सारथी पाठशालामा अन्तर सदनात्मक वादविवाद प्रतियोगिता सम्पन्न
कपन अनलाइन
काठमाडौँ, साउन ३०/सपना नेपाली
सारथी पाठशालाले बिहिवार विद्यालयको सभा हलमा भव्य रूपमा अन्तर सदनात्मक वादविवाद प्रतियोगिता सम्पन्न गरेको छ।
चारवटै सदनका कक्षा ४ देखि ९ सम्मका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको प्रतियोगिता दुई समूहमा विभाजन गरी आयोजना गरिएको थियो। जुनियर समूह (कक्षा ४–६) का लागि “विद्यार्थीका लागि इन्टरनेट वरदान कि अभिशाप” र सिनियर समूह (कक्षा ७–९) का लागि “वैदेशिक रोजगारीभन्दा स्थानीय रोजगार बेस” शीर्षकमा वादविवाद गराइएको थियो। सहभागीहरूलाई पक्ष र विपक्षमा विभाजन गरी प्रत्येक सदनबाट दुई–दुई जनाको टोली तयार गरिएको थियो।
प्रतियोगिताको निर्णायकमण्डलमा शैक्षिक विभाग प्रमुख कैलाश भुजेल, नेपाली भाषा शिक्षिकाहरु द्वय यसोदा खत्री र दीपा रिसाल हुनुहुन्थ्यो । निर्णायकहरूले प्रस्तुतीकरणको प्रभावकारिता, तथ्यको प्रयोग, तर्कको स्पष्टता, भाषण शैली र समय व्यवस्थापनका आधारमा अंक प्रदान गरेका थिए। कार्यक्रमको सञ्चालन कक्षा ६ की अनुस्का रोक्का र समय पालकको जिम्मेवारी बसन्त परियारले गरेका थिए। प्रतियोगितामा सिनियर समूहतर्फ रातो सदनको उत्कृष्ट प्रदर्शन रह्यो।
कक्षा ८ की आस्था श्रेष्ठले प्रभावशाली तर्क प्रस्तुत गर्दै प्रथम स्थान हात पारिन् भने रातो सदनकै रिता लाभड (कक्षा ६) ले द्वितीय स्थान सुरक्षित गरिन्। निलो सदनका प्रदीप दर्नाल (कक्षा ८) ले पनि दमदार प्रस्तुति दिँदै तृतीय स्थानमा आफ्नो स्थान बनाएका थिए। जुनियर समूहमा भने हरियो सदनका राजु परियार (कक्षा ६) उत्कृष्ट अभिव्यक्तिका साथ प्रथम स्थानमा रहन सफल भए।
रातो सदनकी दिपा सुनारले द्वितीय स्थान जितिन् भने सोही सदनकी अक्सा दर्जी (कक्षा ६) ले तृतीय स्थान हासिल गरिन्। समापन सत्रमा बोल्दै शैक्षिक बिभाग प्रमुख कैलाश भुजेलले यस्ता प्रतियोगिताहरुले विद्यार्थीहरुको सार्वजनिकरुपमा निर्धक्क भएर बोल्ने क्षमता र आलोचनात्मक सोचको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले विजेता तथा सहभागी सबैलाई बधाई दिँदै प्रतियोगिताको औपचारिक समापन गरेका थिए।
(सपना नेपाली सारथी पाठशालामा अध्ययनरत कपन अनलाइनकी प्रशिक्षार्थी पत्रकार हुन् )
