कोरोना संक्रमणको सम्भावना र हाम्रो दायित्व

कोरोना संक्रमणको सम्भावना र हाम्रो दायित्व

कपन अनलाइन

काठमाडौं ,चैत ४ /पुरुषोत्तम नेपाल 

कोरोना भाइरसको वास्तविक तथ्य जे जस्तो भएतापनि नेपालमा मनोवैज्ञानिक त्रास बढी देखा परिरहेको छ । गर्मीमा यो भाइरसको अस्तित्व धेरै समयसम्म रहन नसक्ने बताइरहेको समयमा नेपालमा यसको संक्रमण कस्तो रुपमा देखा पर्ला वा पर्दै नपर्ला भन्न सकिने अवस्था छैन । तर पनि पूर्व तयारी अवस्थामा रहनु तीनै तहका सरकार र नागरिकको दायित्व हो ।

त्यही दायित्वलाई कसरी वहन गर्न सकिएला ? सबैले विचार गर्नु आवश्यक भैसकेको छ । लेखकको विचारमा लागेको कुरा यहाँ राखिएको छ ।
१) विद्यालयहरुका नियमित परीक्षाहरु सकिएका छन् । छात्रावास भएका विद्यालयहरुले अबका २ साता छात्रावासको विद्यार्थीहरुलाई क्वारेन्टाइनमा राखेर पठाउँदा अभिभावकहरु ढुक्क हुन सक्छन् । विद्यालयको दायित्व पनि यो नै हो ।
२) छात्रावासका विद्यार्थीहरु घर गईसकेपछि छात्रावासलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्न सरकारलाई दिऔं । विदेशमा त्रासका कारण फर्किएका नागरिक सिधै त्यहाँ क्वारेन्टाइनमा बस्न सक्छन् ।

बरु निश्चित शुल्क लिन सकिन्छ । स्थानीय सरकारहरुले त्यस्ता विद्यालयहरुका आकस्मिक स्वास्थ्य सेवा, खानेकुरा आदिको अभाव हुन नदिने अवस्था मिलाउन् ।
३) एसइइ केन्द्र नभएका विद्यालयहरुले आफ्ना विद्यालय भवन क्वारेन्टाइनमा प्रयोग गर्न सरकारलाई दिऔं । व्यवस्था माथिकै जस्तो गर्न सकिन्छ ।
४) होटलहरुको अकुपेन्सी घटेको समाचारहरु आइरहेका छन् । होटलका खाली कोठाहरुलाई पनि क्वारेन्टाइनको रुपमा प्रयोग गर्न दिऔं । विदेशमा आपूmले खर्च गर्न सक्ने गरी हैसियत बनाएका नागरिकले चाहेमा आएर क्वारेन्टाइनको रुपमा रहेको होटलहरुमा सशुल्क बस्न सक्ने व्यवस्था मिलाऔं । स्वास्थ्य सेवा सरकारले उपलब्ध गराओस् ।
५) सबैतिर लकडाउन भएको अवस्थामा लकडाउन खुल्नेबित्तिकै वित्तीय संस्थामा गएर रकम झिक्न लाम नलागौं । हिजोसम्म विश्वास गरेको संस्थालाई फेरि केही दिन विश्वास गरौं । जसरी हामी अफ्ट्यारो  थियौं लकडाउनले कारोबार ठप्प भएर संस्थाहरु पनि असहज अवस्थामा हुन सक्छन् भन्ने सोचौं ।
६) सबै प्रकारका सेवा प्रदायक संघ संस्थाले कार्यालयमा हात धुने व्यवस्था, स्यानिटाइजरको व्यवस्था गरौं । आवश्यक नपरी कुनै भिडभाड हुने ठाउँमा नजाऔं ।
७) निर्माणाधीन वा मर्मत सम्भार भइरहेको घरहरु खाली छन् भने केही समय भाडामा नदिऔं । आकस्मिकताको लागि राखौं । बरु त्यस्ता घरहरु क्वारेन्टाइनकै लागि प्रयोग गरिएमा घरधनीलाई केही सुविधा दिने प्रस्ताव सरकारले ल्याओस् ।
८) अनावश्यक, तथ्यहीन समाचारहरु प्रकाशन र प्रसारण नगरौं । सामाजिक सञ्जालमा शेयर नगरौं । बनको बाघले नखाँदै मनको बाघले खाने अवस्था सिर्जना नगरौं ।

असहज अवस्थामा आफु नि सचेत र सजग रहौं अरुलाई सचेत र सजग बनाऔं ।

(लेखक बुढानिलकण्ठ नगरपालिका लेखा समिति संयोजक हुन् )

तपाइँको प्रतिक्रिया ।