रिया आइडलको चौधौँ संस्करण सम्पन्न
कपन अनलाइन
काठमाडौं, पुस १४।
रिलायन्स इन्टरनेसनल एकेडेमीले हरेक वर्ष आयोजना गर्दै आएको रिया आइडल प्रतियोगिता यस वर्ष पनि भव्यताका साथ सम्पन्न भएको छ । नृत्य र गायन विधामा विगत चौध वर्षदेखि भव्य रुपमा आयोजना हुँदै आएको यस कार्यक्रमको चौधौँ श्रृङ्खलामा नृत्य तर्फ ३४ जना तथा गायन तर्फ १९ जना प्रतियोगीहरू अन्तिम प्रतिष्पर्धीका रुपमा सहभागी थिए ।
वरिष्ठ गायिका ज्ञानु राणाको प्रमुख आतिथ्य तथा विद्यालयका संस्थापक प्रिन्सिपल खेमलाल भुसालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन विद्यालयका इसिएसिसिए कोअर्डिनेटर श्रीधरप्रसाद पौडेल तथा शिक्षिका ज्यास्मिन केसीले गरेका थिए।
बिहान ११ बजे सुरु भई दिउँसो ४.३० बजे समापन भएको प्रतियोगितामा नृत्य तर्फ पूर्व प्राथमिक, प्राथमिक र माध्यमिक समूहअन्तर्गत तीन—तीन जना गरी ९ जना र गायनतर्फ प्राथमिक र माध्यमिक समूहअन्तर्गत तीन—तीन जना गरी ६ जना सहित उत्कृष्ट १५ जना विद्यार्थीहरूलाई प्रमाणपत्र र ट्रफीद्वारा पुरस्कृत गरिएको थियो । रिलायन्स इन्टरनेसनल एकेडेमीले कला, साहित्य, खेलकुद आदि गतिविधिलाई पढाइकै अभिन्न अंगका रुपमा सञ्चालन गर्दै आएको छ ।
कार्यक्रममा रिलायन्स एजुकेसन नेटवर्कका सञ्चालक तथा कलेज सहायक प्रिन्सिपल नन्दु प्रसाद कुसवाहा, रिलायन्स एजुकेसन नेटवर्कका सञ्चालक राजुकुमार सिवाकोटी, रिलायन्स को एडका सहायक प्रिन्सिपल हरि आचार्य, रिलायन्स कलेजका इसिएसिसिए कोअर्डिनेर गोविन्द ढकाल लगायतका व्यक्तिहरुले सहभागीहरुको हौसला बढाएका थिए ।
कार्यक्रमको अन्त्यमा विद्यार्थीको आन्तरिक प्रतिभाको प्रष्फुटन गराउन विद्यालयले यस्ता कार्यक्रमहरू आयोजना गर्नु अनुकरणीय र प्रशंसनीय भएको उल्लेख गर्दै प्रमुख अतिथि ज्ञानु राणाले विद्यार्थीहरूलाई बधाई र शुभकामना दिँदै आफ्ना चर्चित गीतहरू गाएर दर्शकहरूलाई मन्त्रमुग्ध पारेकी थिइन् ।