ट्रम्प – कोरोना सम्वाद (कविता)
कपन अनलाइन
काठमाडौं ,बैशाख २२ /त्रिलोचन आचार्य
खति पनि अति गर्दा कोरनाले डुलेर
कल तब गरिहाले ट्रम्पले झोक्किएर
छल अनि फल के भो लेख्दिएको छु मैले
यदि मन परिहाले पढ्नु होला सबैले ।
ट्रम्प : ए कोरोना? ………………
कोरोना : …. हजुर ? कसरी आज यो फोन आयो
मै आफैँ हूँ कि अरु अरु नै लौन दुःस्वप्न छायो
“हो मै, हेल्लो” किन नि यसरी ट्रम्पज्यू सम्झना भो
ट्रम्प : यौटा बार्ता तँ संग नगरी बस्नु बेकारझैँ भो ।
कोरोनाः हामी सानासंग हजुरको हुन्छ सम्वाद कस्तो ?
ट्रम्प : तैँले गर्दा सब हुन गयो आज बर्वाद यस्तो
कोरोना : ओहो हो राष्ट्रपतिज्यु छु है भित्रभित्रै लुकेको
जो जो पर्लान् नजिक तिनमा घुस्न बाटो ढुकेको ।
ट्रम्प : जा जा अन्तैतिर बरु भिसा छैन घुम्ने तँलाई
कोरोना : भो चाहिन्नन् अनुमति कुनै छिर्न चाहे मलाई
भेट्छन् साथी जब नजिकमा भित्र घुस्दै म सर्छु
जो टाँस्सिन्छन् फगत तिनमै चढ्छु यात्रा म गर्छु ।
ट्रम्प : बाठो रैछस्, तब त भरिया लाख लाखौँ बनाईस्
मैन्हा दोटा पनि त नहुँदै विश्व यो ढाक्न भ्याइस्
गर्छस् सर्ने पनि लुसुलुसू देख्खिने आँट छैन ?
धर्तीमा क्यै विपत नगरी रोक्किने छाँट छैन ?
नाथे सानो निरिह भुसुना चल्छ तेरो घमण्ड ?
ठाडो हेर्ने मसंग जति छन् पाउँछन् मृत्युदण्ड
लाग्यो लादेन र कसरी गो था छ सद्दाम जस्तो
सूलेमानी अनि अरु सयौँ पारिए मृत्यु कस्तो ?
मार्छस् मान्छे तँ पनि त्यसरी होस् कि आतंककारी ?
नाकाबन्दी पनि गरिदिए कुद्न सक्छस् भिखारी ?
देख्लास् खाते पछि पछि यहाँ पर्छ तेरो बिचल्ली
लागिस् गर्नै तुजुक अति भो बन्द गर् हल्लिखल्ली ?
कोरोना : ओहो कस्तो रिस हजुरको कत्ति थर्काउने हो ?
नाँना भाँती गफ सफ दिँदै द्वन्द्व चर्काउने हो ?
हल्लन्छन् ती गरिब जसले आश पालेर बाँच्छन्
स्वस्ती गर्दै निहुरिन परोस् लाज मारेर बाँच्छन् ।
ठान्छन् ठूलो हजुरसरिको छैन कोही धरामा
सक्नेकै हुन् निरिह पछुवा सृष्टिको श्रृङ्खलामा ।
ट्रम्प : भो भो लाग्छस् अझ मुख मुखै फ्याउरो व्यर्थ को तँ ?
देख्लास् मेरो बल कति ?
कोरोना : …………छ. त्यो छुन्न सम्पूर्ण क्यै म ।
हो हो धेरै धन छ बम छन् गर्छु स्वीकार सारा
जानेरै त्यो तब लुसुलुसू गर्छु संहार यार
छाती ङ्याक्दै हल चल हुनै दिन्न पोल्दै ज्वरोले
के गर्छन् बन्दूक सहितका शस्त्रले बन्चरोले ?
ट्रम्प : पाली हिँड्ने यमदुतहरू गर्नु राम्रो भएन
मेरै मान्छे पनि भुसुभुसू मर्नु राम्रो भएन
कोरोना : मेरो गल्ती कुन छ र लगे आउँदै ती बुहान
कुद्छन् धेरै लसपस गरी गर्दछन् खानपान ।
बन्दाबन्दी पनि गर भनेँ टेर्न छाडे फिटिक्क
हातै धोईकन बस भनेँ मान्दछन् त्यो नि ! दिक्क ।
पा¥यौ यौटै घर सरहका देश सारा धराका
जुट्ने भै गो अनि सब कुरा के यताका उताका ?
ट्रम्प : हो हो जान्ने नहुनु यसरी ………..
कोरोना : …………………………देखियो जे भनेँ त्यै
ट्रम्प : मैले क्यै औषधि पनि यसो सम्झिएको दिएँ है ।
झिक्छन् धेरै सुझबुझ यहाँ डाक्टरी क्षेत्रकाले
को कुर्ने त्यो दिन दिन सबै त्रासले मर्न थाले
कोरोना : थुन्छौ मैलाइ पनि छ ममा ज्ञान त्यो …..
ट्रम्प : ………………………. दिक्क पारिस्
मान्छे मेरा थुरुरुरु भए, ड्याम्म भैँमा लतारिस् ।
भो भो त्यस्तो अति त नगरेस् यत्ति बोलौँ भनेर
हानेको हूँ कल नहुनु है मख्ख ठालू बनेर
कोरोना : साह्रो गाह्रो समय छ, छु है अस्त औ व्यस्त आज
लौ लौ माहामहिम म भएँ धन्य, औै धन्यवाद ।
गर्दा नि ! बात दुइ निख्खुर शक्तिशाली
निस्केन खै घिउ रहे सब हात खाली
मान्छे भए अति यहाँ पनि ठानियो कि ?
झन् विश्वयुद्धतिर नै युग हानियो कि ?
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक