फर्किनेहरुलाई प्रश्न ? (कविता )

फर्किनेहरुलाई प्रश्न ? (कविता )

कपन अनलाइन

काठमाडौं ,बैशाख २२ /बैरागी जेठा

हिजो शहर आएर भद्रगोल बनाए
आज फर्किरहेछन् उनीहरु
रोग फैलिएको हल्ला आउँने वित्तिकै
तिनीहरुले शहर छोड्नु पथ्र्यो
थुप्रै स्वरहरु, विरोध र समर्थनमा उडिरहेछन्
कोही चौकामा पञ्जा हानिरहेछन्
कोही खान नपाएर चिच्याइरहेछन
तिनका भावनाले घोच्छ
अरलिका काँडालेझैँ चिथरीरहेछ
भोकले फर्से भ्यागुत्ता भएकाहरु
निद्रा बिथोलीरहेछन्

क¥याङकुरुङ संगीत बजाइरहेछ
उनीहरु चौरमा, बाटामा पल्टिरहेछन्
जबरजस्तीको यात्रामा
उनीहरु गाउँ फर्किएकाछन्
चियानझैँ सुनसान छ शहर
बचेखुचेका भीडहरु
छुचुन्द्राका तालमा निस्कन्छन्
उत्तेजना गराउँदै, डोबाटाहरुलाई
गौँडामा उभिएका बर्दिधारीहरु
थकित थकित देखिन्छन्

गाउँ फर्किएकासँग कुनै विश्वास छैन
उनीहरुको चेतना उनीहरुसँगै मरिरहेको छ
यतिबेला कसैलाई भेट्नु हुन्न
तैपनि उनीहरु हिँडीरहेछन्
आपसमा कुरा गर्नुहुन्न थाहा हुँदाहुँदै पनि
लकडाउनमा ढुक्क भएर
हावामा स्वास फ्याँकिँरहेछन्
विश्व शोकमा डुबीरहेछ

उनीहरु, फर्किएका छन् गाउँ
पैसा भएरपनि पैसा नभएका मालिकझैँ
सुतिरहेका मान्छे देखेर, हिनहिनाएर हाँसो उठ्छ
क्रन्दन जाग्छ
साथीहरुसँग टाढा रहनु पर्ने
आजको समय
उनीहरु साथीसँगै बाटोलागिरहेछन्
तिनका मान्छे, तिनीहरुको पर्खाइमा छैनन्
यसबेला
उनीहरुसँग पछिपछि कोरना हुन सक्छे
मृत्युलाई जित्न कठिन छ भन्ने जान्दाजान्दै पनि
गिट्टी छरिएझैँ असरेल्ल छरिएका छन्
लकडाउनमा
आशङ्काले ओड्नी ओडिरहेको बखत
किन यात्रा गरिरहेछन्
जहाँ थिए, त्यहीँ ठीक थियो नी
भोक फ्याँक्दै, सडेको चाउचाऊ टोक्दै
नफर्किएको भए हुन्थ्यो, ति मान्छेहरु
कोरनाले विश्व निल्न खोजिरहीछ
भन्दा भन्दै, ननिस्केको भए हुने
पागलझैँ बौलाएका मानिसहरु
देखेर गम्भिर छ आँखा ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक 

तपाइँको प्रतिक्रिया ।