इन्धनको अभावमा कपन प्रहरीको सेवा प्रभावित, गाविसको बजेट मुकदर्शक
कपन अनलाइन ०७० माघ ३ शुक्रवार
कपन गाविस कार्यालयले आफ्नो जनताको सुरक्षासम्बन्धि चासोलाई सबैभन्दा कम मूल्यांकन गरेको पाइएको छ । करिब ५५ हजार जनसंख्या भएको कपन गाविसमा असइको दरबन्दिमा रहेको कपन प्रहरी प्रभागको सुरक्षा संयन्त्र अपुग तथा अभावमा गुज्रिरहेको अवस्थामा यस क्षेत्रलाई प्रगति गर्नेतर्फ कुनै विशेष पहल कपन गाविस कार्यालयले गरेको छैन । राजधानीको असुरक्षित बस्ति मनिने कपनको वडा नं. ३ र १ को घना बस्तिलाई गाविसले वास्ता नगर्दा यस क्षेत्रको सुरक्षाको वातावरण कमजोर मानिन्छ ।
असइका दरबन्दिमा इन्सपेक्टर काजमा आए पनि ५५ हजार हाराहारीको जनतालाई सुरक्षा दिन जम्मा १४ जना प्रहरी कपन प्रभाग रहेका छन् । यही थोरै संख्यामा रहेको प्रहरीको गस्तिलाई उपयोगी बनाउन प्रयोग गरिने गस्ति भ्यानमा इन्धन हाल्ने पैसा पनि प्रभागसँग छैन । कहिलो को सँग कहिले को सँग हात पसारेर मागेर डिजेल हाल्दै गाडि चलाइरहेको कपन प्रभागको सुरक्षाको पाटो यही हात पसारेर डिजेल माग्ने परिपाटीका कारण कमजोर बनिरहेको देखिन्छ । यस अघि कहिलेकाहिँ कपन गाविसले गाडिमा इन्धन हाल्न २–५ हजार रकम दिएको देखिए पनि नयाँ निरीक्षक रविन्द्र भट्ट आएको ६ महिना वित्दा पनि कपन गाविसले एक पैसा दिएको छैन । हालै कपन गाविसले २ करोडको बजेट पारित गर्दा सुरक्षाको क्षेत्रमा १ पैसा पनि छुट्याएन । कपनको इतिहासमै विवादित बजेट व्यवस्था गरेको कपन गाविसले सुरक्षाको क्षेत्रमा गरेको यस किसिमको हेलचेक्र्याँइले कपनवासी क्षुब्ध भएका छन् । गाविसमा भएका राजनीतिक दलका संयन्त्र पनि गाविसको सुरक्षाजस्ता अति संवेदनशील क्षेत्रमा यसरी मुकदर्शक हुनुले उनीहरुको क्षमतामा पनि प्रश्न चिन्ह उठ्न थालेको छ ।