लकडाउनको समयलाई सृजनात्मक बनाउदै भ्याली पब्लिक माध्यामिक विद्यालय बूढानिलकण्ठ–८
कपन अनलाइन
काठमाडौं ,बैशाख १८।
विश्वभर फैलिएको कोरोना भाइरस( Covid 19) ले सबैलाई प्रत्यक्ष प्रभाव पारेको छ। सिङ्गो विश्व नै यस महामारीका कारण ठप्प बन्न पुगेको विषम परिस्थिति अहिले रहेको छ। यसको प्रत्यक्ष प्रभाव विद्यालयहरुमा पनि परिरहेको छ। घरमा रहेका विद्यार्थी तथा शिक्षकहरुलाई जोडेर यस समयलाई उपयोगी बनाउनका लागि भ्याली पब्लिक माध्यामिक विद्यालय बूढानिलकण्ठ–८, सुन्दरबस्तीले धेरै रचनात्मक र सिर्जनात्मक कामहरु निरन्तर गरिरहेको छ।
भ्याली पब्लिक माध्यामिक विद्यालयले Covid 19 को कारणले गर्दा शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षा केही समय अगाडि बाट शरूु भई चैत ५ गते सम्पन्न गरेर सो परीक्षाको नतिजा बैशाख १२ गते अनलाइनबाट नै प्रकाशित गर्दै लकडाउन शुरू भएको केहि दिन भित्रमा नै एसईई तयारी गरिरहेका विद्यार्थीहरूका लागि अनलाइन कक्षाहरू नियमित रूपमा सञ्चालन गरिरहेको छ ।
एसईई तयारी गरिहरेका विद्यार्थीहरूलाई मात्र नभएर कक्षा नर्सरी देखि कक्षा दशसम्म अध्ययन गर्ने विद्यार्थीहरूलाई हरेक दिन नियमित रूपमा अनलाइन कक्षाहरू सञ्चालन गर्दै आएको विद्यालयले कक्षा शिक्षक र विषय शिक्षकहरूले नियमित रूपमा अभिभावकहरू सँग फोनमा संवाद गरी विद्यार्थीहरूहरूलाई घरायसी एवंम् सिर्जनात्मक काममा लाग्न प्रेरित गरिरहेको विद्यालयका प्रधानअध्यापक कृष्ण प्रसाद अधिकारीले बताएका छन।
सो विद्यालयका शिक्षकहरूले विद्यार्थीहरूलाई खाना पकाउने, तरकारी केलाउने, घरको सरसफाइ गर्ने, आफ्ना लुगा आफै धुने , आफ्नो बिस्तारा आफै मिलाउने, अभिभावकहरूलाई माया र सम्मान गर्ने, आफन्तहरू सँग फोनमा कुराकानी गर्ने, सबैलाई Covid 19 को बारेमा जानकारी गराउने र सुरक्षित रहने उपायहरू बताउने जस्ता व्यवहारिक ज्ञान बढाउन प्रेरित गरिरहेको विद्यालयले जानकारी दिएको छ।
अभिभावक मार्फत् र विद्यार्थीहरू सँग नै प्रत्यक्ष कुराकानी गरी करेसाबारी वा बारीमा तरकारी रोप्ने, गोड्ने, फलफुल बिरूवाहरू रोप्ने, सड्ने र नसड्ने फोहोर छुट्याउने जस्ता काम गर्न लगाई विद्यार्थीहरूको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न पहल गरेको भ्याली पब्लिक माध्यामिक विद्यालयले तहगत रूपमा अनलाइन मार्फत् नै कविता लेखन, निबन्ध लेखन, कथा लेखन, चित्रकलाका साथै कोरोना कहर सँग सम्बन्धित विभिन्न रचनाहरू तयार गर्न लगाई पुरस्कृत गर्ने योजना बनाएको प्रधानअध्यापक कृष्ण प्रसाद अधिकारीले जानकारी दिएका छन।
अनलाइनबाट विद्यार्थी भर्ना गर्ने, शिक्षकहरूसँग नियमित रूपमा बैठक बस्ने, शिक्षकहरूलाई तालिम प्रदान गर्ने, दैनिक पाठयोजना बनाउने, विद्यालयलाई पूर्ण रूपमा आधुनिक प्रविधिसँग जोड्ने, अभिभावकहरूलाई अभिभावकीय शिक्षा प्रदान गर्ने, गरेर–हेररे र खेलेर सिक्न सक्ने विधिको उपयोग गर्ने जस्ता रचनात्मक काम लकडाउनको समयमा भइरहेको बताउदै विद्यालयका प्रधानाध्यापक अधिकारीले आजको सूचना र प्रविधिको युगमा जो प्रविधिबाट टाढा रहन्छ, त्यसले समयानुकूल शिक्षा प्राप्त गर्न नसक्ने हुनाले आधुनिक प्रविधिसँग परिचित हुन आग्रह गरेका छन ।