महिलाको लाखौँ रुपैंयाको बजेट परिणाममूलक बन्न सकेको छैन

कपन अनलाइन०७० पौष ३०

सागर बैजु र अशोक पाण्डेको सहयोगमा केशव पाठकको रिपोर्ट…………………………………………………………………
कपन गाविसअन्तर्गत वडा नं. १ का करिब २० जना महिला यतिखेर व्युटिसियन तालिमका लिनका लागि तरखरमा छन् । पोहोर साल कपन गाविसबाट लक्षित वर्गअन्तर्गत महिला शीर्षकमा छुट्याएको पैसालाई उपयोग गर्ने भन्दै महिलाहरु व्युटिसियन तालिमका लागि तयार भएका हुन् । व्युटिसियन तालिमको बेसिक लेबलको तालिमका लागि २० जनाको संख्यालाई करिब १ लाख खर्च हुन्छ । यो २ महिने तालिम हो । यो तालिम प्राप्त गरिसकेपछि यी महिलाले व्युटिसियन सम्बन्धि सामान्य जानकारी र केही सामान्य कामहरु गर्न सक्ने बन्न सक्छन् तर यो तालिमबाट उनीहरुले पेशामा रुपान्तरित हुन अझै धेरै पैसा तथा समयको खर्च गरेपछिमात्र सम्भव छ । त्यसैगरी अर्काे एक महिला समूह यतिखेर ड्राइभिङ तालिमका लागि तयारी गरिरहेका छन् । कपन गाविसले पोहोर साल लक्षीत वर्गअन्तर्गत १२ लाख महिलाहरुलाई प्रदान गरेकोमा करिब ७५ प्रतिशत यस्तै बेसिक लेबलको तालिममा खर्च भएर सकिएको छ । यसरी बेसिक लेबलको तालिम लिनेमध्ये साह्रै कम संख्याले मात्र आफूले लिएको तालिमलाई व्यवहारमा उतारेको पाइन्छ ।

 

Associates-At-Work

कपन गाविसले यस वर्ष महिलालाई १५ लाखको बजेट छुट्याएको छ । जुन बजेट महिलाहरुले जसरी चाहन्छन् त्यसरी प्रयोग गर्न पाउँछन् । यस वर्ष पनि महिलाहरुले आफ्नो बजेट सिध्याउन यस्तै विभिन्न विषयहरुको बेसिक लेबलको तालिमका कार्यक्रम राखेका छन् । जसमा फोटोग्राफी तालिम, व्यूटिसियन तालिमजस्ता विषयहरु समावेश भएका छन् । कपनमा करिब ५० का हाराहारीमा रहेको नाम सुनिएका वा नसुनिएका महिला संघसंस्थाहरु छन् । यी संस्थाहरु आमरुपमा बजेटको बेलामा उत्साहित रहन्छन् भने सामाजिक गतिविधिमा कमैमात्र सक्रिय रहन्छन् ।
गाविसले कपनका हरेक वडाहरुमा रहेको महिला संस्थाहरुको संजाल बनाएर प्रत्येक वडामा छुट्टा छुट्टै बजेटको व्यवस्था गरेको छ । जसमा यो वर्षको बजेटमार्फत अधिकतम वडा नं. ३ ले ३ लाख २० हजार पाउने छ भने वडा नं. ९ लगायत केही वडाहरुले रु. १ लाखका दरले पैसा पाउनेछन् । पोहोरसाल यसरी उपलब्भ भएको बजेट मध्ये वडा नं. ७ का महिलाले बजेट सामुदायिक भवन निर्माणमा उपयोग गरे भने वडा नं. २ ले केही रकम सडकको साइड ड्रेन निर्माणमा उपयोग गर्नुको अलावा महिला सशक्तिकरणको नाममा बेसिक लेबलका तालिम कार्यक्रममै महिलाको दशौँलाख बजेट प्रयोग खर्च हुँदै आएको छ ।

महिलाको बजेटबाट सशक्तिकरणको नाममा विभिन्न शीर्षकका बेसिक लेबलका तालिम लिने क्रममा पनि संघ संस्थाहरुले आफ्ना मानिसलाई मात्र पारिरहेको आरोप पनि चर्काेरुपमा उठिरहेको छ । अलि गतिलो तालिम(ड्राइभिङ तालिम, फोटोग्राफी तालिम, व्युटिसियन तालिम आदि) संस्थाका पदाधिकारीले नै लिने अनि सानाखाले तालिमहरु(सारीमा सितारा भर्ने, कुसन बनाउने आदि)मा चाहिँ घर घरमा मानिस खोज्दै हिँड्ने परम्पराले कपनका महिला संस्थाहरु ग्रसित छन् । कपनका अधिकांश महिला संस्थाहरु राजनीतिक दलहरुका आफ्ना संस्थाको रुपमा पनि विभक्त छन् । कुन वडामा कसको नेतृत्वमा महिला सञ्जाल बनेको छ भन्ने कुरामा पनि दल विशेषको निकटताको पहिचान खोजिने गरिन्छ ।

images

गाविसमा अनुगमन समितिका सदस्य रहेका माधव चापागाइँ महिलाको बजेटले परिणाम दिन नसकेको अनुभव गर्छन् । बजेटको पूर्ण दुरुपयोग भएको भन्दै अघिल्ला साल पनि अनुगमन समितिले अनुगमन गरेको बताउँदै महिलाहरु आफै विवादमा फस्ने गरेको हुँदा अनुगमन प्रभावित भएको बताउँछन् । अनुगमन समितिले बिल भर्पाइमात्र हेर्ने निकायको रुपमा फसिरहेको अवस्थामा उनी भन्छन् परिणाम अत्यन्त कमजोर रहेको छ । कपन गाविसमा अनुगमन समिति बजेट लैजानेहरुले बोलाएमा मात्र अनुगमन गर्ने परम्परामा ग्रसित रहेको उनी बताउँछन् । लक्षित वर्गको बजेट राजनीतिक दलहरुका कार्यकर्तालाई पोस्ने काम मात्र भएको आरोप पनि उनले लगाए ।

 

कपन अनलाइनले कपनमा रहेका महिलाहरुलाई कपनमा लक्षित वर्ग अन्तर्गत महिलाई वार्षिक ठूलो बजेट आउने बारेमा थाहा समेत नरहेको पाइयो । कपन अनलाइनले पौष २९ गते साँझ कपन गाविसका ४३ जना बाटो हिँडिरहेका कपनवासी महिलालाई लक्षित वर्ग अन्तर्गतको बजेटको बारेमा सोध्दा २७ जनाले पूर्णता अनविज्ञता जाहेर गरे । यसरी सरकारले सित्तै पैसा पनि दिन्छ र ? भनेर उल्टो प्रश्न गरे हामीसँग । ४३ जनामध्ये २९ जना कपनका कुनै पनि महिला संस्थासँग आबद्ध पनि थिएनन् । ४३ जनामध्ये २१ जनाले महिला संस्थाहरु सामाजिक गतिविधिमा संलग्न छन् भन्ने समेत थाहा थिएन भने ११ जनालाई कपनमा महिला संघसंस्थाले गाविसबाट वर्षेनी पैसा पाउने कुराको जानकारी थियो । तर उनीहरुले आजसम्म कुनै तालिममा आफूलाई सहभागिताको लागि नबोलाएको आरोप लगाए । अधिकांश सहभागिले महिला संघ संस्थाका पदाधिकारीप्रति रुष्टता प्रकट गरे । हामीले कुरा गरेकामध्ये ३ जनालेमात्रै गाविसको बजेट तथा यसबाट महिलाहरुले तालिम पाएकोमा खुशी व्यक्त गरे ।

women-empowerment
कपनमा लक्षित वर्गमध्ये महिलालाई छुट्याएको रकमप्रति कपन अनलाइनले कपनमा रहेका केही महिला अगुवासँग कुराकानी गर्दा उनीहरुले मिश्रित प्रतिक्रिया दिए । उनीहरुसँग कपन अनलाइनले गाविसको बजेट जुनरुपले खर्च भैरहेको त्यो ठीक छ ? यसरी खर्च हुँदा परिणाम गतिलो आएको छ कि छैन ? भन्ने विषयमा उनीहरुसँग छोटो कुराकानी गरेका थियौँ ।

  • कपन क्याम्पसकी प्रमुख विन्दु भण्डारीले गाविसको यस्तो बजेट सीपमूलक तालिममा नै खर्च हुनु पर्ने बताउँछिन् । उनले यस्ता तालिमबाट सकारात्मक नतिजा आएको पनि दावी गरिन् । तालिम दिँदा आफ्ना मान्छेलाईभन्दा सम्भावना भएका मानिसलाई तालिम दिनु पर्ने बताउँदै गत वर्षको तालिम कार्यक्रमहरु प्रभाव पार्ने खालको देखेको बताउँछिन् । तालिम दिँदा गृहणी र कम आय भएका महिलाहरुलाई टार्गेट गरेर तालिम आयोजना गर्नु पर्ने उनको भनाइ छ ।
  • कपन गाविसको वातावरण समितिमासमेत रहेकी विद्या सुवेदी भन्छिन्, गाविसले महिला शीर्षकमा छुट्याएको बजेटले महिलाहरुमा बजेटप्रतिको अकर्षण तथा सचेतना त बढाएका्े छ तर यसले अपेक्षित परिणाम दिन सकेको छैन । गाविसले पैसा त दिन्छ तर काम के भयो वा भएन भन्ने विषयमा अनुगमन नगर्दा परिणाम अपेक्षित नभएको हो । यसरी बजेट छुट्यार महिला विकासमा गाविस अग्रसर देखिए पनि बजेटलाई अझै परिणाममूलक काममा लगाउन गाविसले पनि मार्गनिर्देशन दिनुपर्ने उनको भनाई थियो
  • भरोसा समूहकी अध्यक्ष तथा महिला अधिवक्ता रञ्जिता के.सी. पनि महिला सशक्तिकरणका लागि तालिमको विकल्प नभएको बताउँछिन् । उनी केही वर्ष यस्ता तालिम दिइए पछि महिलाहरु विस्तारै माथि उठ्ने बताउँछिन् । पोहोर साल वडा नं. ४ मा भएको तालिमबाट सरोकारवाला महिलाहरुले अहिले उद्योग नै संचालन गरेको अनुभव साट्दै कपनमा लक्षित वर्गको बजेटले महिला सशक्तिकरणमा सकारात्मक सन्देश गैरहेको बताउँछिन् ।
  • महिला रेडियो प्रस्तोता शर्मिला परियार ठूलो बजेट परिणाममूलक हुन नसकेको बताउँछिन् । सानोतिनो तालिमले केही नहुने बताउँदै केही काम गर्न सक्ने उद्योगमूलक कामतिर अगाडि बढ्नु पर्नु उनले बताइन् । रोजगारमूलक कामतिर अहिलेका तालिम अग्रसर नभएको उनको दावी थियो । धेरै महिला समूह भएको हाम्रो गाविसमा महिला समूहबीच नै झगडा रहेको अवस्थामा यस्ता तालिमका बारेमा अनुगमन पनि प्रभावकारी हुन नसकेको गुनासो गरिन् । राजनीतिकर्मीहरुले आफ्ना कार्यकर्तालाई पोस्ने कामबाट पनि यो महिलाको बजेट दुरुपयोग भएको कुरा उनले बताइन् । गतवर्ष उनले आफैले दिएको उद्घोषण तालिमले पनि केही प्रभावकारी नतिजा दिएको अनुभव उनले गर्न सकिनन् । तालिमका लागि तालिम हुन पुगेको उनी ठहर थियो । दलित महिलाहरुले आफै पेशामा संलग्न भएकाले गाविसको बजेटको बारेको जानकारी नै नभएको बताउँदै दलित महिला
  • कपनमा महिला सशक्तिकरणअन्तर्गत कानुनी शिक्षामा क्रियाशिल सुजन लोप्चन पनि यस्ता कार्यक्रमका पक्षमा देखिन्छिन् । उनका अनुसार कपनका सबै महिलालाई सहभागिता बनाइएको बताउँछिन् उनी । यस्तै कार्यक्रमहरुमा महिलाहरुलाई तालिम प्रदान नगरेसम्म महिलाले केही गर्ने आत्मबल नपाउने उनले बताइन् । राजनीतिक दलका कार्यकर्ता भएका कारण केही दुरुपयोगको सम्भावना हुन सक्ने बताइए पनि अहिलेसम्म त्यस्तो कुनै दुरुपयोगको घटना नदेखिइएको पनि लोप्चनले बताइन् ।
  • नेपाली कांग्रेसको तर्फबाट बुथ प्रतिनिधिसमेत रहेकी मञ्जु खतिवडा यसरी बजेटलाई मकै छरे झैँ छरेर केही परिणाम नआउने बताउँछिन् । आजसम्म जति पनि महिलाका नाममा बजेट आएका छन् त्यसबाट थोरै पनि सकारात्मक परिणाम आएको छैन । महिलाका नाममा आएको बजेटलाई एकमुष्ठ साना ठूला उद्यममा लगाउनु पर्ने उनको धारणा रहेको छ ।
  • कपन १ को नारी चेतना महिला समूहकी अध्यक्ष कमला थापा, नवदूर्गा मन्दिर परिसरमा गत साल सारीमा सितारा भर्ने काम गरेकोमा अधिकांसले त्यो कामलाई पेशा बनाएको दावी गर्छिन् । यस्ता तालिम कार्यक्रमले महिलाहरुलाई राम्रो गरेको उनको दावी छ । यद्यपि यो वर्षमा आएको फोटोग्राफी तथा उद्घोषण तालिमले उपलब्धि हासिल नहोला कि भन्ने लाग्छ कमला थापालाई । कमला थापा महिलासँग सम्बन्धित विषयसँग मिल्दो कुनै तालिम आए राम्रो हुने उनले बताइन् । फोटोग्राफी तथा उद्घोषण तालिम केही सिमित संस्थाका केही व्यक्तिहरुको चासोले आएको कार्यक्रम हो यसले केही उपलब्धि हुँदैन ।
तपाइँको प्रतिक्रिया ।