यै हो कि राष्ट्रियता ?
कपन अनलाइन
काठमाडौं ,माघ १७। त्रिलोचन आचार्य/ कविता
यो आफ्नै घरले र आँगनरुपी मैदानले लेकले
अग्ला पर्वत टाकुरा सकलले बेँशी खुला भेकले
छायाले वन कुञ्जले कुसुमझैँ फुल्ने प्रभाती छटा
साराले, तँ यतै रमाउनु भने, यै हो कि राष्ट्रियता ?
बाटोले सजिलो यतै छ नभुली हिँड्दै गरेस् भन्दछ
माटोले पनि फल्छ साग तँ यतै खन्दै गरेस् भन्दछ
भन्छन् मुग्ध गराउदै नजिक आफैले र राम्रा लता,
मिल्छन् पे्रम यतै म ढुक्क छु यहीँ, यै हो कि राष्ट्रियता ?
सुख्खा भैकन खेतमा लहलहा बाली नझुल्दा पनि
गर्नै रङ्गिन यी बसन्त ऋतुमा जाई नफुल्दा पनि
लाग्यो रे रिन क्यै भनी युवकले बोकेर हिँड्दा भिसा
साह्रै चित्त कुडिन्छ, भन्दछु म ता, यै हो कि राष्ट्रियता ?
सुन्दा छाउपडी प्रथा मन त्यसै बन्दैछ यो घायल
झन् कोलाहल जातपाततिरको सुन्दा छ घट्दै बल
यो साझा घर होस् सधैँ अटलझैँ मान्दैछु प्यारो म ता
लेखौँ अक्षर यै भन्यो कलमले, यै हो कि राष्ट्रियता ?
देखेकै पनि छैन लिम्पियधुरा सुस्ता लिपू झन् कता ?
मेची देखि अनेक साँध र सिमा पुग्दा नपुग्दै उता
थाहा भो छ छिमेकको अति त्यता चर्कन्छ छाती यता
लाग्यो गर्नु प¥यो गएर पहरा, यै हो कि राष्ट्रियता ?
नेपाली मन हेपिए पनि कतै लाग्ने स्वयं हेपिएँ
नेपाली जन चेपिए पनि कठै, लाग्ने स्वयं चेपिएँ
जैल्यै लाग्छ बनेर स्वच्छ सबले हेरौँ सफा, रम्यता
भन्छौँ संस्कृति सभ्यता सबल होस्, यै हो कि राष्ट्रियता ?