गोङ्गबु आवास क्षेत्रमा पानी पुनभरण प्रणाली शुभारम्भ

गोङ्गबु आवास क्षेत्रमा पानी पुनभरण प्रणाली शुभारम्भ

कपन अनलाइन 

काठमाडौं, फागुन ७  । काठमाडौं महानगरको वडा २६ स्थित आवास क्षेत्रको गोङ्गवु डबलीमा पानी पुनभरण प्रणाली शुभारम्भ गरिएको छ । गोङ्गबु आवास क्षेत्र सुधार समितिको स्थानीय सहयोग र एकीकृत सहरी बिकास केन्द्रको प्राबिधिक सहयोगमा स्थापना गरिएको प्रणाली मंगलबार  महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले शुभारम्भ गरेका हुन्  । यस प्रणालीमा डबली भएको १ रोपनी जग्गा (क्याचमेन्ट)मा जम्मा भएको पानी जमिनमुनि पठाउने व्यवस्था मिलाइएको छ । जग्गामा टहरा र खाली ठाउँ छ । टहरामा आकाशे पानी संकलन बिधि जडान गरिएको छ ।

प्रणालीको शुभारम्भ गर्दै मेयर शाक्यले  ‘रिचार्जकाठमाडौं’ को नमूना योजना शुरु भएको बताए  । यो हाम्रा लागि सिकाइ पनि हो । यसबाट प्राप्त भएको परिणाम मुल्याङ्कन गरेर हामी महानगरका सबै वडा र सार्वजनिक तथा खुल्ला जग्गामा पानी पुनभरण प्रणाली जडान गर्छौ । उनले  ‘महानगरले अघि बढाएको यो कार्यक्रमबाट प्राकृतिक सन्तुलन कायम गराउन, वातावरणीय सुधारमा उपलब्धी हुने अपेक्षा गरिएको छ ।’ पानीको समस्यासँग जुधिरहेका सहरबासीले यसको परिणाम महसुस गर्न सक्नुहुनेछ, मेयर शाक्यको भनाइ थियो ।

उक्त कार्यक्रममा   बोल्दै उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले  परम्परागत रुपमा बनाइने इनार र ढुङ्गेधारा जोगाउन नसक्दा काठमाडौंं पानीसँग सम्बन्धित वातावरणीय र व्यवस्थापकीय समस्यामा परेको बताइन्  । त्यो समस्याबाट सहरबासीलाई राहत दिन रिचार्ज काठमाडौं थालिएको हो, उपप्रमुख खड्गी श्रेष्ठको भनाइ थियो ।

‘रिचार्ज काठमाडौं’ कार्यक्रमको नमूना योजना आफ्नै वडाबाट शुभारम्भ भएकोमा खुशी व्यक्त गर्दै वडा २६ का अध्यक्ष ख्यामराज तिवारीले यसलाई वडाका अन्य ठाउँमा पनि बिस्तार गर्दै लैजाने योजना सुनाए  । गोङ्गबु आवास क्षेत्र महानगरको व्यवस्थित योजनाअन्तर्गत तयार भएको बस्ती हो । तैपनि यहाँ पानीलाई जमिनमुनि पठाउने प्रबन्ध त्यति राम्रो छैन । अरु ठाउँमा के होला? वडाध्यक्ष तिवारीले यसलाई सुधार गर्दै लैजानु पर्ने बताए  । आवास क्षेत्रमा महानगरको योजना पुगेकोमा हामी उत्साहित छौं, गोङ्गबु आवास क्षेत्र सुधार समितिका अध्यक्ष महेश्वरकुमार श्रेष्ठले  यो प्रणालीलाई दिगो बनाउन समितिले काम गर्ने बताउनुभयो ।यस क्षेत्र (क्याचमेन्ट) मा जम्मा भएको पानी क्याचफिटमा जम्मा हुन्छ । यसरी पानी जम्मा गर्न ३ वटा क्याचफिट बनाइएका छन् ।

हाँबाट पानी पुनभरण इनार (रिचार्ज वेल) मा जान्छ । डवलीको खाली ठाउँमा २ वटा पुनभरण इनार बनाइएका छन् । दुईमध्येको एउटा २४ फिट गहिरो र ४२ इन्च गोलाइको छ भने अर्को १४ फिट गहिरो र ४२ इन्च गोलाइको छ । २४ फिट गहिरो इनारको तल्लो ५ फिटमा खोलाबाट ल्याइएको १०० एमएमसम्मका गिटी राखिएको छ । त्यसभन्दा माथि ३ फिटमा त्योभन्दा मसिना गिटी, त्यसको माथिल्लो ३ फिटमा खस्रो बालुवा र त्यसभन्दा माथि जिओ टेक्स्टाइल राखिएको छ । जमिनमा जम्मा भएको पानी यही इनारबाट छानिँदै जमिनमुनि जान्छ । डबलीसँगै रहेको नर्सरीमा पनि यस्तै प्रणाली जडान गरिएको छ । यहाँ भने एउटा क्याचफिट र एउटा पुनभरण इनार निर्माण गरिएको छ । यी दुवै ठाउँमा प्रणाली जडान गर्न करीब ५ लाख रुपैयाँ लागत लागेको वातावरण व्यवस्थापन बिभागकी इञ्जिनियर निशा कोइरालाले जानकारी दिए  ।इञ्जिनियर कोइरालाकाअनुसार यस प्रणालीबाट १ बर्षमा करीब ७ लाख ६७ हजार लिटर पानी पुनभरण हुने अपेक्षा गरिएको छ ।

फोटो सौजन्य : काठमाडौं अनलाइन

तपाइँको प्रतिक्रिया ।