सरकार, पार्टी बदनाम छ : विचार (विश्वमणि सुवेदी)
कपन अनलाइन
काठमाडौं ,चैत २७ /विश्वमणि सुवेदी
समय निर्दयी छ । यसकारण न चाहेको ठाउँ जान सकिन्छ, न भन्न मन लागेको कुरा भन्न सजिलो छ । भनिहालिएछ भने पनि ‘यस्तो बेलामा त्यस्तो कुरा गर्ने ?’ भनेर खप्की खानुपर्ने ।
कोभिड– १९ (कोरोना भाइरस) को विश्वव्यापी संक्रमणपछि नेपाल वा निश्चित मुलुकमात्र हैन, सिंगो विश्व समुदाय बन्दाबन्दीमा छ । यो समयको संवेदनशीलता, यस्तो बेला अपनाउनुपर्ने सतर्कता अरु कुनै मुलुकका लागि भन्दा नेपालका निम्ति बढी जरुरी छ । विश्वका शक्तिराष्ट्रहरुले पनि हार खाएर हात उठाएको भाइरसको महामारी धन्न हामीकहाँ समुदायसम्म पुग्न पाएको छैन ।
पुगिहालेछ भने हामी सकिनुभन्दा अर्को बाटो शायद होला । त्यसैले यस्तो बेलाको संवेदनशीलता, सजगताका कुरा जसरी उठेका छन्, त्यसको स्वपालना अनिवार्य शर्त हो । तर, देश, काल र परिस्थितिबारे भन्नै नपाइने कुरा यस्तो बेलामा हुँदैन । त्यसैले खनिए पनि ‘अरिंगाल’ हरुलाई स्वागत गर्दै पंक्तिलाई अगाडि बढाऔँ ।
ऋण, सापटी खाएर नियत खराब भएकाहरुका लागि अहिलेको समय सबभन्दा स्वर्गीय हो । किनभने, ऋण दिने र लिने दुबैलाई उही पिर छ, कोरोनाको । तर, खाएको तिर्नैपर्छ । लिनेका लागि यो समय मुतको न्यानोमात्रै हो ।
अर्को प्रबृत्ति छ, राष्ट्रिय राजनीतिमा ।
यतिबेला प्रधानमन्त्रीका बारेमा केही टिप्पणी गरिएछ भने ‘विरामी प्रधानमन्त्रीलाई…’ भन्ने अरिंगालहरुबाट एउटा खतरा छ भने सरकारका काम–कारवाहीबारे बोलिएछ भने ‘यस्तो बेलामा…’ भन्नेहरुको जमातले लखेट्ने निश्चित छ । वास्तविकता के हो भने, न प्रधानमन्त्रीको सक्रियता, न सरकारबारे जनमानसमा स्थापित धारणा– दुबै ठीक छैनन् ।
स्वाभाविक हो, मिर्गौला प्रत्यारोपण गरेर फर्किएको विरामीका लागि आवश्यक पर्ने आरामको समय प्रधानमन्त्री अझै पुगेको छैन । उहाँ घोषित रुपमै प्यासिभ हुनुहुन्छ । त्यसैले उहाँ यसमा चाहिने जति सक्रिय हुनुभएन भनिरहनुपर्ने स्थिति होइन । बरु, आफ्नो स्वास्थ्य प्रतिकूलताका बाबजुद पनि देशवासीलाई उहाँले दुईपटक सम्बोधन गर्नुभयो ।
सार्कस्तरीय टेलिकन्फरेन्समा आफैँ सहभागी हुनुभयो । परिस्थितिको गाम्भीर्यतालाई हेर्दा उहाँले जति गर्नुभयो, त्यो पनि धेरै भइसकेको छ । त्यसैले प्रधानमन्त्रीलाई आराम गर्न दिऔँ, गाली नगरौँ ।
तर, प्रधानमन्त्री विरामी हुनुहुन्छ, आराममा हुनुहुन्छ भन्ने नाममा ओम्नी ग्रुपलाई राज्यकोष लुटाउने छूट कोहीसँग छैन । एउटा सुलभ अग्रवाल नामको कालोबजारिया समातेर कमाइएको ‘वाह–वाही’ लाई सिंहदरबारभित्रैबाट कालोबजारी चलाउने लाइसेन्सको रुपमा लिइएको छ ।
नत्र, प्रबन्धपत्रमा स्वास्थ्य उपकरण किन्ने विषयसँग सरोकार नै नराख्ने कम्पनीलाई किन चीनबाट स्वास्थ्य उपकरण किन्ने इजाजत दिइन्छ ? त्यो पनि नाटकीय शैलीमा ? यसमा आमसरोकार आकृष्ट भएपछि टेण्डर रद्द र धरौटी जफत गरियो भनेर सिंहदरबारले घोषणा गर्छ र केही दिनमा फेरि त्यही कम्पनीलाई २० करोड भुक्तानी दिइएको सूचना त्यहीँबाट बाहिरिन्छ ।
यो भनेको प्रधानमन्त्री विरामी भएको बहानामा नायवी चलाएर राज्यकोषमाथि लूट मच्चाइएको हो । यसलाई अथ्र्याउने अर्को भाषा र अर्को शैली छैन, नखोजौँ पनि । त्यस विषयका आलोचकलाई सिंहदरबारबाटै दुत्कारिन्छ । ‘यस्तो बेलामा त्यस्तो कुरा गर्ने ?’ भनिन्छ । तर, यस्तै बेलामा त्यस्तो काम गर्न पाइने छूटचाहिँ कहाँबाट मिल्यो ? प्रश्न अरु पनि होलान् ।
नेकपाका सचिवालय नेताहरुको तीन साता लामो दबाबपछि मंगलबार सचिवालय बैठक बस्यो । तर, जे–जे विषयमा छलफल गर्न बैठक बसौँ भन्ने नेताहरुको चाहना थियो, ती–ती विषयका काम पहिल्यै सिध्याएर साँझमा बैठक बोलाइयो ।
विहान प्रधानमन्त्रीले सम्बोधन गर्नुभयो । विरामी अवस्थामा त्यति गर्नु पनि ठूलै कुरा हो । तर, विषय के थियो ? स्वास्थ्य मन्त्रालयका प्रवक्ताले भन्दा पुग्ने कुरामा किन प्रधानमन्त्रीलाई दुःख दिइयो ? उहाँका सचिवालय चलाउनेहरुलाई जनता यस्तो सोध्दैछन् । नागरिक सर्वोच्चता स्थापित मुलुक, त्यही सर्वोच्चताको जगमा जननिर्वाचित सरकारले एकाध ठेकेदार खराब भए भन्ने नाममा सेनालाई सबै कामको जिम्मा किन दिइयो ? जनताले सोध्न चाहेको अर्को प्रश्न यो पनि हो ।
सेनाले काम गरेपछि अख्तियार लाग्दैन, भ्रष्टाचार लुक्छ भनेर केही वुद्धिजीवीले गरेको टिप्पणी पत्याउने कि यसबारे प्रधानमन्त्री र सत्तारुढ दलले जनतालाई प्रष्ट पार्ने ? केही मन्त्रीका मुख र कार्यशैली दुबै अहिले बिग्रिएका छन् । ‘यस्तो बेलामा त्यस्तो कुरा’ नभनौँ, जनताको बीचमा नेकपा यिनै कुराले बद्नाम भइसक्यो । कांग्रेसले गरेर, राप्रपा, राजपा र समाजवादी पार्टीहरुले कुरा गरेर नेकपा बद्नाम भइरहेको छैन । त्यो ल्याकत ती दलले राख्दैनन् पनि ।
तर, मन्त्री खाएका पार्टीकै नेताबाट पार्टी बद्नाम छ । ओम्नी प्रकरणमा बद्नाम छ, सेना प्रकरणमा बद्नाम छ, विमान अवतरणमा प्रतिबन्ध लगाएपछि पनि कोरोना छिराउने गरी कतार र एयर अरेविया अवतरण गर्न दिइएको कुरामा बद्नाम छ, मन्त्री एउटा हुन्छ, मन्त्रालयचाहिँ प्रधानमन्त्रीले पनि होइन, उहाँको कुनै सल्लाहकारले चलाउँछ भन्ने कुराले पार्टी जनताको बीचमा बद्नाम भइसक्यो ।
पत्रकारहरुसँग सहज र सघन सम्बन्ध बनाउनुपर्नेले उनीहरुसँगै पाखुरा सुर्किने शैलीमा, कुस्ताकुस्ती नै खेलौँ भन्ने तरिकाले बोल्दा, लेख्दा पार्टी बद्नाम छ । मंगलबार बोलाइएको बैठक शायद यिनै विषयका लागि थियो ।
नेताहरुले सुनाएअनुासर, दुई घण्टासम्म प्रधानमन्त्रीले बोल्नुभयो, एक घण्टा रक्षामन्त्रीले ब्रिफिङ गर्नुभयो । अनि, बैठक सकियो । अनि, प्रधानमन्त्रीले भन्नुभयो रे, ‘ओम्नीको खरिद प्रकरणबारे मलाई केही थाहै थिएन ।’
अचम्म के छ भने, प्रधानमन्त्रीले थाहै नपाई किन कामहरु हुँदैछन् ? किन करोडका करोड भुक्तानी प्रधानमन्त्रीले पनि थाहा नपाई भइरहेका छन् ? किन पार्टीको बैठक टार्दै र सार्दै भटाभट कामहरु गरिएका छन् ? किन सरकारका कामबाट पार्टी बद्नाम हुँदा पनि कानमा बतास लाग्दैन ?
यी प्रश्नका जवाफ जनताले मागेका छन् । सचिवालयमा टीकाटालो धसेर बसेका टीकेहरुबाट हैन, नेकपाको बैठक बसेपछि पार्टीका प्रवक्ताको मुखबाट ती जवाफ सुन्न जनता आतुर छन् ।
जनतालाई नेकपा मासिएको, नासिएको हेर्न पटक्कै मन छैन । जनतालाई कांग्रेस र अरु पार्टी अहिले पनि वाक्कदिक्क भइरहेकै छ । आफ्नो मतले दुई तिहाई दिलाएको सरकार बद्नाम होस् भन्ने जनताको चाहना पनि होइन ।
तर, ती जनताले समयमा यस्ता कुरा बुझ्न पाएनन् भने जनतासँगको दूरी झन्–झन् बढ्दै जान्छ । त्यसपछि पश्चिम बंगालमा एकछत्र शासन चलाएको कुरा जसरी आज एकादेशको कथाजस्तो भएको छ नि, त्यस्तो दिन यता नफिर्ला भन्न सकिँदैन ।