वातावरणका साधन र साध्य जनता हुन्

वातावरणका साधन र साध्य जनता हुन्

कपन अनलाइन 

काठमाडौं ,बैशाख ६ /शीतल गिरी

विश्व वातावरण दिवस हरेक बर्षको जुन ५ का दिन विभिन्न कार्यक्रमको आयोजना गरी मनाइन्छ प्रत्येक बर्ष संयुक्त राष्ट्र वातावरणीय कार्यक्रमले जनचेतना जगाउने खालको नारा तय गरेर विश्व वातावरण दिवस विशेषरूपमा मनाउन विश्व समुदायसमक्ष अपिल गर्दछ । मानव जीवनसँग प्रत्यक्ष वा परोक्ष सम्वन्ध राख्ने वातावरण दिनहुँ बिग्रिँदै जानाले मानवको अस्तित्व नै संकटमा पर्ने सम्भावना बढेको छ । निश्चय पनि पृथ्वीमा बसोबास गर्ने प्राणी वातावरणमा नै आश्रित हुनुपर्दछ ।

प्राकृतिक तथा सांस्कृतिक सम्पदाको मनोरमले नेपाललाई विश्वमा नै चिनाएको छ । गरिबी, मन्द आर्थिक वृद्धि, अधिकतम जनसंख्या वृद्धि, अव्यवस्थित सहरीकरण, सम्पदा स्थलहरूको मर्मतसम्भार तथा संरक्षणको अभाव, वातावरणीय शिक्षाको अभाव, विकास योजना तर्जुमा र कार्यान्वयनमा वातावरणीय पक्षलाई ध्यान नदिनु जस्ता कारणहरूले गर्दा भूक्षय, मरुभूमीकरण, अतिवृष्टि, अनावृष्टि, जैविक विविधतामा ह्रास तथा माटोको उर्वरा शक्तिमा ह्रास आउन थालेको छ ।

नेपालमा ९० प्रतिशतभन्दा बढी दाउरा, काठ, पशु आहार तथा घरायसी प्रयोजनका लागि चाहिने अन्य वनजन्य पदार्थहरू प्रत्यक्षरूपमा वनजंगलबाटै प्राप्त हुने हुँदा मन्द आर्थिक वृद्धि र बढ्दो जनसंख्याले यो चाप अझ बढ्दै गई वनजंगल अतिक्रमण भई कृषि उत्पादकत्वमा पनि ह्रास आउन थालेको छ ।

भिरालो तथा पहाडी सिमान्त भूमिमा समेत अवैधानिकरूपमा खेतीपाती गरिनाले भूसतहको क्रमशः विनास हुँदै गएको देखिन्छ । जनसंख्या वृद्धि, गरिबी र वातावरणबीचको अन्तरसम्बन्धका बारेमा बेलाबखत विभिन्न गोष्ठि एवं सभासमारोहहरूमा चर्चा परिचर्चा हुने गर्दछ । तर त्यस्ता सभासमारोहहरूबाट खासै उपलब्धी भने हासिल गर्न सकिएको छैन ।

एकातर्फ जनसंख्यालाई उचित व्यवस्थापन गर्न नसक्दा वातावरणीय सन्तुलनमा नै असर पर्न गएको छ । नेपालमा ८० प्रतिशतभन्दा बढी जनसंख्याको बसोबास ग्रामीण भेगमा छ । ग्रामीण विकट भेगमा बस्ने परिवारहरूको दैनिक आवश्यकताको पूर्ति पनि वातावरणबाटै हुन्छ । आज खाए भोलि के खाऊँ भन्ने समस्या बोकेर हिडेकाहरू जतिसक्दो आफ्नो बिहान बेलुकाको गर्जो टार्नेतर्फ नै अग्रसर हुन्छन् ।
भविष्यप्रति भन्दा पनि वर्तमानप्रति उनीहरूको ध्यान केन्द्रित हुने अवस्थामा रहेका जनसंख्यालाई राज्यले समयमा नै समाधान गरेन भने भविष्यमा झन् डरलाग्दो समस्यातर्फ धकेलिने निश्चित छ । दिगो विकासका

लागि वातावरणीय व्यवस्थापन तथा आर्थिक विकासबीच परिपूरक र परिपोषक अन्तरसम्वन्ध रहनुपर्ने भएकोले केन्द्र तथा स्थानीय स्तरको विकास आयोजनाको तर्जुमा र कार्यान्वयनमा वातावरणीय दृष्टिकोणबाट पनि हेरिनु आवश्यक भएको छ ।

वातावरणमा खलल पार्न सक्ने ठूला भौतिक निर्माण एवं औद्योगिक विकासका कार्यहरूमा योजना तर्जुमा गर्दा नै वातावरणीय नकारात्मकतालाई न्यून बनाउने कार्यक्रमहरू समावेश गरिनुपर्छ । वातावरणीय व्यवस्थापनका लागि विस्तृत कानूनी आधारहरू तयार पारी लागू गनुपर्दछ ।
यस्तो कानुन तयार पार्दा दिगोपनलाई सर्वोपरी उद्देश्य मानी वातावरणीय नीतिमा एकरुपता ल्याई सबैलाई कानूनी दायरामा तान्न सक्नुपर्दछ । वातावरणका साधन र साध्य जनता नै भएकोले वातावरणीय स्रोतहरूको संरक्षण र संवद्र्धन गर्न जनसहभागिताबेगर सम्भव नहुने हुँदा समाजका हरेक तहसम्म जनचेतना जगाउनुपर्छ ।

जसलेगर्दा बढीभन्दा बढी जनसंख्यालाई वातावरणीय चेतना जगाउन सकियोस् । अझ लक्षित वर्ग र समूहको पहिचान गरी उनीहरूकै प्रत्यक्ष सहभागितामा कार्यक्रमहरू संचालन गर्न सकेको खण्डमा एउटा सानो सफलता अवश्य पनि हासिल गर्न सकिन्छ ।

अतः नीति नियमको माध्यमबाट होस् अथवा जनचेतना जगाएर होस् जनसंख्या वृद्धि नियन्त्रण गरी वातावरणीय सन्तुलन कायम गराउन अघि बढिएन भने वातावरणीय असन्तुलनताले मानव जातिलाई भविष्यमा नराम्रो असर पार्नेछ ।

(साभार :कपन बानेश्वर साहित्यिक साप्ताहिक )

तपाइँको प्रतिक्रिया ।