कोरोनाले कुँजिएको कविहरुको कलम !
कपन अनलाइन
काठमाडौं ,चैत ३०/पुन्यराज पुडासैनी
लकडाउनको दोश्रो चरणमा स्थानीय तहहरु अहिले राहत वितरणको काममा सक्रिय रहेका छन। प्रकोप नियन्त्रण र रोकथाम अभियानको मैदानमा अहिले जनप्रतिनिधि ,सुरक्षाकर्मी ,संचारकर्मी र त्यो लडाइको अविश्राम सिपाही बनेर स्वास्थ्यकर्मीहरु लडिरहेका छन। अनि बाँकि सबै घर भित्र बसेर अदृश्य शत्रुको प्रहार परास्त गर्नका लागि लडिरहेका छन।
विश्वले नै भोगिरहेको यस विषम परिस्थितिमा बदलिएको मनोविज्ञान र फेरिएको सम्बन्ध परिभाषा सायद अहिले मानव जातिनै कल्पना गरे भन्दा फरक बनेको छ र केहि पुस्ताहरुले हेर्दै ,भोग्दै र अध्ययन गर्दै आएको दृश्य एकाएक फेरिएको छ। अनि बदलिने संघारमा छ दर्शन र बिज्ञानको परिभाषा।
संसारले यस भन्दा अगाडी पनि धेरै महामारी र युद्ध त्रासदी भोगेको थियो तर त्यस्ता परिस्थितिमा पनि आम जनमानसको मनोवल उचाल्ने र त्रासदीपूर्ण घटनाको शव्द कालिगढ़ी द्वारा अभिलेखीकरण गर्ने एउटा औजार शशक्त रुपमा उभिन्थ्यो ,जुन औजार थियो कलम अनि त्यो कलम समाउने हातले संसार बदल्ने सामर्थ्य राख्दथ्यो। तर विडम्बना त्यो कलम समाउने औला किबोर्ड र स्क्रिनमा कुददा कुददा थकित बनेको प्रतित हुन्छ।
अन्याय विरुद्ध आगो ओकल्ने त्यो कलम र त्यसका सारथी कविहरु अहिले दृश्य बाट ओझेल छन अनि विषमतातामा त्यो कलमले निभाउनु पर्ने भूमिका बाट विस्तारै विस्तारै च्युत भैरहेका छन। एउटा कविताले युद्ध रोकेको इतिहास पढेका तिनै कविहरु अहिले प्रविधिको कैदी बने झैँ लागिरहेछ ।
मृत्युको डरले कविको कलम रोकियो भनौ भने अहिले सम्म सबैभन्दा धेरै मृत्युको ब्याख्यामा शव्द खर्च गर्नेमा कविका सामु कोहि पनि उभिन सक्दैन होला।अनि त्रासदीको निरासामा आशाको त्राण भर्ने कर्मका वारेमा धेरै ग्रन्थ नै लेखीइसकेका छन।
तर वर्तमानमा भने त्यो गौरव माथि नै चुनौती दिईरहेछन कविहरु, अनि आत्मसमर्पण गरेको सिपाहीले हतियार बिसाए झैँ कलम विसाइरहेछन।
केवल छापिएका कविता हुने र छापिने मात्रै कवि हुन भन्ने “कस्मेटिक” मानसिकता बाट ग्रस्त भएर ऐतिहासिक जिम्मेवारी बाट कलमलाई किन बन्द गरिरहेका छन कविहरु ? सायद यो प्रश्न यत्रतत्र गुन्जिरहेछ। तर यो गुन्जन डा. देवी नेपाल र अर्जुन पराजुली बाहेको कानमा पुगेको छैन वा पुगेर त्यसको ध्वनि तरंगले छुन सकेको छैन ? यसको उत्तर समयले माग्ने नै छ।
अहिले संसार हत्केला बाट मनोविज्ञान परिवर्तन गर्न सकिने अवस्थामा पनि विरक्त कथाका पोका बाधेर प्रकोप पछी व्यवसायिक खेति गर्ने “कर्पोरेट” मनोभाव कतै प्रकट त् भैरहेको छैन ? सायद यो प्रश्नको उत्तर पनि समयले नै दिनेछ।
कतै निस्फिक्री ,निडर र मानवतामुखी विचार बोक्ने कलम कुनै प्रकासकको बन्दकीमा परेर टुहुरो त् बनेको छैन ? यसको पनि उत्तर सायद समयले नै दिनेछ।
अनि कोरोना कहरले कुँजिएको कविहरुको कलम बौरिएर स्वर्णिम इतिहासको लहरमा अभिएला त् ? यसको पनि उत्तर अवस्य समयले नै दिनेछ।