दारी (कविता )

दारी (कविता )

कपन अनलाइन

काठमाडौं ,बैशाख ४/धर्म पोखरेल

कोरोनाले अति भयसँगै एक सन्देश ल्यायो
लाखौँ मान्छे पल पल ढले विश्वले चेत पायो
तालाबन्दी मुलुकभरि भो मौलियो मात्र दारी
सुक्दै आए तन मन दुवै प्रीतको फूलबारी ।।

पोक्चे गाला मल बिउबिनै झ्याङ्गिए देख्छु झार
के सक्ला यो असल कविको छोप्न राम्रो विचार ?
कोही भन्छन् अझ अजिबका देखिए पुक्क गाला
कोही छ्याँस्छन् मगज सडियो ? चाउरी पर्छ छाला ।।

कोरोनाले यदि मन गरे बस्न गर्ने छ आँट
छिस छिस यस्तो अब अति भयो चट्ट पारेर काट
कोही भन्छन् गजब हरियो देखियो एक टार
काँक्रा फर्सी मलजल गरी रोप लौका उमार ।।

मान्छेजस्तै कतिपय अरू जीवको हुन्छ वास
धर्ती मास्ने हक छ कसको ? हुन्न मास्दै नमास
हेरौँ हेरौँ नवयुवकझैँ रूप देखिन्छ नौलो
गर्छन् यात्रा उडुस, उपियाँ, विश्व यात्रा सुनौलो ।।

दारीबाटै शिरतिर पुगे भिन्न ब्रह्माण्ड देख्लान्
नौला तारा उपग्रहहरू अन्य आकाश लेख्लान्
काला दारी कलकल भए हाँस्छु हेर्दै मुसारी
सेता दारी लहलह भए ठान्छु यो काँसघारी ।।

राम्रा लाग्छन् कमलनयनी पैरिँदा चट्ट सारी
त्यस्तै राम्रो कम वय हुँदै पालिए सौम्य दारी
सुश्रूषामा गडबड भए मात्र चिन्ता छ दारी
हुन्नन् चिन्ता खुरुखुरु हिँडूँ चिन्तनैमा उतारी ।।

(साभार :कपन बानेश्वर साहित्यिक साप्ताहिक)

तपाइँको प्रतिक्रिया ।