ब्याडमिन्टनका स्टार खेलाडी प्रिन्सको विजयी सुरुवात
कपन अनलाइन
काठमाडौँ,पुस २४ । दुवई इन्टरनेसनल सिरिजका विजेता ब्याडमिन्टनका स्टार खेलाडी प्रिन्स दाहाल प्रथम प्रेसिडेन्ट कप नेपाल जुनियर ईन्टरनेशनल सिरिजमा पहिलो जित निकाल्दै विजयी सुरुवात गर्न सफल भएका छन् ।
बुधबारबाट सुरु भएको प्रतियोगितामा दाहालले भारतका आर. बिकास प्रभुलाई २१–१५, ७–२१, २१–१४ को जित निकाल्दै पुरुष एकल तर्फ सेमिफाईनल यात्रा तय गर्न सफल भए । नरेन्द्र बमले भने भारतका नितिन कुमारबाट वाक ओभर प्राप्त गरे ।
यु – १९ को मात्र प्रतिस्पर्धा रहेको प्रतियोगितामा प्रिन्सले जित निकाल्दै गर्दा अन्य नेपाली खेलाडीहरुले भने उनलाई पछ्याउन सकेनन् । पुरुष एकल तर्फ आज भएको प्रतिस्पर्धामा जे.बि. साउद भारतका खेलाडी शिभम कुमार मिश्र संग २१–१६, २१–११ ले पराजित भए । यस्तै पराजयलाई निरन्तरता दिंदै प्रियान्शु सिंह क्षेत्री श्रीलङ्काका दुमिन्दु अवेविक्रमा संग २१–१३, २१–१४ ले, पेम्बा शेर्पा श्रीलङ्काकै दिगायु कहातापितिया संग १७–२१, २१–८ र २२–२० को प्रतिस्पर्धात्मक खेलमा पराजित भए । यस्तै गोकुल जोरा भारतका अभिन बशिष्ठ संग २१–९, २१–९ को समान अन्तरले तथा अमृत चौधरी भारतका आयान रशिद संग २१–८, २१–७ को सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिए ।
दशरथ रङ्गशालास्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला एकल तर्फ पनि नेपाली खेलाडीहरुले पहिलो चरण पार गर्न सकेनन् । प्रसुना खत्री मलेसियाकी श्रन्या कबिलान संग २१–१०, २१–९ ले तथा बिष्णा बिष्ट भारतकी अनुपमा उपाध्यायसंग २१–४, २१–६ ले पराजित हुन पुगे ।
प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार बिश्वकर्माले एक कार्यक्रमविच पानसमा द्विप प्रज्वलन गरि उद्घाटन गरेका थिए । सो अवसरमा नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले मन्त्री बिश्वकर्मालाई मायाको चिनो प्रदान गरेका थिए ।
भोलीको प्रतियोगिता अपरान्ह १२ : ०० बजे बाट सुरु हुनेछ ।