कपनमा धेरै ठगहरु लुकेर बसेका छन्
कपन अनलाइन०७० माघ ११ गते
सानो क्षेत्रमा धेरै जनसंख्याको भीड भएका कारण बेलाबखत बिभिन्न खाले गलत तत्वहरुको चलखेल हुने भनेर हल्ला चल्ने कपन गाविसको नयाँ बस्तिमा धेरै चिनिएका ठगहरु लुकेर बसेको बताइन्छ । कपन प्रहरी प्रभागका प्रमुख रविन्द्र भट्ट पनि कपनमा धेरै लुकेर बसेको स्वीकार्छन् । कपनमा पछिल्लो समय शान्ति सुरक्षा ठीकठाक अवस्थामा रहे पनि लेनदेनको रुपमा विकसित हुने ठगीका प्रकरण भने धेरै छ, भट्टले भने । साना उमेरकादेखि प्रौढ महिला ठगहरु उपत्यकामा व्यापकरुपमा सक्रिय रहेको समाचार आइरहेको बेला कपन प्रभागले पनि आफ्नो क्षेत्रमा ठगहरु प्रमुख समस्याको रुपमा विकास भएको जनाएको हो । १४ जना प्रहरीबाट शान्ति सुरक्षा दिइनु पर्ने कपन क्षेत्रमा ५५ हजार संख्यामा मानिसहरु स्थायी तथा अस्थायी रुपमा बसोबास गर्दछन् ।
कपनको वडा नं. ३ र १ को तल्लो भेकमा अनियन्त्रितरुपमा बढेको बस्तिमा समस्या रहेको प्रहरीको ठम्याई रहेको छ । कोठामा बस्ने मानिसहरुका बारेमा घरपेटीले कुनै सोधखोज गर्ने तथा प्रमाण लिने नगर्दा कस्ता मानिसहरु कपनमा चलखेल गरिरहेको कुरा थाहा हुन नसक्दा समस्या देखिएको कपन प्रहरी प्रमुख रविन्द्र भट्टले भने । असइको दरबन्दिमा रहेको कपन प्रभागमा इन्स्पेक्टर काजमा खटिए पनि प्रहरी जनशक्ति भने निकै कम छ । कपन प्रहरी प्रभागसँग सुबिधाको नाममा लामो समयसम्म गाडिसम्म थिएन । भर्खरै एउटा भ्यान कपन प्रभागको लागि प्राप्त भए पनि त्यो भ्यानलाई इन्धनको अभाव रहेको बेला सुरक्षाका धेरै काम गर्न कपन प्रभागलाई असहज भैरहेको प्रभाग प्रमुख भट्टले बताए । तथापि सकेसम्म राम्रो सुरक्षाको व्यवस्थाका लागि कपन प्रभाग व्यस्त रहेको बताउँदै भट्टले शान्ति सुरक्षाको अवस्था केही महिना यता सुदृढ बन्दै गैरहेको बताए । नयाँ बस्ति भएकाले बेलबेलामा नयाँ र फरक ढंगको समस्या आउने बताउँदै कपन प्रभागमा इन्स्पेक्टरको दरबन्दि ल्याउन सके करिब ४० को हाराहारीमा प्रहरी जनशक्ति आउने भएकोले त्यसतिर सबैको ध्यान आकृष्ट हुने पर्ने पनि इन्स्पेक्टर भट्टले कपन अनलाइनसँगको छोटो भेटमा बताए ।