तीर्थ योग विज्ञान पढेपछि !

तीर्थ योग विज्ञान पढेपछि !

कपन अनलाइन

काठमाडौं ,माघ १७।गङ्गा पौडेल/पाठकिय प्रतिकृया
अहिले मेरो हातमा योगाचार्य द्वारिका प्रसाद पौडेलले लेख्नुभएको तीर्थ योग विज्ञान शिर्षकको पुस्तक छ । पुस्तक भित्र प्रवेश गर्नु भन्दा पहिला लेखकको विषयमा आफ्ना केहि अनुभूतिलाई संक्षिप्त रुपमा उल्लेख गर्न चाहन्छु ।
योगाचार्य द्वारिकाप्रसाद पौडेल हिन्दुधर्म र योग क्षेत्रमा सुपरिचित नाम हो । उहाँसँग २०६१ सालको कृष्ण अष्टमीमा वैदिक उद्बोधन संघ चावहिलमा पहिलो पटक् भेट भएको थियो । वरिष्ठ कलाकार हरिप्रसाद शर्माले आफ्ना मित्र हेम पौडेललाई सबैभन्दा पहिला वैदिक उद्वोधन संघमा परिचय गराउनु भयो । त्यसपछि वैदिक संघको कार्यक्रम असाध्य राम्रो हुन्छ तिमी पनि हिंड भनेर उहाँ अर्थात् श्रीमानले मलाई लानु भयो । द्वारिका पौडेल वैदिक उद्वोधन संघको अध्यक्ष हुनुहुदो रहेछ परिचय पछि थाहा भयो । त्यहाँ हरेक हप्ताको शनिवार नियमित सत्सङ्,भजन, प्रवचन हुने वैदिक चौतारीमा म पनि उपस्थित हुन थालें । विद्वानहरूको प्रवचन सुनेर धार्मिक ज्ञान आर्जन गर्दथें भने सुमधुर भजन सुनेर आनन्द प्राप्त गर्दथें । केही वर्ष पछि म संस्थाको कार्यसमिती सदस्यमा पनि नियुक्त भएँ । मेरो लागि त्यो ठूलो अहोभाग्य थियो ।
खासगरि वैदिकचौतारीमा हिन्दु धर्मसँग सम्वन्धित विविध विषयमा चर्चा हुने गर्दथ्यो । तापनि मेरो कविता लेखनमा रुचि भएको थाहा पाएर कविता वाचन गर्ने अवसर दिइन्थ्यो ।
तीन दशक लामो समय सम्म साहित्यबाट टाढीएकी मैले पुनः अभ्यास गर्न पाउँदा मेरो साहित्य लेखनमा पुनरजागरण भयो र फेरि साहित्यमा फर्किन सफलभएँ । त्यसको श्रेय अध्यक्ष द्वारिका प्रसाद पौैडेलाई दिन चाहन्छु साथै मनोज ढुङ्गाना,पुरुषेत्तम भण्डारी,रमेश अर्याल,बैकुण्ठ अधिकारी सहित सम्पूर्ण वैदिक परिवारमा हुदय देखि आभार व्यक्त गर्दछु ।
मैले भेट्नु भन्दा पहिला देखिनै द्वारिका प्रसाद पौडेल योगलाई कसरी जन मानसमा पु¥याई स्वश्थ र तन्दुरुस्त जीवन विताउन सकिन्छ भनेर अहोरात्र चिन्तन मनन गरिरहनु भएका योग चिन्तक हुनुहुन्थ्यो । उहाँ २०३७ सालदेखि योगाभ्यास,योग शिविर,योग प्रवचन,योग दर्शनमा संलग्न हुदै आउनु भएको पाइयो । त्यसै गरि उहाँले यसभन्दा पहिलेपनि वैदिक योग विज्ञानका दुईओटा महत्वपूर्ण पुस्तकहरु प्रकाशित गरि योग शिक्षाको श्रीबृद्धीमा महत्वपूर्ण योगदान पु¥याउनु भएको छ । काठमाडौंको धुम्बाराहीमा योग केन्द्र खोलेर निरन्तर योग प्रशिक्षण दिने र योगको प्रचारप्रसार गरि यसको महत्व जनसमक्ष पुर्याउन उलेख्य भूमिका निर्वाह गरिरहन भएको द्वारिका प्रसाद पौडेल योग अभियन्ता हुनुहुन्छ । सादा जीवन उच्च विचारका कुवेर उहाँ घमण्ड रहित विनम्र स्वभावको हुनुहुन्छ । सकारात्मक सोच राखि योगबाटै विभिन्न सारिरिक समस्याको खोजी गरी समाधान समेत गर्नुहुने योग गुरु हुनुहुन्छ ।
द्वारिका प्रसाद पौडेलले २०४७ सालमा वैदिक उद्वोधन संघको स्थापना गरि हालसम्म निरन्तर अध्यक्षको जिममेवारी वहन गर्दै आउनु भएको छ । वैदिकसंघको माध्यामबाट,हिन्दु धर्भ,संस्कृतिको जगेर्ना गरि लोक कल्याण गर्ने कार्यमा नेतृत्व गरीरहनु भएको छ । अहिलेका मानिसहरु स्वार्थमा चुर्लम्म डुबेका छन् । बोल्न सम्म पनि कोबाट के कति फाइदा लिन सकिन्छ भनेर मान्छेलाई तौलेर मात्र बोल्ने गर्दछन् । आफूले मानी आएको धर्म संस्कृतिलाई पश्चिमा धर्म,संस्कृति संग तुलना गरि यस्तो र उस्तो भन्दै टिका टिप्पणी गरि धर्मका नियम परिवतर्न गर्न उद्दत्त हुन्छन् । यस्तो अवस्थामा द्वारिका प्रसाद पौडेल आफ्नो मौलिक पनमा अडिग भै वैदिक संघमा सेवारत समुहलाई साथलिई हिन्दु धर्म संस्कृति जोगाउन उल्लेख्य भूमिका निर्वाह गर्दैआएको देखिन्छ ।
निस्वार्थ भावनायुक्त श्रृषितुल्य द्वारिका प्रसाद पौडेलको विषयमा अध्ययन गरि विस्तृत रुपमा लेख्नेहो भने ठूलै ग्रन्थ बन्न सक्दछ । उहाँबाट सिक्ने कुराहरु पनि धेरै छन् । त्यसकारण छिट्टै जीवनी प्रकाशित होस् कामना गर्दछु । म जस्तो अल्प ज्ञानी जसलाई योगको अध्ययन,प्रयोग,महत्वको ज्ञान छैन केवल पुस्तक पढेको भरमा र उहाँसगको अनुभूतिलाई सतहमै रहि थोरै मात्र लेख्न सकें त्यसका लागि क्षमा पार्थी छु ।
विषय प्रवेशः तीर्थ योग विज्ञान द्वारिका प्रसाद पौडेलले लेख्नु भएको योग सम्बन्धि तेस्रो कृति हो । नेपाल माता,मानोसरोवर,पशुपतिनाथ मन्दिर परिसरको तस्वीरले सजिएको पुस्तकको आवरण सुन्दर छ । पुस्तक भित्र विषय प्रवेश,यात्रा,तीर्थ यात्रा,तीर्थ परिचय,तीर्थ यात्रा किन गर्ने,तीर्थ यात्रा कसरी गर्ने,तीर्थको बैज्ञानिकता,तीर्थका योग्यता,तीर्थ यात्राको फल,तीर्थ योग ध्यान,सर्वोत्तम तिर्थ,सार्थक तिर्थ,शास्त्रमा तिर्थ,महा पुरुषको दृष्टिमा तिर्थ, तीर्थका प्रकार–भेद(तीर्थका प्रकार(उपभेद),तीर्थ यात्राको साइत मुहुर्त,तीर्थ सावधानी,तीर्थ आहार,तीर्थ अनुशासन,तीर्थ श्राद्ध,चरै वति चरै वेती,नेपाल देशस्य महातीर्थानी शिर्षक सहित २२ ओटा रचनाहरु समावेश गरिएका छन् । यसमा —अज्ञात,–ईशावास्योपनिषद,–महर्षि चरकका अमर वाणीहरूलाई समेत स्थान दिइएको छ ।
–महाभारत,–स्कन्द पुराण,–मनुस्मृति –श्रीमद्भागवत् गीता,–यजुर्वेद,–अथर्ववेद,–नारद पुराण,–पद्य पुराण,–पद्य पराण भूमि खण्ड,–श्रृग्वेद,–छान्दोग्योपनिष्नद्,–यजुर्वेदमा लेखिएका मानव हितकारी वाक्यहरूलाई उधृत गरि तीर्थ योग विज्ञानलाई गहन बनाइएको छ ।
–आदि शंकराचार्य,–महर्षि दुर्वासा,–भगवान वेदव्यास,–१०११ ब्रम्ह्र्षि रामस्नेहीजी महाराज(बडेबाबा),–पण्डित श्रीराम शर्मा आचार्य,–विश्व कवि रविन्द्रनाथ ठाकुर(नोवेल पुरस्कार विजेता),–आचार्य विनोदाभावे,–शिरडी साईबाबाका भनाइहरूलाई अघि सारेर कृतिमा आधिकारिक, पठनिय र रोचकता थपिएकोछ ।
अन्तमा चरै वेति चरै वेति शिर्षकका लेखलाई यहाँ जस्ताको तस्तै उतारेर तीर्थ योग विज्ञानलाई सार्थक र प्रष्ट पार्न चाहन्छु“जीवन भनेको कर्म हो,जीवन भनेको गति हो,जीवन भनेको पुरुषार्थ हो । अगाडि बढ्ने,अगाडि बढाउन मद्दत गर्ने,भ्रमण गर्ने,भ्रमण गराउन मद्दत गर्ने नरोकिकन,रोकिनुको मतलव होमृत्यु । आफू मात्रै होइन सबैेलाई लिएर अगाडि बढिरहने, अँग्रेजीमा एउटा Leave and let leave मात्र नभएर Be progresiv and help others to  progress.
तीर्थ यात्रा पनि जीवनको एक अभिन्न अङ्ग हो,कर्तव्य हो । बालक,युवा,प्रौढ,बृद्ध,सन्त,माहात्मा,सन्यासी,गृहस्थी,राजा–रङ्क,विद्वान—मुर्ख,स्त्री—पुरुष सबैले अनिवार्य तीर्थयात्रा गर्नु पर्छ भन्नेशास्त्रीय विधान छ।”
नेपालदेशस्य महा तीर्थानीःशिर्षकमा लेखिएको छ“यो विश्व ब्रम्हाण्डमा पशुपति समान कुनै पनि शिवलिङ्ग छैन, बाग्मती नदी समान कुनै पनि नदी छैन,गुह्येश्वरी पीठ समान कुनै पीठ छैन ।”
हो हामी नजिकको तिर्थ हेलाह गरि अन्यत्र तीर्थको खोजी गर्न जानेहरुको लागि यो एउटा गतिलो पाठ हो भन्ने मलाई लाग्दछ ।

पुस्तक जम्मा २४ पृष्ठको भएपनि यसभित्र धर्म–अर्थ–काम–मोक्ष जस्ता गहन दर्शनयुक्त विषयवस्तु पाईने हुनाले तीर्थ योग विज्ञान पाठकहरुका लागि अत्यन्त उपयोगी पुस्तक बन्न सफल भएकोछ ।

तपाइँको प्रतिक्रिया ।