खल्लो मात्र हैन, कष्टकर नै लाग्न थालेको छ ।
त्यसै गरी प्रविधिकै विकास अन्तर्गत साझा शिक्षा इ–पाटी नेपाल नामको एउटा गैर सरकारी संस्थाले नेपालमा ई–लाईब्रेरी सञ्चालनमा ल्याएको छ । साझा शिक्षा ई–पाटीको मुख्य उद्देश्य पाठ्यपुस्तक पुर्याउन नसकिएका दुर्गम जिल्लाका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा पुर्याउनु र विश्वभर छरिएर रहेका नेपाली भाषा साहित्यका पाठकहरु सामु इन्टरनेट मार्फत छानी छानी साहित्यिक पुस्तकहरु पढ्न पाउने व्यवस्था मिलाउनु हो भन्ने कुरा २०६७/९/७ गते रसियन कल्चर सेन्टर कमलपोखरीमा आयोजित कार्यक्रममा सञ्चालक रवि कर्माचार्यले जानकारी गराउनुभयो ।

त्यति बेला मेरो मनमा एउटा प्रश्न उब्जियो ‘त्यसो भए अब हाम्रा किताबहरु बिक्री हुँदैनन् त ? कम्प्यूटरमै किताब पढ्न पाएपछि कसले पैसा खर्च गरेर किताब किन्नु ? तन, मन, धन, समय, खर्चेर कति मेहनत परिश्रम गरी प्रकाशित गरेका पुस्तकहरुमा अब कीरा, मुसाले गुँड लगाउने त हैन ?

त्यो प्रश्न मेरो मात्र नभई सम्पूर्ण स्रष्टाहरुको साझा प्रश्न थियो तर हामीमध्ये कोही बोल्न नपाउँदै कर्माचार्यजीले बडो चलाखीपूर्ण छिटोछरिटो जवाफ दिईहाल्नुभयो – ‘विदेशी मुलुकहरुमा ई–लाईब्रेरीको सुरुवात धेरै अगाडि भई सकेका भए पनि पुस्तक विक्रीमा कमी नआएका तथ्यांङ्कहरु छन् ।

हाम्रो नेपालको परिप्रेक्षमा पनि हालसम्म २००० भन्दा बढी बाल, प्रौढ साहित्यका पुस्तकहरु र अन्य विधामा रचिएका पुस्तकहरु, स्कूलका पाठ्यपुस्तकहरु ई–लाईब्रेरीमा समेटिएको भए पनि ती पुस्तकहरुको विक्रीमा कत्ति पनि कमी नआएको बरु विदेशमा बस्ने पाठकहरु बढेको भनेर आश्वस्त पार्नुभयो ।
उक्त कार्यक्रम आयोजक गणेश घिमिरेजीले ई–लाइब्रेरीमा अहिले बाल र प्रौढ साहित्यका किताबहरु मात्र राखिएको र किशोर साहित्यको अभाव भएको हुँदा यो कार्यक्रम किशोर साहित्य विशेष भएकोमा सबैको ध्यान आकर्षित गराउनुभयो ।

संस्थाको नाम साझा शिक्षा ई–पाटी, काम ई–लाइब्रेरी सञ्चालन, कार्यक्रम किशोरसाहित्य विशेष । सुरुमा त म नबुझेरै अलमलिएँ । किनभने ती तीनवटै विषय मेरा लागि नौला थिए । डा. चुडामणि बन्धु सरले कार्यपत्र प्रस्तुत गर्दा पो बल्ल कुरा बुझें ।

खासगरी मैले बाल–साहित्य रचना गर्दा ५–१० वर्ष ११–१४ वर्ष र १५ देखि १९ वर्ष उमेर समूहलाई लक्षित गरी लेख्ने गरेकी थिएँ । कार्यपत्रबाट थाहा पाएँ नेपालमा १३–१९ वर्ष समूहका बालबालिकालाई किशोरकिशोरी मानिएको रहेछ । अप्रत्यक्ष किशोरसाहित्यमा कलम चलाएकै रहेछु तर आफैलाई थाहा थिएन कारण अहिलेसम्म किशोर साहित्य भनेर छुट्याइएन ।

वरिष्ठ बाल साहित्यकार विनय कसजुले ‘यो भन्दा पहिले किशोर साहित्यको सम्बन्धमा छलफल, चर्चा, परिचर्चा, कार्यक्रम गोष्ठी केही पनि नगरिएको हुँदा यो नै पहिलो किशोरसाहित्य गोष्ठी भएको र यस कार्यक्रमले किशोरसाहित्यमा अति महत्वपूर्ण स्थान राख्दछ‘ भन्नुभयो ।

उहाँको कुरा सुनेर मैले मनमनै भने मलाई मात्र हैन औपचारिक रुपमा नेपालकै लागि किशोर साहित्य वास्तबमै नयाँ रहेछ । अधिकांश बाल साहित्यकारहरुको उपस्थिती रहेको उक्त गोष्ठीमा छिट्टै नै एउटा किशोरसाहित्य लेखन कार्यशालाको व्यवस्था गरिने जानकारी गराइ त्यस दिनको कार्यक्रम समापन गरियो ।

घरमा आएपछि मेरो मनभित्र अनेक प्रकार खुल्दुलीहरु मच्ची रहे । बाटोमा कोही किशोरकिशोरी देखेर भने पनि, बढी नै हेर्न थालेँ । तिनका हाउभाउ, बोली व्यवहारमा निगरानी राखेँ । तैपनि कसरी लेख्ने ? छेउ टुप्पो भेटिएन । देखेकै भरमा लेख्न सकिने पनि त होइन । लेख्नलाई गहन अध्ययन, शब्द संयोजन, प्रस्तुतीको उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ ।

एकपटक आफू किशोरी छँदाको उमेर सम्झेर दुई चारपाना लेखेँ तर त्यो संस्मरण पो हुन पुग्यो । अब कसरी लेख्ने त किशोरसाहित्य ? मनमा एक प्रकारको छटपटी भयो । कार्यशालामा भाग लिन पाए त हुन्थ्यो, केही उपाय मिल्थ्यो कि ? फेरि सोचेँ म त्यति नाम चलेकी लेखिका पनि त होइन । विगत ३२ वर्षदेखि बालबालिकाको क्षेत्रमा काम गर्छु ।

चार छ वटा बालसाहित्यका पुस्तकहरु प्रकाशित भएका छन् । त्यतिको आधारमा प्रशिक्षणको लागि छनौटमा परुँला त ? इत्यादि कुराहरु मनमा खेलाएर केही दिन अन्यौलमै बिताएँ ।

२०६७ माघ १८ गते विहान मोबाइलको घण्टी बज्नासाथ हतनपत उठाइहालेँ । साझा शिक्षा ई–पाटीबाट गणेश घिमिरेज्यू बोल्नुभयो । नमस्कारको आदानप्रदानपछि उहाँले महिना दिन अगाडि घोषणा गरिएको किशोरसाहित्य लेखन कार्यशाला गोष्ठीको याद गराउँदै भन्नुभयो ‘यही माघ २१ र २२ गते नगरकोटमा हुने कार्यशाला गोष्ठीमा तपाईलाई निमन्त्रणा छ,। तयार भई बस्नुहोला ।‘सुन्नासाथ म त खुशीले बुर्लुक्कै उफ्रिएँ । हवस् भै हाल्छ नि, भैहाल्छ नि, भैहाल्छ नी भनिरहेँ धेरैपटक । अरु शब्द सबै हराए, बोल्ने कुरै भेटिएन । उहाँले के सोच्नुभयो होला कुन्नि ? पछि सम्झेर एक्लै मरिमरी हाँसे ।

मलाई दुई दिन पर्खन पनि दुई महिना पर्खनु जत्तिकै लामो लाग्यो जति बेला पनि किशोर साहित्य कार्यशाला गोष्ठीको कल्पना मनमा आएर अरु विषयमा लेख्न कलमै सरेन ।
माघ २१ गते विहान ६ बजे नै म नगरकोट जान घरबाट प्रस्थान गरेँ । माघको जाडोबाट बाँच्न शरीरमा पत्रैपत्र लुगा लगाएर त्यसमाथि पछ्यौरा ओढेँ । खुट्टामा बाक्लो ऊनीको मोजा लगाएँ । रात बस्नुपर्ने भएकोले आवश्यक सामान झोलामा बोकेर चप्पल कारखाना धुम्बाराही पुगेँ । वरिष्ठ साहित्यकार गीता केशरीज्यू, आइसक्नुभएको थियो ।

एकछिन पछि लक्ष्मी उप्रेती आउनुभयो । धापासीबाट आउनुभएको रामबाबु सुवेदी सरको गाडीमा हामी पनि कोटेश्वर पुगेर ओर्लियौं । सडकछेउ लागेर उभिनासाथ एउटा दुरिष्ट लक्जरी कोच सरर्र गुड्दै हाम्रो नजिक आएर टक्क रोकियो । हामी पनि भित्र छि¥यौं । त्यसपछि हालै निर्माण सम्पन्न छ लेनको चिल्लो सडकमा सललल चिप्लेर कोच अगाडि बढ्यो ।

त्यतिबेला मैले मनमनै भने ‘नेपालका अरु सडक पनि यस्तै भए कति आरामदायी हुन्थ्यो होला यात्रा‘ त्यसै पनि साँगुरा छन् सडक । उसमाथि कतै पानीको पाइप ओछ्याउन भनी खन्छन् पुर्छन् फेरि ढलको लागि भनेर खन्छन । उसले पुरेपछि केवल लाइनको लागि भनेर खन्छन् । खनिनु र पुरिनुको नियति भोगिरहेको छ सडकले ।

त्यतिले नपुगेर जसलाई रीस उठे पनि सडकमै पोखाउँछन् । के राजनैतिक दल, के विद्यार्थी सबैको आक्रोस प्रदर्शन गर्ने, सरकार थर्काउने, आफ्ना माग पूरा गराउने थलो बनेको छ सडक । आज हिँडेर आएको बाटो भोलि जाँदा कुन हालतमा भेटिन्छ थाहा हुँदैन ।

हामी सल्लाघारीबाट हनुमन्ते खोलाको पुल तरेर भक्तपुर शहरलाई दायाँतर्फ छोडेर अघि बढ्दै थियौं । महादेव अवस्थीज्यूले रामबाबु सुवेदीतर्फ हेरेर भन्नुभयो ‘माई डियर १ यसरी चुपचाप बस्नु त भएन नि कविता सुनाउनुपर्यो  ।‘ माई डियर कुन चाहिँ कविता सुनाउँ ? रोज्न लाउनुभयो सुवेदी सरले ।

माई डियर पहिला त्यही ‘चम्चेहरुले डसें‘ कविवता सुनाउनुु्, अवस्थीज्यूले भनेपछि सुवेदी सरले सुमधुर स्वरमा कविता वाचन गरी सुनाउनुभयो । त्यस पछि पनि अवस्थीज्यूले कविता छान्ने सुवेदी सरले सुनाउने क्रम जारी रह्यो । उहाँका थुप्रै कविता सुन्न पाइयो । मलाई भने त्यही ‘चम्चेहरुले डसें‘ शीर्षकको कविता नै मनपर्यो किनभने म पनि चम्चेहरुको डसाइबाट पीडित छु । त्यसरी अवस्थीजी र सुवेदीसर बीचको माई डियर सम्बोधन आफैमा रोमाञ्चकारी रह्यो भने कविताले यात्रालाई झन् भरपुर मनोरञ्जन गरायो ।

जाँदै गर्दा मेरा आँखाहरु अचानक गाडीको झ्यालबाट फुत्त बाहिर निस्केर वरपरका हरियाली फाँटहरु चहार्न पुगें । परपरसम्म देखिने हरिया फाँट, बनपाखा, अन्नबाली झुलेका गरामा रमाउँदै गर्दा ठाउँ ठाउँमा खेती गरी खाने जग्गा बाझै राखी प्लटिङ्ग गरेको भेट्दा भने ढुङ्गामै ठेस लागे जस्तो भयो ।

वास्तवमा अहिले व्यवस्थित बसोवासका नाममा के तराई के मध्य पहाड जताततै जग्गा प्लटिङग आतंक फैलिएको छ । कृषि योग्य जमिनहरु धमाधम टुक्रिएका छन् । यस्तो दुस्प्रबृतितर्फ सरकारले बेलैमा ध्यान नपु¥याउने हो भने भविष्यमा अन्नका बाला झुल्ने जमिनमा कङ्क्रिटको जङ्गले ढाक्नेछ ।

मनका कुरा खेलाउँदा खेलाउँदै नगरकोटको चोकमा पुगियो । त्यहाँबाट फार्म हाउस जाने भनी दायाँ तर्फ मोडियौं । घना जङगलको बीचबाट कच्ची सडक हुँदै लक्जरी कोच ओरालो लाग्यो । फार्म हाउसको नाम सुन्नासाथ मैले मनमनै कल्पना गरेँ त्योभनेको कुनै सरकारी कृषि अनुसन्धानशाला होला ।

पोखराको लुम्ले, किर्तिपुरको बागबानी केन्द्रजस्तो । त्यहाँ लटरमै तरकारी फलाइरहेका होलान् अथवा थुप्रै फलफुलका बोटहरु होलान् । ढकमक्क फूलहरु फुलेर भँवरा भुनभुनाई रहेका होलान्, माहुरीका घार प्रसस्तै राखिएका होलान् आहा … कति रमाइलो होला त्यो ठाउँ । मनभरि एउटा कल्पना बोकेर गएको बेला मैले त्यहाँ पुगेपछि सोचेजस्तो केही पनि नपाउँदा खिस्रिक्कै परेँ । तर मैले मनको कुरा कसैलाई भनिनँ । खासगरी फाम हाउस एउटा होटलको नाम रहेछ ।

अन्य होटलमा पाइने सुविधा चाहिँ थियो त्यहाँ पनि । दुई तल्लाको रेष्टुराँ भवन, साना साना पहाडी डिजाइनका घरमा सभा–कक्ष, पाहुनाहहरु सुत्ने दुईतल्ले अर्को एउटा घर छुट्टा छुट्टै उभिएका देखिन्थे । खण्डै–खण्ड परेको जग्गा भएकोले एउटा घरबाट अर्कोमा जान खुड्किलाहरु चढ्नु ओर्लिनु पर्दथ्र्यो

जङगलको माझमा अवस्थित ती घरहरु पाहुनालाई स्वागत गर्न आतुर भएजस्तो लाग्दथ्यो किनभने हामीबाहेक अरु पर्यटक थिएनन् । पहिला चिया नास्ता खाएर सबै जना प्रशिक्षण कक्षामा प्रवेश ग¥यौं । सुरुमा परिचय कार्यक्रम रह्यो । प्रशिक्षार्थीहरुमा तारा पुन, कृष्णदीप सिग्देल, शौरभकिरण श्रेष्ठ, यशु श्रेष्ठ, लक्ष्मी उप्रेती, विजयराज आचार्य, अनन्तप्रसाद वाग्ले, अमर न्यौपाने, जनार्दन बराल, इन्द्रप्रसाद अधिकारी, रामबाबु सुवेदी, गीता केशरी, ध्रुव घिमिरे, ललिता दोषी, हिरण्यकुमारी पाठक, गङ्गा कर्माचार्य पौडेल थियौं भने प्रशिक्षकमा – डा. चु्डामणि बन्धु, विनय कसजु, महादेव अवस्थी आदि हुनुहुन्थ्यो । गणेश घिमिरे र गौरव थापा आयोजक समेत जम्मा २१ जनाको उपस्थिती थियो ।
विनय कसजुले देश –विदेशका किशोर किशोरीको अवस्था, समस्या, समाधानका उपाय, किशोर साहित्यले पारेका प्रभावका बारेमा भिडियो मार्फत प्रस्तुत गरी जानकारी गराउनुभयो ।

त्यसको साथै अब कसरी किशोरसाहित्य लेखनमा प्रवेश गर्ने भन्ने बारेमा लेक्चर दिनुभयो । औपचारिक रुपमा नेपाली किशोरसाहित्य कार्यशाला यो नै पहिलो भएको दावीसमेत गरी यो भन्दा पहिला कसैले किशोर–किशोरीलाई लक्षित गरी पुस्तक लेखेको भए त्यसलाई किशोर साहित्य नमान्ने भन्ने चाहिँ होइन भन्न चुक्नुभएन ।

प्राज्ञ महादेव अवस्थीजीले किशोरसाहित्यमा भाषाको संयोजन राम्रो हुनुपर्ने र किशोरकिशोरीले ती रचनाहरु पढ्दा रुचिकर हुनुपर्ने कुरामा जोड दिनुभयो साथै किशोरकिशोरीलाई भाषा सम्बन्धी सचेतना पनि बढाउन सक्ने खालका किशोरसाहित्य लेखिनुपर्छ भन्नुभयो ।

डा. चुडामणि बन्धुले कार्यपत्रको रुपमा लिखित तथ्याङ्कहरु पेश गर्दै नेपालमा भएका किशोर किशोरीको सङ्ख्या तिनका शारीरिक, मानसिक, सामाजिक अवस्था, परिवार र सङ्गतबाट परेको प्रभावका बारेमा स्पष्ट पार्नुभयो ।

आगामी दिनमा किशोरसाहित्य लेखिँदा पहिला अध्ययनको खाँचो पर्छ भन्नुभयो । उहाँले प्रशिक्षार्थीहरुलाई आफू किशोर छँदाको कुनै घटना सम्झेर प्रस्तुत गर्न लगाउँदा कसैले आफ्नै कक्षामा पढ्ने केटीलाई चिठ्ठी लेखेर दिँदा गाला रातो हुने गरी चड्कन पाएको कुरा सुनाएर हँसाउनु भयो भने कसैले आफू भर्खर तेह्र वर्षको हुँदा पितालाई दागबत्ती दिनुपरेको घटना सुनाएर रुवाउनुभयो ।

कसैले फोटो ग्राफर पछि लागेर जति फोटो खिचे पनि पैसा तिर्न नपरेको बैशमा स्याल पनि घोर्ले हुन्छ भनेको उखानको चरितार्थ खोल्नुभयो । कसैले जुन लागेको रातमा भोगटे चोर्न जाँदा कुकुरले टोकेर झण्डै मारेको रोमाञ्चकारी घटना सुनाउनुभयो भने कसैले घोडा चढ्ने गरेको साहसिक कार्यको बयान सुनाउनुभयो ।

सबैको प्रस्तुती सुनिसकेपछि प्रतिक्रिया व्यक्त गर्र्दै डा. चुडामणि बन्धु सरले भन्नुभयो किशोरवस्था जीवनकै सङक्रमण कालिन अवस्था भएकाले बिठ्याई र उपद्रो बढी गरिने हुन्छ तापनि भर्खर बालावस्था पार गरी युवावस्थामा प्रवेश गर्दै गर्दा अझ बढी जिज्ञासु हुने गर्छन् त्यसैले यो बेला नजानेका कुरा सिक्ने उमेर पनि हो ।

दुई बजे लन्चब्रेक पछि पूनः ४ः३० सम्म प्रशिक्षण कक्षामै व्यस्त भयौं । साँझको खानपानपछि अवस्थीजी र सुवेदीजीको कोठामा जम्मा भएर नाँचगान सुरु गरेँ । सबैभन्दा पहिला ध्रुब घिमिरेले भाका हाल्दै गाउनुभयो ‘सोह्र बर्षे उमेरैमा मै पनि झिल्के हुुँदो हुँ अहिले पो बुढो भयो र हा अहिले पो बुढो भयो र … । उहाँलाई कोठामा भए भरका सबैले साथ दिए ।

यशु श्रेष्ठ, विजयराज आचार्य लगायत युवा स्रष्टाहरु कम्मर भाँचीभाँची नाँचे । पाको उमेरका स्रष्टालाई पनि हात समातेर आफूसँगै नचाए । एक घण्टासम्मको घुमघाम रमाइलोपनि हामी सबै जना आ–आफ्ना कोठामा गयौं । दुईवटा छुट्टाछुट्टै ओछ्यान, दराज एट्याच बाथसहितको फराकिलो र सुविधायुक्त थियो कोठा । म र ललिता एउटा कोठामा, गीता केशरी र हिरण्यकुमारी पाठक एउटा कोठामा । त्यसैगरी अरु पनि दुई दुई जना बाँडिएर बस्यौं ।

भोलिपल्ट विहान ७ बजेदेखि नै क्लास सुरु हुने भनिएकोले पूनः प्रशिक्षण कक्षतर्फ लागियो । माघको जाडो नगरकोटको डाँडा हावा सिरसिरसिर चलिरहने भएकोले चिसो महसुस भए पनि प्रशिक्षण कक्षको ढोका अगाडि नै चियानास्ताको व्यवस्था गरिएकाले तात्तातो चियाको अगाडि जाडोले हार खानु प¥यो । त्यसमा पनि कक्षा कोठा न्यानो थियो ।

त्यसदिन दुुई बजेसम्म नबुझेका कुरा छलफलमा आफूले कसरी किशोरसाहित्य लेख्न भनेर विचार प्रस्तुती लगायत एकएक विषयमा किशोर उपन्यास लेख्ने योजना बन्यो । मैले मनमनै भने नगरकोटको आजको सूर्योदयसँगै किशोर साहित्यको पनि उदय भयो । हाल बाल साहित्य जति झ्याङ्गिएर गएको छ । त्यसैगरी निकट भविष्यमा किशोरसाहित्य पनि फस्टाएरै जानेछ ।

शहरको धुँवा धूलोदेखि मात्र नभई मानववस्तीबाट अगल जङ्गलको माझमा अवस्थित फाम हाउसमा बसेर दुई दिनसम्म स्वच्छ हावा फोक्सोमा भरी दुई बजेको लञ्चपछि दुई वर्ष आयु लम्बाएर म नगरकोटसँग बिदा भएँ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक 

तपाइँको प्रतिक्रिया ।